कला/साहित्य

'टक्सिक'को प्रि-रिलिज कार्यक्रममा दुर्घटना, दुई जना घाइते

दक्षिण भारतीय अभिनेता यशको बहुप्रतीक्षित फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोनअप्स’ को प्रि-रिलिज कार्यक्रममा शनिबार दुर्घटना भएको छ। हैदराबाद आयोजित कार्यक्रममा स्टेजको स्पिकर स्ट्यान्ड अचानक ढल्दा त्यहाँ आएका दुई फ्यान घाइते भएका छन्।

यश र फिल्मको टोलीलाई हेर्न ठूलो संख्यामा फ्यानहरू कार्यक्रममा पुगेका थिए। यश स्टेजमा भाषण दिरहेका बेला यो घटना हुन पुगेको हो।

प्रहरीका अनुसार केही फ्यान यशलाई नजिकबाट हेर्न फ्लाइङ डीजे स्पिकर स्ट्यान्डमाथि चढेका थिए। केहीले त्यहाँ स्टन्टसमेत गरिरहेको बताइएको छ। यही क्रममा स्ट्यान्डको सन्तुलन बिग्रिएर अचानक स्पिकर ढलेको हो।

स्ट्यान्ड ढल्दा दुई जना उचाइबाट तल खसेर घाइते भएका छन्। घटनापछि घाइतेहरूलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विस्तृत जानकारी भने सार्वजनिक भएको छैन।

यश अभिनीत ‘टक्सिक’ लाई लिएर फ्यानहरूमा निकै ठूलो उत्साह देखिएको छ। फिल्ममा यश ग्याङ्स्टरको भूमिकामा देखिनेछन्।

फिल्ममा नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी वसन्त र हुमा कुरैशी पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्म २६ अगस्टदेखि विश्वभरका प्रदर्शनको तयारीमा छ।

प्रकाशित: ७ भाद्र २०८३ १२:०५ आइतबार