प्रवास

न्यूयोर्कमा ‘सिन्धु दीपावली साँझ’ तथा १५औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

सिन्धु यूएसए वेलफेयर सोसाइटीको आयोजनामा “एजुकेशन अफ लाइफ” भन्ने मूल नाराका साथ आयोजना गरिएको सिन्धु दीपावली साँझ तथा १५औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन न्यूयोर्क सिटी सभा सदस्य स्टभन रागाको प्रमुख आतिथ्यमा तथा सिन्धु समाजका अध्यक्ष पासाङ नोर्बु शेर्पाको सभापतित्वमा भएको थियो। सो समारोहमा संस्थापक अध्यक्ष बंशलाल मोक्तान विशेष अतिथि रहेका थियो।

कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष लकेश श्रेष्ठ र पासाङ डोल्मा शेर्पाले गरेका थिए। कार्यक्रममा चर्चित गायिका शशिकला मोक्तान, २१ पटकको गिनिज बुक वर्ल्ड रेकर्ड होल्डर दिनेश सुनार (पार्कर कलाकार), कोरियोग्राफर शिव बी.क. तथा चर्चित गायक गोम्बु शेर्पालगायत विभिन्न ख्यातिप्राप्त कलाकारहरूले प्रस्तुति दिएका थिए। देउसी–भैलो र सांस्कृतिक कार्यक्रमले वातावरणलाई झन् उत्साहमय बनाएको थियो।

सिन्धु दीपावली साँझमा न्यूयोर्कवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। सोही अवसरमा “एजुकेशन अफ लाइफ” अभियानलाई सार्थक बनाउन उल्लेखनीय रकम संकलन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी नेपाली समुदायले देउसी–भैलो कार्यक्रममार्फत सहयोग र हातेमालो प्रकट गरेका थिए।

विशेष क्षणमा समाजसेवी तथा अग्रणी युवा नेता श्याम कार्कीले नेपालस्थित सिन्धुपाल्चोकका एक अनाथ बालकको जिम्मेवारी लिँदै कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने घोषणा गरेका थिए। उनको यो योगदानलाई समाजले “सिन्धु दीपावली साँझ २०२५” को महत्वपूर्ण उपलब्धि मानेको छ। सिन्धु परिवारले कार्कीप्रति हार्दिक आभार र स्वागत व्यक्त गरेको छ।

कार्यक्रमका क्रममा यही अक्टोबर १५ मा सम्पन्न सिन्धु दीपावली फुटबल कपका विजेता र उपविजेतालाई ट्रफी हस्तान्तरण गरिएको थियो। यसले खेलप्रेमी युवामा थप जोश र उत्साह जगाएको छ। कार्यक्रम सफल पार्न खेलकुद संयोजक र खेलाडीहरूको पनि विशेष भूमिका रहेको आयोजक समितिले जनाएको छ।

मुख्य अतिथि स्टभन रागाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। स्थानिय निकायका प्रतिनिधि, नेपाली समुदायका विशिष्ट व्यक्तित्वहरू र न्यूयोर्कवासी नेपालीहरूको उत्साहपूर्ण सहभागितामा कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।

सिन्धु परिवारले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सबै दाताहरू, सहकर्मी, मिडिया साझेदार, कलाकार र स्वयंसेवकहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित: ६ कार्तिक २०८२ ११:५० बिहीबार