अर्थ

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा पदभार ग्रहण

नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक उमेश प्रसाद थानीले शुक्रबार पदभार ग्रहण गरेका छन्। थानीलाई निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले स्वागत गरेका थिए।  

पदभार ग्रहण गर्दै थानीले उपभोक्तालाई इन्धनको सहज आपूर्ति गर्न र निगमको हितमा काम गर्ने बताए। थानीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा बिहीबारको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

कार्यकारी निर्देशक नियुक्त गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। थानी, विशेष आर्थिक क्षेत्र (सेज) कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र अवकाश प्राप्त सरकारका सहसचिव जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो। त्यसबाट थानीलाई सरकारले नियुक्त गर्ने निर्णय गरेको हो।

तत्कालीन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको कार्यकाल पूरा भएपछि सरकारले नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको हो। डेढ दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै थानी नियुक्त भएका छन्।

काँग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष रहेका थानी यसअघि विभिन्न संस्थामा काम गरेको अनुभव छ।

उनले नेपाल विद्युत् प्राधिकरणको सञ्चालकको जिम्मेवारी समेत पूरा गरेका छन्। एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी लिएका काम गरेका उनले नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार, सडक बोर्ड नेपालको सञ्चालक भएर काम गरेका थिए।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट स्नात्कोत्तर गरेका थानीले समाजशास्त्रमा समेत स्नातकोत्तर, कानुनमा स्नातक उपाधी हासिल गरेका छन्।

प्रकाशित: २७ फाल्गुन २०७८ १३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App