राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले विगत १५ महिनादेखि उधारोमा विद्युत बिक्री गरिरहेको छ। आयोजनाले करिब १५ करोड रुपैयाँ बराबरको विद्युत नेपाल विद्युत प्राधिकरणलाई उधारोमा बिक्री गरेको छ।
आयोजनाका सूचना अधिकारी नविन पौडेलले १ करोड ७६ लाख ४६ हजार ५३० युनिट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा पठाएको बताए। उनका अनुसार यो विद्युतको मूल्य १४ करोड ८२ लाख ३० हजार ८५२ रुपैयाँ छ।
आयोजनाले २०८० माघ १६ गतेदेखि परीक्षण उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत जोडेको थियो। तर, विद्युत किनबेचको रकम लेनदेनको विषय टुंगो नलाग्दा उधारोमा बिक्री गर्नुपरेको छ।
पौडेलले विद्युत गृह सञ्चालनको कार्यविधि नहुँदा किनबेचको टुंगो नलागेको बताए। आयोजनाले कार्यविधिका तीन मोडल मन्त्रालयमा पेश गरेको लामो समय भएको उनले जानकारी दिए। विद्युत उत्पादनअघि नै कार्यविधिबारे मन्त्रालयमा जानकारी पठाइएको थियो। ‘कार्यविधिबारे पहल भएको दुई वर्षभन्दा बढी भयो,’ उनले भने, ‘अहिलेसम्म टुंगो लागेको छैन।’
आयोजनाले प्रस्ताव गरेको पहिलो मोडलमा प्राधिकरणलाई पूर्ण जिम्मा दिने, दोस्रोमा सिँचाइले नै ऊर्जा हेर्ने संयन्त्र बनाउने र तेस्रोमा विद्युत र सिँचाइको संयुक्त संयन्त्र बनाउने उल्लेख छ। सिँचाइ मन्त्रालयले छुट्टै कार्यविधि बनाएर अघि बढ्न सक्ने पौडेलले बताए। यो कार्यविधि मन्त्रीस्तरीय निर्णयबाट लागू हुन्छ। मन्त्रालयले कार्यान्वयनमा ध्यान नदिँदा ढिलाइ भएको स्रोतको भनाइ छ।
४.७१ मेगावाट क्षमताको विद्युत गृह निर्माणमा १ अर्ब रुपैयाँ खर्च भएको छ। यो गृहले २५ वर्षमा सिँचाइ आयोजनाको सम्पूर्ण लगानी उठाउने अनुमान छ। सिँचाइसँगै विद्युत उत्पादन गर्ने यो आयोजना देशकै नमुना बहुउद्देश्यीय परियोजना हो। आयोजनाले , विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकता दिएको छ।
प्रकाशित: १० वैशाख २०८२ १४:०० बुधबार