प्रवास

‘कंग्रेसले सय सिट पनि जित्दैन'

नयाँ दिल्ली, (एजेन्सी)– भारतीय काँग्रेस पार्टीले हाल जारी रहेको आमनिर्वाचनमा एक सय स्थान पनि जित्न नसक्ने धारणा भारतीय जनता पार्टीका एकजना नेताले राखेका छन्।उनले वर्तमान अवस्थमा जारी रहेको भारतीय संसदको तल्लो सभाको निर्वाचनमा हालको प्रमुख सत्तारुढ दल काँग्रेसको त्यस्तो अवस्था देखिएको बताए।
भारतीय जनता पार्टीका नेता तथा आगामी सरकारका लागि सो दलद्वारा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका नरेन्द्र मोदीले सो धारणा सार्वजनिक गर्नुभएको हो।
उहाँले एक भारतीय दैनिक पत्रिका टाइम्स अफ इन्डियालाई दिएको अन्तरवार्तामा भन्नुभएको छ– अहिलेकै अवस्थालाई विश्लेषण गरेर हेर्ने हो भने काँग्रेस एकसय स्थानभन्दा पनि तलै सिमीत हुनेछ। उहाँले सो अन्तरवार्तामा पटक पटक काँग्रेसले बढीमा एक सय स्थानमा मात्र विजय हासिल गर्नसक्नेमा जोड गर्नुभएको छ। 
साथै उहाँले काँग्रेस पार्टीभित्र नेतृत्वमा पनि विवाद उत्पन्न भएको बताउनुभएको छ। उहाँको आरोप थियो– काँग्रेसमा आगामी सरकारमा कसले नेतृत्व गर्ने भन्नेमा नै विवाद छ।
उहाँले हाल गान्धी परिवारलाई अब काँग्रेसमा नेतृत्व गर्न दिने बारेमा धेरै नै चुनौतीहरु आएका र गान्धी परिवारलाई नेतृत्व गर्न नदिने आवाज पार्टीमा बुलन्द रुपमा उठेको पनि बताउनुभयो।
उहाँले भन्नुभयो– यो गान्धी परिवार र अन्यको बीचको लडाईं हो र यो लडाईं भारतीय जनता पार्टीले पनि लडेको छ। राहुल गान्धीभन्दा अर्काे नेतृत्वको बारेमा पनि काँग्रेसमा कुराकानी भइरहेको छ तर पनि त्यो सम्भावना मैले देख्दिन– उहाँले सो अन्तरवार्तामा भन्नुभएको छ।
हाल भारतमा आमनिर्वाचन भइरहेको छ। सो निर्वाचन गत अप्रिल ७ तारिखदेखि सुरु भएको हो। यही मे १२ मा मतदान कार्यक्रम सम्पन्न हुने छ। आगामी मे १६ मा त्यहाँ निर्वाचनको अन्तिम परिणाम घोषणा गरिसकिने बताइएको छ। 
निर्वाचनका प्रारम्भिक सर्वेक्षणहरुले त्यहाँ भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले नै बहुमत हासिल गर्ने अनुमानहरु सार्वजनिक गरिरहेका छन्। तर भारतीय जनता पार्टी एक्लैले बहुमत हासिल गर्ने सम्भावना भने कम रहेको ती सर्वेक्षणहरुले देखाएका छन्। भारतीय जनता पार्टी र उसको गठबन्धनका तर्फबाट नेता नरेन्द्र मोदीलाई नै आगामी सरकारको प्रधानमन्त्रीका रुपमा अघि सारिएको छ।
निरन्तर रुपमा दुई कार्यकालसम्म सरकारको नेतृत्व गरेको भारतीय काँग्रेसले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको तथा आर्थिक बृद्धिको अवस्थालाई झन घटाएको भन्दै सो दलको आलोचना गरिएको छ।

प्रकाशित: २३ वैशाख २०७१ २१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App