संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ।
बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।
पुरस्कार वितरण कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।
सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण तथा सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम औपचारिक र सफल रूपमा सम्पन्न गरियो।
कार्यक्रममा सम्मानित १५ जना व्यक्तित्वलाई मन्त्री खरेलद्वारा २० हजार नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। पुरस्कृतमा कलाकार, निर्देशक, सांगीतिक एवं प्राविधिक पक्षका योगदानकर्ता समेटिएका थिए।
कस कसलाई सम्मान गरियो ?
सम्मानित हुनेमा कलाकार शिव श्रेष्ठ, सबिता गुरुङ, निर्देशक तीर्थ थापा, संगीतकार/गायक तथा निर्देशक यस कुमार, चलचित्र पत्रकार ध्रुव लम्साल, चलचित्र महोत्सव व्यवस्थापक रम्यता लिम्बू छन् ।
त्यस्तै निर्देशक सम्झना रौनियार, निर्माता/निर्देशक युवराज लामा, कलाका हेमन्त बुढाथोकी, निर्माता किशन पोखरेल, स्व. केशव भट्टराई (कलाकार-मरणोपरान्त), कलाकार नाजिर हुसेन, निर्देशक रिमेश अधिकारी, रंग संयोजक/प्राविधिक रेनीश फागो तथा गायिका अन्जु पन्त छन् ।
प्रकाशित: २४ कार्तिक २०८२ २१:४६ सोमबार



