बलिउडका भाइजान अभिनेता सलमान खानले आफ्नो आधिकारिक युट्युब च्यानल ‘बिइङ द सलमान खान’ सुरु गरेका छन्।
सलमान खान हाल आफ्नो चर्चित रियालिटी शो ‘बिग बोस २०’ को सञ्चालन गरिरहेका छन्। यसैबीच उनले नयाँ युट्युब च्यानल सुरु गरेका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले आफ्नो च्यानलको उद्देश्य तथा सामग्रीबारे बताएका छन्।
सलमानले आफ्नो च्यानलमा राखिने सामग्री सबै दर्शकलाई मन नपर्न सक्ने उल्लेख गर्दै यो च्यानल विशेषगरी साना बालबालिकालाई ध्यानमा राखेर तयार गरिएको हो। यसमा मनोरञ्जनसँगै परिवार, प्रेम र शिक्षासम्बन्धी सामग्री पनि समावेश गरिनेछ।
एक्समा उनले लेखेका छन्, 'मेरो युट्युब च्यानल हेर्नुभएकोमा धन्यवाद। मलाई थाहा छ, यहाँको सामग्री अहिले तपाईंहरूका लागि नहुन सक्छ। तर यो तपाईंहरूका साना बालबालिकाका लागि हो भन्ने कुरा पनि बुझ्नुहुन्छ होला। हेरौँ, यो कस्तो हुन्छ। थोरै रमाइलोसँगै प्रेम, परिवार र शिक्षासमेत बालबालिकाका लागि आवश्यक छन्, होइन र?'
‘बिइङ द सलमान खान’ च्यानलको पहिलो भिडियोमा सलमान खानका दुई फरक रूप प्रस्तुत गरिएको छ। भिडियोमा एक सलमान प्रशिक्षकको भूमिकामा छन् भने अर्को विद्यार्थीको रूपमा देखिएका छन्।
विद्यार्थीको भूमिकामा रहेका सलमानले प्रशिक्षकबाट आफ्नो विशेष शैली, हाउभाउ, शरीरको भाषा र संवाद बोल्ने तरिका सिकिरहेको देखाइएको छ।
यसरी अभिनेताको पर्दामा देखिने लोकप्रिय व्यक्तित्वलाई रमाइलो र सिकाइसँग जोडेर प्रस्तुत गर्ने प्रयास गरिएको छ। च्यानलमा बालबालिकाले मनोरञ्जनसँगै केही नयाँ कुरा सिक्न सक्ने खालका सामग्री राख्ने उद्देश्य देखिन्छ।
प्रकाशित: २५ आश्विन २०८३ १३:४४ आइतबार



