प्रकृतिले कहिलेकाहीँ आफ्नो विराट् शक्तिको यस्तो परिचय दिन्छ, जहाँ मानिसले कोरेका सीमा, बनाएका संरचना र बुनेका योजनाहरू क्षणभरमै अर्थहीनजस्ता देखिन्छन् ।
भोटेकोशीको उर्लँदो भेलले घरका छाना मात्र बगाएको छैन, कतिपय परिवारका सपना, वर्षौँको श्रम र भविष्यका आशासमेत आफूसँगै बगाएको छ । पुलहरू भत्किएका छन्, बाटाहरू मेटिएका छन्, बस्तीहरू उजाडिएका छन् र अनेकौँ हृदयमा अपूरणीय शोकको कालो बादल मडारिएको छ ।
तर विपत्तिको कथा केवल विनाशको कथा होइन । विपत्तिले हामीबाट के खोस्यो भन्ने प्रश्नसँगै, विपत्तिका बीच हामीले के जोगायौँ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । भग्नावशेषभित्रबाट जीवन बचाउन अघि बढेको एउटा हात, आँसु पुछ्न पुगेको अर्को हात र अपरिचितको जीवन रक्षाका लागि आफ्नो जीवन जोखिममा राख्दै दौडिएको कुनै सुरक्षाकर्मीको पाइला, यिनै क्षणमा मानवताको वास्तविक परिचय प्रकट हुन्छ ।
विपत्तिको समयमा एउटा असत्य समाचारले पनि भयको अर्को बाढी ल्याउन सक्छ । त्यसैले अहिले हाम्रो मोबाइलको पर्दा पनि एउटा जिम्मेवारीको क्षेत्र बनेको छ । सत्यापित सूचना फैलाऔँ, अफवाह रोकौँ । अपुष्ट समाचार, सनसनीपूर्ण तस्वीर र अनुमानका आधारमा फैलाइने सामग्रीले पीडितको पीडा बढाउनुका साथै उद्धार तथा राहतकार्यलाई समेत जटिल बनाउन सक्छ ।
पीडितको आँसु हाम्रो प्रचारको सामग्री होइन । भग्न घरअगाडि उभिएको असहाय अनुहार हाम्रो लोकप्रियताको साधन होइन । कसैको दुःखलाई ‘भ्यु’, ‘लाइक’ र ‘सेयर’मा रूपान्तरण गर्नु संवेदनाको व्यापार हो । सहायता गर्दा पनि पीडितको आत्मसम्मान, गोपनीयता र मानवीय मर्यादा सुरक्षित राखौँ ।
पीडितलाई हाम्रो क्यामेरा होइन, हाम्रो करुणा चाहिएको छ ।
उसलाई प्रदर्शन होइन, संरक्षण चाहिएको छ ।
उसलाई दया होइन , सम्मानसहितको साथ चाहिएको छ ।
सबैभन्दा ठूलो राहत, ‘तिमी एक्लो छैनौ’
विपत्तिको समयमा सहायता सधैँ पैसाको आकारमा नापिँदैन । कसैले औषधि दिन सक्छ, कसैले भोजन । कसैले उद्धार गर्न सक्छ, कसैले आश्रय । कसैले श्रम दिन सक्छ, कसैले आफ्नो सानो बचत । तर कहिलेकाहीँ एउटा सानो वाक्य नै सबैभन्दा ठूलो राहत बन्न सक्छ, “तिमी एक्लो छैनौ, हामी तिम्रो साथमा छौँ ।”
विपत्तिले घर भत्काउँदा मानिसलाई केवल छानाको आवश्यकता हुँदैन, उसको मनभित्रको भरोसा पनि जोगाउनुपर्छ । शरीरको घाउमा औषधि लगाउन सकिन्छ, तर निराशाको घाउमा मानवताको स्पर्श चाहिन्छ ।
आज जोखिमको पर्वाह नगरी उद्धारमा खटिएका सुरक्षाकर्मी, निद्रा र थकान बिर्सेर उपचारमा जुटेका स्वास्थ्यकर्मी, राहत सामग्री बोकेर दुर्गम बस्ती पुगिरहेका स्वयंसेवक तथा आफ्नो सीमित साधनबाट पीडितको चुलो बाल्न प्रयत्नशील सामान्य नागरिक, यी सबै विपत्तिको अँध्यारोमा बलिरहेका मानवीय दीपहरू हुन् ।
भग्नावशेषभित्रको अवशिष्ट आशा
नदीले घर बगाउन सक्छ, तर घरको अर्थ बगाउन सक्दैन ।
पुल भत्काउन सक्छ, तर मानिसबीचको सम्बन्ध भत्काउन सक्दैन ।
सडक मेटाउन सक्छ, तर गन्तव्यप्रतिको सङ्कल्प मेटाउन सक्दैन ।
विपत्तिले जीवनलाई चोट पुर्याउन सक्छ, तर पुनःजीवनको इच्छालाई समाप्त गर्न सक्दैन ।
यहीँबाट अवशिष्ट आशा जन्मिन्छ ।
आशा भनेको विपत्ति नआउनु मात्र होइन । आशा भनेको विपत्तिका बीचमा पनि हात नछोड्नु हो । आशा भनेको अँध्यारो हटेपछि दीप बाल्नु होइन, अँध्यारोमै दीप बाल्ने साहस गर्नु हो ।
आज उद्धारकर्मीको काँधमा, चिकित्सकको हातमा, स्वयंसेवकको पाइलामा, सहयोगी नागरिकको हृदयमा र पीडितको मौन धैर्यमा यही आशा जीवित छ ।
विपत्तिले विकासको पाठ पनि पढाउँछ
हरेक प्राकृतिक विपत्तिले एउटा कठोर प्रश्न छोड्छ, हामीले विकास कति सुरक्षित बनायौँ ?
पहाडको भौगोलिक संवेदनशीलता, नदीको स्वभाव, जलवायु परिवर्तन, हिमताल तथा वर्षाजन्य जोखिम, भूक्षय र बाढीको सम्भावनालाई बेवास्ता गरेर निर्माण गरिएका संरचना विकासका स्थायी प्रतीक बन्न सक्दैनन् । तिनले भविष्यका जोखिम पनि जन्माउन सक्छन् ।
त्यसैले अबको पुनर्निर्माण केवल ‘फेरि बनाउने’ अभियान हुनु हुँदैन, ‘पहिलेभन्दा सुरक्षित बनाउने’ राष्ट्रिय सङ्कल्प हुनुपर्छ । पुलको डिजाइनदेखि बस्तीको स्थानसम्म, सडकको निर्माणदेखि पूर्वसूचना प्रणालीसम्म र उद्धारको तयारीदेखि पुनर्स्थापनासम्म विज्ञान, प्रविधि, स्थानीय ज्ञान र दीर्घकालीन सोचलाई केन्द्रमा राखिनुपर्छ ।
राहत तत्कालको धर्म हो । पुनर्स्थापना राज्यको दायित्व हो । विपद् न्यूनीकरण भविष्यप्रतिको जिम्मेवारी हो ।
शोकबाट सङ्कल्पतर्फ
गुमाएका प्रियजन फर्केर आउने छैनन् । उनीहरूको रिक्तता कुनै क्षतिपूर्ति, भाषण वा राहतले भर्न सक्दैन । त्यसैले मृतकप्रति सच्चा श्रद्धाञ्जली फूल चढाउनु मात्र होइन, उनीहरूले भोग्नुपरेको नियति फेरि कसैले भोग्न नपरोस् भन्ने व्यवस्था निर्माण गर्नु हो ।
भत्किएको पुल पुनःनिर्माण गर्दा त्यसमा केवल फलाम र सिमेन्ट नहालौँ, सुरक्षाको विवेक पनि हालौँ ।
बगेको बस्ती पुनःबसाउँदा केवल घर नबनाऔँ, भविष्यको सुरक्षा पनि बनाऔँ ।
पीडितलाई राहत दिँदा केवल सामग्री नदिऔँ, आत्मविश्वास पनि दिऔँ ।
पुनर्निर्माण गर्दा केवल संरचना नउठाऔँ, विश्वास पनि पुनःउठाऔँ ।
आज हामी शोकमा छौँ । आँसु स्वाभाविक छन् । पीडा स्वाभाविक छ । तर राष्ट्रको यात्रा आँसुमै रोकिँदैन ।
भोटेकोशीको भेलले धेरै कुरा बगाएको होला । तर हाम्रो मानवीयता बग्न नदिऔँ ।
सत्य बग्न नदिऔँ ।
सामाजिक सद्भाव बग्न नदिऔँ ।
राष्ट्रिय एकता बग्न नदिऔँ ।
वैज्ञानिक चेतना बग्न नदिऔँ ।
र भविष्यप्रतिको आशा बग्न नदिऔँ ।
किनकि राष्ट्र केवल सडक, पुल र भवनले बन्दैन । राष्ट्र त दुःखमा एकअर्काको हात समाउने मानिसहरूले बन्छ ।
आज भग्नावशेष धेरै छन् । तर तिनै भग्नावशेषबीच केही हात अझै उठिरहेका छन् । केही दीप अझै बलिरहेका छन् । केही आँखाले आँसु पुछ्दै भोलि खोजिरहेका छन् ।
भत्किएका पुलहरूका बीच जोडिनुपर्ने मनहरू अझै बाँकी छन् ।
बगेका सपनाहरूका बीच देख्नुपर्ने भविष्य अझै बाँकी छ ।
अश्रुपूर्ण आँखाहरूका बीच मुस्कानको सम्भावना अझै बाँकी छ ।
र विनाशको अँध्यारोबीच मानवताको एउटा उज्यालो दीप अझै बाँकी छ ।
प्रकाशित: १७ भाद्र २०८३ २१:३५ बुधबार



