कला/साहित्य

'पेन्सन पट्टा'को बेलायत र हङकङ प्रदर्शन अधिकार बिक्री

वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको ‘पेन्सन पट्टा’ सिनेमाको विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ। आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार महँगो मुल्यमा बिक्री भएको हो।

लेखक तथा निर्देशक माओत्से गुरुङले सिनेमाको कुनै प्रचार सामग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले उत्साहित बनाएको बताए। यो सिनेमाको बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको छ।

अन्य केही देशबाट पनि रिलिज अधिकार किन्न अफर आएकाले चाँडै फाइनल हुने चरणमा रहेको निर्देशक गुरुङले जानकारी दिए। पेन्सन पट्टा’ मा गुरुङ सिनेमाका ‘गडफादर’का रूपमा परिचित निर्देशक माओत्स गुरुङको पनि लगानी छ।

सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, सुनिल थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतिक्षा गुरुङ लगायतका कालाकारको अभिनय छ। विश्वास र मायाले यो सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन्।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। यो सिनेमा नामबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताउँछन्।

मीन कोन्मे गुरुङ (युके), भोजबहादुर गुरुङ (युके), माया गुरुङ (हङकङ) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन्। सुशन प्रजापतिले छायांकन गरेको सिनेमाका कास्टिङ डिरेक्टर सुरज तमु र संगीतकारमा मनोज थापा मगर, शिव बराइली, सुरुङ गुरुङ छन्।

कियर कोइचले सम्पादन गरिरहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ।

प्रकाशित: २४ जेष्ठ २०८३ १२:२१ आइतबार