सामाजिक अध्ययन भनेको समाजलाई केवल पढ्ने विषय होइन, समाजलाई बुझ्ने, बदलिँदो यथार्थलाई विश्लेषण गर्ने र जिम्मेवार नागरिक बन्न सिकाउने विषय हो। समाजशास्त्र, राजनीतिशास्त्र, इतिहास, भूगोल, अर्थतन्त्र, संस्कृति, वातावरण तथा नागरिक जीवनका विविध पक्षलाई एकीकृत रूपमा समेट्ने भएकाले यसको दायरा निकै फराकिलो छ।
विद्यार्थीलाई समाजका घटना र परिवर्तनलाई तथ्यका आधारमा बुझ्न, लोकतान्त्रिक मूल्य–मान्यता आत्मसात् गर्न तथा जिम्मेवार, सक्षम र उत्तरदायी नागरिकका रूपमा विकास गर्नु सामाजिक अध्ययनको मूल उद्देश्य हो। यसले व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वबीचको अन्तरसम्बन्ध बुझाउँदै राष्ट्रिय तथा विश्व नागरिकताको भावना, आलोचनात्मक सोच, निर्णय क्षमता, समस्या समाधान, सहकार्य, नेतृत्व र जीवनोपयोगी सीप विकास गर्न सहयोग पुर्याउँछ।
यही कारण सामाजिक अध्ययनको सबैभन्दा महत्वपूर्ण आधार तथ्य र यथार्थ हुनुपर्छ। यस विषयमा प्रयोग हुने तथ्याङ्क, नक्सा, उदाहरण र सन्दर्भ समयअनुकूल र विश्वसनीय हुनैपर्छ। समाज बदलिइरहेको छ भने समाजबारे पढाउने सामग्री पनि बदलिनुपर्छ। अन्यथा वर्तमानलाई बुझाउनुपर्ने विषय आफैँ विगतमा अड्किन पुग्छ। अहिले कक्षा १२ को सामाजिक अध्ययनको पाठ्यपुस्तकमा देखिएको समस्या यही हो, समाज अगाडि बढिरहेको छ, तर पाठ्यपुस्तकका कतिपय तथ्य भने त्यही गतिमा अघि बढ्न सकेका छैनन्।
समाज स्थिर छैन, पाठ्यपुस्तक किन स्थिर?
सामाजिक अध्ययनको प्रकृति अन्य कतिपय विषयभन्दा फरक छ। गणितका सूत्र, भाषाका व्याकरणिक नियम वा विज्ञानका केही आधारभूत सिद्धान्त लामो समयसम्म उस्तै रहन सक्छन्। तर समाज कहिल्यै स्थिर रहँदैन। जनसङ्ख्या बदलिन्छ, मानिसको बसोबासको ढाँचा बदलिन्छ, शहर विस्तार हुन्छन्, शिक्षा र स्वास्थ्यका सूचक फेरिन्छन्, मानिसको रोजगारी र आर्थिक गतिविधि बदलिन्छ, बसाइँसराइ बढ्छ वा घट्छ। भाषा, संस्कृति, सामाजिक संरचना र विकासका सूचकहरूमा समेत निरन्तर परिवर्तन आइरहेको हुन्छ।
त्यसैले समाजको अध्ययन गर्ने विषय पनि समयसँगै अद्यावधिक हुनुपर्छ। परिवर्तनशील समाजलाई दशकौँ पुराना तथ्यका आधारमा बुझाउन खोज्नु आफैँमा विरोधाभास हो। विद्यार्थीलाई ‘आजको नेपाल’ पढाउने हो भने उनीहरूले पढ्ने सामग्रीले पनि सकेसम्म आजकै नेपालको चित्र देखाउनुपर्छ।
कक्षा १२ को सामाजिक अध्ययनमा पुरानै जनगणनाको तथ्य
यही सन्दर्भमा कक्षा १२ को सामाजिक अध्ययन विषयको पाठ्यपुस्तक एउटा गम्भीर उदाहरणका रूपमा देखिन्छ। पाठ्यक्रम विकास केन्द्रले तयार गरेको र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट २०७८ सालमा पहिलो पटक मुद्रित तथा २०७९ र २०८२ सालमा पुनःमुद्रित उक्त पाठ्यपुस्तकमा अझै पनि राष्ट्रिय जनगणना २०६८ का तथ्याङ्क प्रयोग गरिएको छ।
समस्या यहीँबाट सुरु हुन्छ। राष्ट्रिय जनगणना २०७८ सम्पन्न भइसकेको छ र त्यसका आधिकारिक नतिजा पनि सार्वजनिक भइसकेका छन्। यसबीचमा नेपालको जनसङ्ख्या, प्रदेशगत वितरण, घरधुरीको अवस्था, शहरीकरण, भाषिक विविधता, उमेर संरचना तथा अन्य सामाजिक सूचकमा परिवर्तन आइसकेको छ। तर पाठ्यपुस्तकले भने दशकभन्दा पुरानो तथ्याङ्कलाई निरन्तरता दिएको देखिन्छ।
झन् महत्वपूर्ण कुरा के हो भने यसबीच पाठ्यपुस्तक दुईपटक पुनःमुद्रित भइसकेको छ। पुनःमुद्रणका क्रममा कम्तीमा तथ्यगत रूपमा आवश्यक परिमार्जन गर्ने अवसर थियो। तर नयाँ तथ्याङ्क उपलब्ध भइसकेपछि पनि पुरानै तथ्याङ्क दोहोरिनुले पाठ्यपुस्तक निर्माण, सम्पादन र पुनरावलोकन प्रक्रियामाथि स्वाभाविक प्रश्न उठाउँछ।
तथ्याङ्क केवल अंक होइन
कसैलाई लाग्न सक्छ, केही वर्ष पुरानो तथ्याङ्क प्रयोग हुँदैमा के ठूलो फरक पर्छ र? तर सामाजिक अध्ययनमा यस्तो तर्क सहजै स्वीकार गर्न सकिँदैन। तथ्याङ्क केवल अंक होइन; त्यो विश्लेषणको आधार हो।
विद्यार्थीले जनसङ्ख्याको वितरण, सामाजिक विविधता, विकासको अवस्था, आर्थिक संरचना, बसाइँसराइ वा सामाजिक परिवर्तनबारे निष्कर्ष निकाल्दा उनीहरूको आधार पाठ्यपुस्तकमा प्रस्तुत तथ्याङ्क नै हुन्छ। आधार पुरानो भयो भने त्यसबाट निस्कने विश्लेषण पनि स्वाभाविक रूपमा पुरानो हुन्छ।
यसको अर्थ विद्यार्थीले वर्तमान नेपालको अध्ययन गरिरहेको ठानिरहेका हुन्छन्, तर उनीहरूको हातमा रहेको तथ्यले उनीहरूलाई विगतको नेपालतर्फ फर्काइरहेको हुन्छ। यस्तो अवस्थामा सामाजिक अध्ययनले विद्यार्थीमा विकास गर्न खोजेको आलोचनात्मक र विश्लेषणात्मक सोच नै कमजोर बन्न सक्छ।
राज्यले नयाँ तथ्य प्रयोग गर्ने, विद्यार्थीले पुरानो पढ्ने?
अझ गम्भीर प्रश्न त यहाँ उठ्छ, राज्यका निकायले नयाँ तथ्याङ्कका आधारमा योजना बनाउने, नीति निर्माण गर्ने र स्रोत विनियोजन गर्ने तर विद्यालयका विद्यार्थीलाई पुरानै तथ्य पढाउने अवस्था कति तार्किक छ?
राष्ट्रिय जनगणना राष्ट्रको सामाजिक तथा जनसाङ्ख्यिक अवस्थाको महत्वपूर्ण आधिकारिक अभिलेख हो। यसका आधारमा विकास योजना निर्माण हुन्छन्, बजेट तथा स्रोत विनियोजन गरिन्छ, स्थानीय तहका योजना बनाइन्छन्, अनुसन्धान सञ्चालन हुन्छन् र सार्वजनिक नीति निर्माणमा तथ्य प्रयोग गरिन्छ।
जब राज्य स्वयं नयाँ तथ्याङ्कका आधारमा अगाडि बढिरहेको छ, त्यही राज्यको शिक्षा प्रणालीले विद्यार्थीलाई पुरानो तथ्यमा अड्याइरहनु आफैँमा असङ्गति हो। सामाजिक अध्ययनको पाठ्यपुस्तक र सार्वजनिक नीति निर्माणमा प्रयोग हुने तथ्यबीच यस्तो दूरी रहिरहनु विद्यार्थीका लागि पनि भ्रमको विषय बन्न सक्छ।
पुनःमुद्रण कि पुनरावलोकन?
यस प्रसङ्गमा अर्को महत्वपूर्ण प्रश्न पुनःमुद्रणको अर्थसँग जोडिन्छ। पुनःमुद्रण भनेको पुरानै पुस्तकलाई फेरि छाप्नु मात्र हो कि समयअनुकूल आवश्यक तथ्यगत सुधार र परिमार्जनसहित पुनःप्रकाशन गर्नु पनि हो?
पाठ्यपुस्तकमा प्रयोग भएका तथ्याङ्क पुराना भइसकेका छन् भने पुनःमुद्रणको क्रममा तिनलाई अद्यावधिक गर्ने अवसर उपयोग गर्नुपर्छ। तर नयाँ जनगणनाको अन्तिम नतिजा सार्वजनिक भइसकेपछि पनि पुनःमुद्रित संस्करणमा पुरानै तथ्याङ्क कायम रहनुले पाठ्यपुस्तक निर्माण, सम्पादन र समीक्षा प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
यसले तथ्यगत शुद्धता र समयसापेक्षतालाई प्राथमिकता दिनुपर्ने ठाउँमा प्रक्रिया पूरा गर्नुलाई मात्रै पर्याप्त ठानिएको हो कि भन्ने प्रश्नसमेत जन्माउँछ।
यसको असर शिक्षकसम्म पुग्छ
पुराना तथ्याङ्कको समस्या विद्यार्थीको तहमा मात्र सीमित हुँदैन। यसको प्रत्यक्ष प्रभाव शिक्षकमा पनि पर्छ। शिक्षकले पाठ्यपुस्तकलाई आधार बनाएर पढाउँदा पुराना तथ्य प्रस्तुत गर्नुपर्ने हुन्छ। तर शिक्षक आफैँले राष्ट्रिय तथ्याङ्क कार्यालय, आर्थिक सर्वेक्षण वा अन्य आधिकारिक स्रोतबाट नयाँ तथ्य प्राप्त गरेको अवस्थामा भने पाठ्यपुस्तकसँग फरक तथ्य प्रस्तुत गर्नुपर्ने परिस्थिति आउन सक्छ।
त्यसपछि शिक्षकसामु एउटा असहज प्रश्न खडा हुन्छ,पाठ्यपुस्तकलाई आधार मान्ने कि अद्यावधिक आधिकारिक तथ्यलाई?
पाठ्यपुस्तक र आधिकारिक स्रोतबीच तथ्यगत अन्तर देखिएपछि शिक्षक अन्योलमा पर्नु स्वाभाविक हो। अझ परीक्षा प्रणाली पाठ्यपुस्तकमा आधारित छ भने शिक्षक र विद्यार्थी दुवैका लागि समस्या थप जटिल हुन सक्छ। यस्तो अवस्था सिर्जना हुनु आफैँमा पाठ्यपुस्तक विकास र शैक्षिक सामग्री व्यवस्थापन प्रणालीको कमजोरी हो।
सूचना प्रविधिको युगमा पाठ्यपुस्तकप्रति विश्वास कसरी जोगाउने?
आजका विद्यार्थी अघिल्ला पुस्ताका जस्ता सीमित सूचना स्रोतमा निर्भर छैनन्। उनीहरू सूचना प्रविधिमा पहुँच भएका पुस्ता हुन्। सरकारी वेबसाइट, आधिकारिक प्रतिवेदन तथा अन्य डिजिटल माध्यमबाट नयाँ तथ्याङ्क उनीहरूले सजिलै प्राप्त गर्न सक्छन्।
त्यसैले पाठ्यपुस्तकमा एउटा तथ्य र आधिकारिक स्रोतमा अर्को तथ्य भेटिँदा विद्यार्थीले स्वाभाविक रूपमा प्रश्न गर्छन्। यदि यस्तो अन्तर बारम्बार देखियो भने पाठ्यपुस्तकमाथिको विश्वास कमजोर हुन सक्छ।
शैक्षिक सामग्रीको विश्वसनीयता कुनै पनि शिक्षा प्रणालीको आधारभूत पक्ष हो। विद्यार्थीले ‘पुस्तकमा लेखिएको कुरा नै सही हुन्छ’ भन्ने विश्वास गर्नुपर्ने ठाउँमा ‘यो तथ्य सही हो कि होइन?’ भनेर शंका गर्नुपर्ने अवस्था आउनु राम्रो संकेत होइन। आलोचनात्मक सोच विकास गर्नु आवश्यक भए पनि पाठ्यपुस्तकको आधारभूत तथ्यगत विश्वसनीयतामाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुनु फरक विषय हो।
सामाजिक अध्ययनलाई जीवनसँग जोड्ने हो भने
सामाजिक अध्ययनको उद्देश्य विद्यार्थीलाई केवल परीक्षा उत्तीर्ण गराउनु होइन। यसको वास्तविक उद्देश्य विद्यार्थीलाई आफ्नो समाज, देश र विश्व बुझ्ने क्षमता प्रदान गर्नु हो। त्यसैले यस विषयका पाठ्यपुस्तकलाई स्थिर दस्तावेजका रूपमा होइन, निरन्तर अद्यावधिक गरिनुपर्ने जीवन्त शैक्षिक सामग्री का रूपमा लिन आवश्यक छ।
जनगणना, आर्थिक सर्वेक्षण, मानव विकाससम्बन्धी प्रतिवेदन वा अन्य राष्ट्रिय तथ्याङ्क परिवर्तन भएपछि सम्बन्धित पाठहरू पुनरावलोकन गरिनुपर्छ। तथ्याङ्क अद्यावधिक गर्न मात्र होइन, नयाँ सामाजिक परिवर्तन, प्रविधि, बसाइँसराइ, शहरीकरण र नागरिक जीवनमा आएका परिवर्तनलाई पनि आवश्यकताअनुसार पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समेटिनुपर्छ।
यसका लागि पुनःमुद्रणअघि विषयविज्ञ, शिक्षक, अनुसन्धानकर्ता र सम्पादकको संयुक्त समीक्षाबाट तथ्य प्रमाणीकरण गर्ने व्यवस्था संस्थागत गर्न सकिन्छ। पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षा सामग्री केन्द्रबीच नियमित समन्वय गरी पाठ्यपुस्तकलाई समयसापेक्ष बनाउने प्रणाली विकास गर्न पनि उत्तिकै आवश्यक छ।
अब प्रश्न पुस्तक छाप्ने होइन, सही पुस्तक छाप्ने हो
शिक्षाको गुणस्तर केवल विद्यालय, शिक्षक वा विद्यार्थीको प्रयासले मात्र निर्धारण हुँदैन। उनीहरूको हातमा पुग्ने शैक्षिक सामग्री पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। गलत वा पुरानो तथ्यका आधारमा विद्यार्थीलाई वर्तमान बुझाउन खोजियो भने सिकाइको उद्देश्य नै कमजोर हुन्छ।
सामाजिक अध्ययनको विश्वसनीयता त्यसले प्रस्तुत गर्ने तथ्यको विश्वसनीयतामै निर्भर हुन्छ। समाज परिवर्तन भइसकेपछि पाठ्यपुस्तक पनि परिवर्तन हुनुपर्छ। त्यसैले आजको आवश्यकता नयाँ पुस्तक छाप्नु मात्र होइन, समयअनुकूल, तथ्यपरक, विश्वसनीय र जीवनसँग जोडिएको पाठ्यपुस्तक निर्माण गर्नु हो।
यदि सामाजिक अध्ययनले वर्तमान नेपालको यथार्थ प्रस्तुत गर्न सकेन भने त्यसले भविष्यका नागरिकलाई वर्तमान बुझाउने होइन, विगत दोहोर्याउने काम मात्र गर्नेछ। विद्यार्थीलाई आलोचनात्मक सोच, निर्णय क्षमता, समस्या समाधान र जिम्मेवार नागरिक बन्न सिकाउने विषय आफैँ तथ्यगत रूपमा अद्यावधिक हुन नसक्नु विडम्बना हो।
समाज अगाडि बढिरहन्छ। जनसङ्ख्या बदलिन्छ, शहर बदलिन्छन्, मानिसको जीवनशैली बदलिन्छ, प्रविधि बदलिन्छ र सामाजिक सम्बन्धका स्वरूप पनि बदलिन्छन्। त्यसैले सामाजिक अध्ययन पनि बदलिनुपर्छ। समाजको गति पछ्याउन नसक्ने सामाजिक अध्ययनले भविष्य निर्माण गर्न सक्दैन।
अन्ततः सामाजिक अध्ययनलाई साँच्चिकै जीवनसँग जोड्ने हो भने यसले समाजको परिवर्तनसँगै आफूलाई पनि परिवर्तन गर्नुपर्छ। पाठ्यपुस्तक विगतको अभिलेख मात्र होइन, वर्तमान बुझ्ने र भविष्यतर्फ हेर्ने माध्यम बन्नुपर्छ। नत्र विद्यार्थीले भविष्यका चुनौती सामना गर्न आवश्यक ज्ञान र सीप प्राप्त गर्नुको सट्टा विगतको तथ्य बोकेर वर्तमान बुझ्ने प्रयास गरिरहनेछन्। र यहीँबाट एउटा गम्भीर प्रश्न जन्मिन्छ समाज यति तीव्र गतिमा बदलिइरहेको बेला हाम्रो सामाजिक अध्ययनचाहिँ अझै कति समय पुरानै तथ्यमा अड्किरहने?
प्रकाशित: ३० श्रावण २०८३ १६:५६ शनिबार



