साँझको ६:३० बजेतिर गायक श्रेष्ठको निमन्त्रणामा पोखरेलले गाडीलाई होटलतिर मोड्न लगाए। भारतीय चिकित्सकहरूको सम्मानमा आयोजित डिनरमा सरिक हुन गाडीबाट ओर्लेर उनी सरासर होटलभित्र छिरे । लबीको एक छेउमा निलो सुटमा सजिएका गायक श्रेष्ठ आमन्त्रित व्यक्तिहरूसँग सम्पर्क गर्न मोबाइलमा व्यस्त थिए ।
पोखरेल सरासर उनको नजिक गएर नमस्कार गरे ।
श्रेष्ठले अभिवादन फर्काएनन् । बरु, मोबाइलबाट आँखा उठाउँदै पोखरेलको मुहारमा नजर नै नलगाई जङ्गिँदै भने, "तपाईँ आफूलाई के ठान्नु भएको छ? के तपाईँको पैसा हामीले नतिरी जान्छौँ भन्ने सोच्नु भएको छ? कलाकार भन्ने जतिले ठग्छन् भन्ने ठान्नु भएको छ?"
"म.. म.. त..." पोखरेलले केही भन्न खोज्दै थिए, श्रेष्ठले पोखरेलको कुरालाई बेवास्था गर्दै थपे, "मैले मेनेजरसँग कुरा गरिसकेँ, एड्भान्स पनि दिइसकेको छु । अब किचकिच गर्न नआउनु फेरि!"
श्रेष्ठ कुनै पनि कुरा सुन्ने मनस्थितिमा थिएनन् ।
पोखरेलतिर हेर्दै भने, “अहिले मलाई डिस्टर्ब नगर्नुहोस् !”
त्यसपछि श्रेष्ठले फेरि मोबाइलमा आँखा गाडे ।
निमन्त्रणा मान्न आएका पोखरेल श्रेष्ठको अपमानले मर्माहत भई अमिठो अनुहार बनाएर फरक्क फर्के ।
पोखरेलले ड्राइभरलाई फोन गर्दै भने, "गाडी निकाल, अब हामी फर्किन्छौँ ।"
ड्राइभरलाई बाटाको रेस्टुरेन्टमा खाना खुवाएर घर फर्किँदै गर्दा पोखरेलको मोबाइलको घण्टी बज्यो; गायक श्रेष्ठको फोन!
मन अमिलाउँदै पोखरेलले फोन उठाए ।
उताबाट श्रेष्ठले शालीनतापूर्वक भने, "सर, कता आइपुग्नुभयो? सबै गेस्ट र इन्डियन डाक्टरहरू आइसक्नुभयो । हामी तपाईलाई पर्खिरहेका छौँ। तपाई नआइकन त हामी डिनर सुरु नै गर्दैनौँ, छिटो आउनुहोला है!"
पोखरेलले पनि विनम्रतापूर्वक भने, "अघि म आएको थिएँ । तपाईँले पैसाको कुरा लिएर मसँग कडा रूपमा प्रस्तुत हुनुभयो, मैले लज्जित महसुस गरेँ । त्यसपछि म त बस्नै सकिनँ । अनि, हिँडेँ । अहिले त म घर पुगिसकेँ । डिनरमा निमन्त्रणा गर्नु भएकामा धन्यवाद र सबै मित्रहरूलाई डिनरको शुभकामना !"
"सरी ! मैले त तपाईलाई रिसेप्सनको स्टाफ पो ठानेछु।"
यति भनेपछि उताबाट कुनै प्रतिक्रिया नै आएन, श्रेष्ठले तुरुन्तै फोन स्विच अफ गरे।
प्रकाशित: २९ कार्तिक २०८३ १०:१६ आइतबार



