प्रवास

मलेसियामा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

उदयपुर- मलेसियाको कोन्तानमा मोटरसाइकल दुर्घटनामा परी दुई नेपाली युवाको मृत्यु भएको छ। आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी भोजपुर गोगने– ६ का अन्दाजी ३३ वर्षीय डिकबहादुर निरौला र नवलपरासी सुनवलका अन्दाजी २४ वर्षीय डम्वरनाथ कुँवर योगीको मृत्यु भएको प्रदिप राईले बताए।दुर्घटनामा परेका उनीहरुका घटनास्थलमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत नेपाली कामदार परशुराम लुईँटेललाई उद्धृत गर्दै राईले बताए। होस्टलबाट सामान लिन गएका उनीहरु कोन्तानको निशान पसलअगाडि जलान पसरामा विपरीत दिशाबाट आइरहेको ट्रकलाई साइड दिन खोज्दा फलाममा ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको स्थानीय प्रहरीले जनाएको छ।
दुवैको शवलाई पोसमार्टमका लागि कोन्तान अस्पतालमा राखिएको छ। कोन्तानस्थित मेघा मलमा रहेको पेम्प्रो कम्पनीमा लामो समयदेखि कार्यरत रहेका उनीहरुको मृत्युबारे आफन्तलाई खबर गर्ने तयारी भइरहेको कम्पनीलाई उद्धृत गर्दै लुईँटेलले बताए।

प्रकाशित: ६ आश्विन २०७० ०८:०५ आइतबार