सघीय संसद्को निर्वाचन सकिएसँग यसको नतिजा सार्वजनिक भइसकेको छ। सबैभन्दा ठुलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ८२ सिट हासिल गरेर सरकार बनाउने तयारी गर्दै छ। यस्तोमा ‘शून्य रन’ को कुरा कहाँबाट आयो भन्नु होला। ‘बुझ्नेको लागि इसारा काफी छ’ भनेजस्तै यो क्रिकेट र त्यो क्षेत्रबाट आएका केही व्यक्ति जसले चुनावमा सफलता हासिल गर्न सकेनन् उनीहरूको कथा हो।
नेपालमा कुनै समय क्रिकेट सीमित मानिसले मात्र बुझ्ने खेल मानिन्थ्यो। टेलिभिजनमा अन्तर्राष्ट्रिय खेल हेर्ने थोरै समर्थक थिए। मैदानमा पुगेर खेल हेर्ने झन् कम। तर पछिल्लो दशकमा नेपाली क्रिकेटले अप्रत्याशित रूपमा उचाइ लियो। राष्ट्रिय टोलीका खेलाडीहरू घर–घरमा चिनिन थाले। उनीहरूको खेल र संघर्षका कथा सामाजिक सञ्जालमा भाइरल हुन थाले।
संसदीय चुनाव नजिकिँदै गर्दा पनि मुलुकमा क्रिकेटको चर्चा चुलिएको थियो। नेपाली टोलीले विश्वकपमा केही बलिया टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेपछि खेलाडीहरूको लोकप्रियता अझ बढेको थियो। एक समय क्रिकेटको ‘क’ नबुझ्ने नेपाली समाज पनि क्रिकेटका प्रशंसक बन्न थालेका थिए। त्यसैले चुनावी माहोल सुरु हुँदा एउटा नयाँ चर्चा सुरु भयो ‘क्रिकेटसँग जोडिएका व्यक्तिहरू राजनीति र संसदसम्म पुग्न सक्छन् कि सक्दैनन्?'
तर अन्ततः क्रिकेट मैदानमा रन बनाउन अभ्यस्त ती व्यक्तिहरूका लागि संसद्को मैदान भने सजिलो सावित भएन। चुनावी नतिजा आउँदा क्रिकेटसँग जोडिएका धेरै अनुहारको राजनीतिक यात्राले ‘शून्य रन’ को नतिजा दियो।
नेपालमा खेलाडीहरू समाजमा सम्मानित व्यक्तित्वका रूपमा हेरिन्छन्। उनीहरूको संघर्ष, अनुशासन र देशका लागि खेलेको गौरवले आम मानिसको मन जित्छ। यही कारणले विश्वका धेरै देशमा खेलाडीहरू राजनीतिमा प्रवेश गरेर सफल भएका उदाहरण पनि छन्।
नेपालमा पनि त्यस्तै सम्भावनाबारे चर्चा सुरु भयो। क्रिकेटले लोकप्रियता कमाएका केही व्यक्तिहरू चुनावी मैदानमा उत्रिए। ति मध्येका एक थिए चतुरबहादुर चन्द। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रहेका चन्द यस पटक नेपाली कांग्रेसको टिकटबाट बैतडीमा प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बने। क्रिकेट प्रशासनमा सक्रिय रहेको व्यक्तिले संसदीय राजनीति रोज्नु धेरैका लागि चासोको विषय बन्यो।
त्यसैगरी काठमाडौं–४ बाट क्रिकेट कमेन्टेटर सचिन तिमल्सीना चुनावी मैदानमा उत्रिए। मैदानमा रहेर क्रिकेट विश्लेषण गर्दै आएका उनी युवामाझ परिचित अनुहार थिए।
अर्को चर्चित नाम थियो नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल। राष्ट्रिय टोलीका अनुभवी खेलाडी मल्ललाई रास्वपले प्रतिनिधि सभाको समानुपातिक सूचीमा समावेश गरेको थियो। क्रिकेट मैदानमा शान्त स्वभाव र जिम्मेवार नेतृत्वका कारण परिचित मल्ल संसदमा पुग्न सक्छन् भन्ने अनुमान धेरैले गरेका थिए। रास्वपाको नेतृत्वले भोट माग्ने क्रममा क्रिकेटको विकासका लागि उनले हामीलाई सहयोग गर्नुहुन्छ भन्दै मागिएको पनि सुनिएको थियो। यसरी हेर्दा यो चुनावमा क्रिकेटसँग जोडिएका तीन फरक अनुहार संसदको ढोकासम्म पुग्ने प्रयासमा थिए।
चुनाव अगाडि नेपाली क्रिकेट उत्साहजनक चरणमा थियो। राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा केही प्रभावशाली प्रदर्शन गरेको थियो। विशेषगरी टी-२० वर्ल्डकप अन्तर्गत खेलिएका केही खेलले नेपाली समर्थकलाई उत्साहित बनाएका थिए। नेपाली टोलीले इङ्गल्याण्डको क्रिकेट टिमजस्तो बलियो टोलीसँग प्रतिस्पर्धात्मक खेल खेलेपछि धेरैले प्रशंसा गरेका थिए। मैदानमा नेपाली खेलाडीहरूको साहस र आत्मविश्वासले समर्थकलाई गर्व दिलाएको थियो।
क्रिकेटरहरू समाजमा ‘स्टार’ बन्न थालेका थिए। सामाजिक सञ्जालमा उनीहरूको लोकप्रियता उल्लेखनीय थियो। यही लोकप्रियता राजनीतिमा पनि काम लाग्न सक्छ भन्ने अनुमान गरिएको थियो।
यो आशा किन पनि गरिएको थियो भने दक्षिण एसियाका देशमा विभन्नि क्रिकेट खेलाडीले चुनाव जितेका उदाहरण थिए। पाकिस्तानी क्रिकेट खेलाडी इमरान खान त प्रधानमन्त्री समेत बनेका थिए। यस्तोमा विश्व क्रिकेटमा साख जोगाउँदै गएको नेपाली क्रिकेटले पनि केही आशा राखेको थियो।
तर खेलको मैदान र चुनावी मैदानबीचको दूरी अपेक्षाभन्दा धेरै ठूलो रहेछ। चुनाव परिणाम सार्वजनिक हुँदा क्रिकेटसँग जोडिएका धेरै उम्मेदवारका लागि परिणाम सुखद रहेन।
बैतडीबाट चुनाव लडेका चतुरबहादुर चन्द प्रत्यक्ष निर्वाचनमा पराजित भए। त्यस्तै काठमाडौं–४ बाट उम्मेदवार बनेका सचिन तिमल्सिनाले पनि मतदाताको विश्वास जित्न सकेनन्। क्रिकेट कमेन्ट्रीमार्फत दर्शकलाई खेलको रोमाञ्च सुनाउने उनी चुनावी प्रतिस्पर्धामा भने पछि परे। काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिष्पर्धामा निर्वाचन आयोगले गरेको 'कमेन्ट्री' उनका लागि सुखद् रहेन।
अर्कोतर्फ समानुपातिक सूचीमा रहेका ज्ञानेन्द्र मल्ल पनि अन्ततः संसद प्रवेश गर्न सकेनन्। पार्टीले पाएको सिटको सीमितताका कारण उनको नाम अन्तिम सूचीमा परेन। यसरी हेर्दा क्रिकेटसँग सम्बन्धित तीनै चर्चित अनुहार संसदको ढोकासम्म पुगेर फर्किन बाध्य भए।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक प्रणालीको बन्दसूचीमा नपरेपछि सदन र सडकमा सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। ‘क्रिकेटबाट मैले सिकेको कुरा मैदानभित्रको टिम ११ मा म रहुँ वा नरहुँ, तर मेरो देशले हार्नु हुँदैन,’ उनले लेखेका छन्, ’खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
पछिलो समय उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको रूपमा आबद्ध छन्। उनले निर्वाचनमा आफ्नो अमूल्य मतमार्फत देशको समृद्धिका लागि मत लगानी गर्ने सबै मतदाताहरूमा हृदयदेखि धन्यवाद दिए। उनले व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठूलो कुरा रहेको सुनाए।
विश्वकपको कथा र चुनावी परिणाम
यो अवस्थालाई धेरैले क्रिकेटकै एउटा प्रतीकात्मक कथासँग तुलना गरेका छन्। विश्वकपको सुरुमा नेपाली टोलीले बलियो प्रदर्शन गरेको थियो। विशेषगरी इङ्ग्ल्याण्डविरुद्धको खेलले नेपाली समर्थकलाई उत्साहित बनाएको थियो। तर प्रतियोगिता अगाडि बढ्दै जाँदा टोलीलाई अपेक्षित सफलता मिलेन।
कुनै कमजोर मानिएको टोलीसँग पनि अप्रत्याशित हार बेहोर्नुपर्यो। क्रिकेट मैदानको त्यो अनुभव जस्तै चुनावी मैदानमा पनि भयो। चर्चा धेरै भए, अपेक्षा पनि धेरै उठे। तर अन्तिम स्कोरकार्ड भने अपेक्षाभन्दा फरक देखियो।
क्रिकेटर वा खेलसँग सम्बन्धित व्यक्तिको लोकप्रियता चुनाव जित्न पर्याप्त हुँदैन भन्ने यो घटनाले देखाएको छ। क्रिकेट मैदानमा प्रदर्शन, लोकप्रियता र प्रशंसकको समर्थन एक कुरा हो। तर चुनावी राजनीतिमा मतदाता निर्णय गर्ने आधार फरक हुन्छ।
नेपालमा खेलकुद क्षेत्रबाट राजनीतिमा प्रवेश गर्ने प्रयास नयाँ होइन। तर क्रिकेटको लोकप्रियता बढेसँगै यो प्रयास अझ चर्चामा आएको हो। क्रिकेट खेलाडीहरूलाई समाजले सम्मान गर्छ। उनीहरूले राष्ट्रका लागि खेलेको भावना जनताले सम्झिन्छन्। तर राजनीतिमा प्रवेश गर्दा उनीहरूले फरक चुनौती सामना गर्नुपर्छ। राजनीति भनेको केवल लोकप्रियता मात्र होइन, दीर्घकालीन संगठन, जनसम्पर्क र रणनीतिक प्रतिस्पर्धाको मैदान हो।
‘शून्य रन’ को अर्थ
क्रिकेट भाषामा ‘शून्य रन’ भनेको ब्याट्सम्यानले रन नबनाई आउट हुनु हो। यो चुनावमा क्रिकेटसँग सम्बन्धित धेरै व्यक्तिको राजनीतिक यात्रालाई त्यसैसँग तुलना गर्न सकिन्छ। तर यसको अर्थ उनीहरूको प्रयास असफल मात्र हो भन्ने होइन। कहिलेकाहीँ खेलाडीले पहिलो इनिङमा रन नबनाए पनि दोस्रो इनिङमा उत्कृष्ट प्रदर्शन गर्छ।
राजनीतिमा पनि सम्भावना खुलै रहन्छ। क्रिकेट मैदानमा हार र जित दुवै खेलको हिस्सा हुन्। राजनीतिमा पनि त्यस्तै हो।
प्रकाशित: ३ चैत्र २०८२ ०८:४५ मंगलबार



