पुस २६ मा दुम्किबासस्थित विनयी खोलाको फलामे पुल भाँचिएपछि बनाइएको अस्थायी डाइभर्सन बारम्बार बाढीले बगाइरह्यो।
बिहीबार राती आएको बाढीले ३८ यात्रु बोकेको बस नै बगायो। यसरी यात्रा जोखिमपूर्ण हुन थालेपछि स्थानीय प्रशासनले अब यस्तो डाइभर्सन दोहोर्याएर नबनाउने निर्णय गरेको छ।

बर्खामा डाइभर्सन बगाइरहने सम्भावना बढी भएकाले डाइभर्सन नबनाउने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारी भाविश्वर पाण्डेले जानकारी दिए।
‘प्रशासनमा बसेको सरोकारवालाको टोलीले डाइभर्सन नबनाउने निर्णय गरेका छौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ‘पुल निर्माण नहुँदासम्म वैकल्पिक मार्ग प्रयोग गर्नुपर्छ।’

पुस यता आठ पटकसम्म डाइभर्सन भत्काएको छ। मालवाहक सवारी साधान बाहेक अन्य सवारी साधनलाई होङ्सीगेट–सर्दि–दुम्किबास–हुँदै दाउन्नेको सडक प्रयोग गर्न अनुरोध गरिएको उनले बताए। यस खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको उनले बताए। यद्यपि दाउन्ने खण्ड बन्द भएमा यो वैकल्पिक सडक पनि बन्द हुने उनले बताए।
विनयी खोलामा पुल निर्माण नहुँदासम्म मालवाहक सवारी साधन यस सडक खण्डमा गुड्न पाउने छैनन्। दैनिक हजारौँ सवारी साधन गुड्न देशको मुख्य राजमार्गमा पुल भाँचिएको पनि छ महिना पुग्न लाग्यो। अहिलेसम्म बन्न सकेको छैन।
नारायणगढ–बुटवल सडक खण्ड पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार पुल निर्माण हुन अझै कम्तीमा एक साता लाग्छ। ‘२२ गते पुलको ढलान भएको छ। ढलान २५–२६ दिन राख्नुपर्ने हुन्छ’, उनले भने ‘सम्भव त असार १४ गते उद्घाटन गर्ने तयारी भएको सुनिएको छ।’
ठेकेदार पक्षले समयमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भएको उनले बताए।
वर्षाका कारण नारायणगढ–बुटवल खण्डमा सवारी आवागमनमा समस्या आएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले समेत आग्रह गरेको छ।
विनयी खोलाको समस्यासँगै दाउन्नेमा सडक चिप्लो भएका कारण अहिले पनि यातायात सञ्चालन गर्न असहज छ।

जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी मधु नेपालले दाइउन्नेमा सडक चिप्लो, हिलो र डाइभर्सनले गर्दा सामान्य पानी पर्दा पनि यातायात सञ्चालन गर्न नसकिने अवस्था आएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको बताए।
‘अहिले पनि हजारौँ सवारी साधन सडकमा छन्, यात्रुहरूले दुःख पाइरहनुभएको छ,’ उनले भने ‘पानी नरोकिँदासम्म यस सडकखण्डमा यात्रा गर्ने अवस्था छैन।’
पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल र काठमाडौंबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ, पोखरा, स्याङ्जा हुँदै बुटवल, पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान र साना सवारीलाई कालिगण्डकी करिडोर सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।
दाइउन्नेमा सडक चिप्लो हुँदा अहिले पनि दाउन्ने–दुम्कीबासमा सवारीको जाम छ। बुधबार करिब १५ घण्टापछि खुलेको यातायात बिहीबार राती पानी परेयता शुक्रबार दिनभर सडक अवरुद्ध छ।
प्रकाशित: ६ असार २०८२ १९:५२ शुक्रबार



