कला/साहित्य

अविश्रान्त यात्री विमल

विद्वताले ओतप्रोत दीप मालिकाको सहर जनकपुरधामको साहित्य सरितामा कलकल, छलछल बग्दै गरेको दीप्त दीयो सधैंका लागि निभ्यो। कालको यस अखण्ड धारामा ज्ञानका उज्यालो छर्ने डा. राजेन्द्रप्रसाद विमलको जीवनदीप २६ साउन २०८३, राति १२ः३० बजे प्रादेशिक अस्पताल जनकपुरधाममा निभ्यो। एउटा ज्ञान विज्ञानको आशाको दीप प्रज्जलित हुनबाट रोकियो। यद्यपि डा. विमलको आत्मा भने जन्मजन्मान्तरको यो पुनर्जन्मचक्र विष्मयकारक हो। र, यसको विधायक नमस्य हुन् र यसका विधायक नमस्य हुन्।

मैथिली, नेपाली, हिन्दी, अंग्रेजी तथा उर्दु भाषाका मुर्धन्य साहित्यकार, श्रेष्ठतम् संस्कृतिविद्, प्रखर भाषाविद् एवं मैथिली विकास कोष, जनकपुरधामका संस्थापक अध्यक्ष वरेण्य व्यक्तित्व डा. विमलको महाप्रस्थानले सम्पूर्ण साहित्य संसार शोकाकुल छ। अतः शोकाकुल यस दुःखद घड़ीमा बहुभाषिक, साहित्याकाशक जाज्वल्यमान बहुविधावादी सशक्त नक्षत्र श्रद्धेय विमलको संस्मरण एवं तेह्रौं दिनको पुण्यस्मृतिमा शब्द श्रद्धाञ्जली अर्पण छ।

मैथिली तथा नेपालीमा अविच्छिन प्रतिबद्ध अक्षर जगत्का अविश्रान्त यात्री विमलप्रति अश्रुपूरित विनम्र श्रद्धा सुमनसँगै उनको जीवन यात्राबारे चर्चा गरौं। विमलको जन्म २६ मार्च १९४७ मा कुशेश्वर लाभका छोराको रुपमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० देवीस्थानमा भयो। जनकपुरमा भएको घडेरीमा स्याल बास्यो भनेर गुरुपुरोहितले बस्न अनिष्ट–अशुभ हुने भनेकाले उनीहरूकै सल्लाहमा विमल परिवार धनुषा जिल्लाकै  देवडिहास्थित खिरखिरिया गाउँमा बसाइ सर्‍यो।

शिक्षा

जनकपुरधामस्थित सरस्वती माविबाट माध्यमिक शिक्षा हासिल गरेका विमलले नेपाली, मैथिली एवं हिन्दीमा स्नातकोत्तर र भाषा विज्ञान विषयमा पिएचडी गरेका थिए।

आजीविका

आजिविकाका रुपमा उनले सुरुमा धनुषा जिल्लाको खजुरी हाइस्कुलमा अध्यापन गरे। त्यसपछि उनी पद्यमकन्या क्याम्पस काठमाडाैं हुँदै २०२९ सालदेखि रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुरधाममा नेपाली विभागअन्तर्गत शिक्षण कार्यमा समर्पित भए। त्यहींबाट उनले अध्ययापन पेसाबाट अवकाश प्राप्त गरे।

केही रोचक प्रसंग

कविता कसरी कोर्ने सन्दर्भमा उनी सबैलाई आफ्नो अनुभव यसरी सुनाउँथे। पीडा, संघर्ष, प्रसवबिना कविता फुर्दैन। त्यसका लागि घोत्लिनु पर्छ, ध्यानमग्न भएर। सिर्जनाका लागि साधना चाहिन्छ। अब यो कार्य कसरी गर्ने त? यसका लागि उनले आफ्ना मित्र रामचन्द्र मल्लिकालाई कविता सिर्जन गर्ने योजना सुनाए।

योजनाअनुसार नै उनी घर नजिककैको बाह्रबिघा मैदानमा एकाबिहानै ४ बजेतिर कविता लेख्न बसे। केही फुरेन, त्यतिकैमा पूर्वमा उषाकालीन लालीमा आकाशमा देखिन थाल्यो। उनका मित्र मल्लिकले एक पंक्ति लेखे– सुवह सुवह प्रातः समय देखा रवी गोला। त्यसमै विमलले थपे अर्काे एक पंक्ति– जैसा रामचन्द्र वैसा भोला। विमललाई घरमा भोला भनेर सम्बोधन गरिन्थ्यो किनभने उनी निकै भोलाभला देखिन्थे, र हो पनि। त्यतिबेला हिन्दीमै लेख्ने चलन पनि थियो।

एउटा अर्काे रोचक प्रसँग छ। उनी ६ वर्षका थिए। त्यतिबेला उनी खुब बदमासी गर्थे। अनि उनलाई बुवाले खुब कुटे। बाल्यावस्थाको त्यो पीडालाई उनले हिन्दीमा लेखे। जुन यस प्रकार छ–

अब दुःख सहा नहि जाता विधाता

घरमे जो आता तो बाबू पिताता

स्कूलमे पिटाई खाता, विधाता

अव दुःख सहा नहि जाता विधाता

प्रकाशन

१२ वर्षको उमेरमा उनको पहिलो लघु कथा ‘आर्यावतर्’ हिन्दी दैनिकमा  छापियो। १५ वर्षको उमेरमा आर्यावर्तमा प्रकाशित अर्को ‘कचनार के पेंड’ हिन्दी कथा धेरै नै लोकप्रिय भयो। यसै वर्ष मिथिला मिहीर (मैथिली मासिक)मा ‘मुइल बच्चा’ कथा प्रकाशित भयो। मिथिला मिहिरमा सन् १९६२ मा उनको पहिलो रचना बालकथा ‘बकरीक दाह्री ’ छापियो। यसैगरी कथा ‘विपतिया’ मिथिला मिहिर (१५ मार्च १९६३)मा प्रकाशित भयो। मेट्रिक परीक्षा दिएर बसेका बेला उनले ‘चान अहाँ उदास छी’ उपन्यास लेखे।

त्यतिबेलादेखि नै उनी निरन्तर साहित्यिक विभिन्न विधामा रचनाशील भए। उनले कविता, कथा, गीत, गजल, नाटक, समालोचना, शोध, बाल साहित्य, फिल्मको पटकथा लेखन आदिमा निरन्तर कलम चलाए।

उनको पहिलो कथासंग्रह ‘ई हमरे कथा थिक’(कात्तिक पूर्णिमा, २०६०), आकृति संस्था, जनकपुरद्वारा उपेन्द्र भगत नागवंशीको पहलमा प्रकाशित भयो। यसै क्रममा मैथिली विकास कोषद्वारा ‘इतिहासक घाओ’ २०७० पुसमा प्रकाशित भयो।

यसका अतिरिक्त ‘बौआक पोथी (मैथिली बाल साहित्य)’ जानकी पुस्तक भण्डारबाट छापियो। यसैगरी प्रो.परमेश्वर कापडिको पहलमा ‘सूर्यास्तसँ पहिने (मैथिली गीत–गजल संग्रह )’ पृथु प्रकाशनबाट छापियो।

लय संग्रौलाको निर्देशनमा पहिलो ‘मिथिलाक व्यथा’ नामक टेलिफिल्म तथा ‘हंसा चलल परदेश’ मैथिली टेलिफिल्मको पटकथा लेखे, जुन  नेपाल टेलिभिजनबाट प्रसारित भयो। त्यसले त्यतिबेला खुबै प्रशंसा पायो।

२०५० को दशकयता उनका गीति क्यासेट, एल्बमलगायतका सांगीतिक कोसेली अझै पनि निकै चर्चामा छन्, जुन निरन्तर सार्वजनिक मञ्चमा प्रदर्शन हुँदै आएका छन्।

उनको ‘मिथिला गौरव’ भने अनुसन्धानमूलक कृति निकै महत्त्वपूर्ण मानिन्छ। नाटकहरूमा– सीता, नौटंकी चलि रहल अछि, खाली हाथ, दोहाइ बाबा भुइयाँ आदि चर्चित छन्। यसका अतिरिक्त उनले मैथिलीका महत्त्वपूर्ण पत्रिकाहरू मिथिला मिहिर, गामघर, आँजुर, अर्चना, सोनामाटि, वैदेही, उत्खनन आदिमा सयौं गम्भीर रचना प्रकाशित छन्।

विमल नेपाली तथा मैथिली भाषामा अविछिन्न प्रतिबद्ध लेखक थिए। नेपाली भाषामा प्रकाशित उनका कृतिहरूमा गद्य, पद्य र नाटक (नेपाली आलोचना), नेपाल परिचय, जय जनकपुर जय श्री जानकी, फिस्टीरानी (बाल साहित्य), राजेन्द्र विमलका कथाहरू, मिथिलाको इतिहास, संस्कृति र कला परम्परा, समयका आँखा (कथासंग्रह), सरबरिया टोल (कथासंग्रह), नेपाली सञ्जीवनी (व्याकरण), खहरेको तिर्खा (उपन्यास) र नयाँ जनकपुर नयाँ श्री जानकी आदि छन्।

सन् १९६६ पछि उनले गोरखापत्र, पञ्चवाणी, बैदेहीलगायतक पत्रपत्रिकामा लेख्न थालेका थिए। उनको ‘बन्धनबाट मुक्ति’ कथा २०७३ सालको पाठ्यक्रम अनुसार कक्षा ९ को अनिवार्य नेपाली विषयमा समावेश छ।

त्यस्तै विमलको ‘लंका दहन’ कथा स्नातक तहको अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समावेश छ। उनका धेरै रचना गोरखापत्र, मधुपर्क, गरिमा, विभिन्न संघसंस्थाद्वारा प्रकाशित स्मारिका, जर्नल आदिमा प्रकाशित छन्।

विमलले ‘खट्टर काकाक तरंग’, जनकपुरका सन्त साहित्यका रामप्रिया शरणद्वारा १७औं शताब्दीमा रचित महाकाव्य ‘श्री सीतायण’ (हिन्दी), सम्पादन गरे, जसलाई जनकपुर उद्योग वाणिज्य संघले प्रकाशित गर्‍यो। उनले ‘रमेश रञ्जनक संगोर’ नामक उपन्यासलाई नेपालीमा अनुवाद गरेका छन्। जलाधि (जलाधारके इतिहास) पनि लेखे उनले।

सम्मान

साहित्यकार विमल अनेकौं सरकारी तथा गैरसरकारी संघसंस्थाद्वारा पुरस्कृत एवं सम्मानित थिए। नेपाल विद्यापति भाषा–साहित्य पुरस्कार २०६८, जगदम्बा–श्री पुरस्कार २०६६, नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शन प्रज्ञा पुरस्कार २०६९–२०७०, राष्ट्रिय कलाश्री पुरस्कार २०६९, डा. धीरेन्द्र साहित्य–संस्कृति पुरस्कार २०७१, मैनाली कथा पुरस्कार २०७४, आदिकवि भानुभक्त पुरस्कार २०७४, विद्यापति स्मृति पदक २०६०, गरिमा सम्मान, सिद्धी श्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, प्रतिभा सम्मान–२०२०, राज्यलक्ष्मी कृति पुरस्कार २०७९,  बिपी. कोइराला स्मृति साहित्य सम्मान २०८०, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान २०८०, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति सम्मान, वैद्यनाथ–सियादेवी मैथिली पुरस्कारबाट उनी सम्मानित भएका थिए। उनलाई भानुजयन्ती २०८१ को अवसरमा भानु प्रतिष्ठानले डा. दयाराम श्रेष्ठ ‘सम्भव’सँगै काठमाडौंमा रथारोहण गराएको थियो।

राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना गरिएको थियो। समारोहको अध्यक्षता कुलपतिका हैसियतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। समारोहमा प्रमुख अतिथि थिए विमल।। विभिन्न ठाउँमा आयोजना हुने सांस्कृतिक, साहित्यिक एवं शैक्षिक कार्यक्रमहरूमा उनी कयौंपटक प्रमुख अतिथि भएका थिए। उनी अनेकौं संघसंस्थाका सल्लाहकार पनि थिए।

उनका रचनामा स्वर तथा प्रवृत्ति

विपुल साहित्यका रचनाकार डा. विमलका अधिकांश मैथिली साहित्य असंकलित छन्। चार दशकभन्दा लामो समयसम्म प्राध्यापन गरेका  विमल आफ्नो प्रज्ञा र प्रभाव, सिर्जन र समीक्षण, शालीन र भद्र व्यक्तित्व तथा साहित्यिक गुरुका रुपमा जनकपुर परिसरमा समादृत थिए। गीत, गजल, कविता, कथा, नाटक, टेलिसिरियल, उपन्यास, समालोचना, बालसाहित्यमा कलम चलाएका विमल कुशल सम्पादक, अनुवादक र भाषाविद् पनि थिए। मैथिली संस्कारमा प्रायशः सबै साहित्यकारका पुस्तक तथा कृतिको अग्रभागमा भूमिका, शुभांषा विमलले लेखेका थिए, विरलै यस्ता सर्जक होलान् जो छुटेका होलान्।

उनको सिर्जनमा नेपालका ऐतिहासिक सत्यको स्थापना छ। नेपाल भित्रका मिथिला, मिथिलाका लोक, चेतना, पीडा, प्रेम, वियोग, छटपटी, आक्रोस, विक्षोभ र विद्रोहक मौलिक एवं उत्कृष्ट शिल्प झल्किन्छ। समाज एवं राजनीतिबाट उत्पन्न तनाव एवं परिणामलाई स्वतन्त्र एवं निजी सिर्जनात्मक पर्यवेक्षण उनको रचना संसारमा पाइन्छ।

शोकमा, मिडिया र सञ्जाल

विमलको अन्त्येष्टिमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल जनकपुरधाम आएका थिए। उनको अन्तिम बिदाइमा नेपाल प्रहरीले सलामी अर्पण गर्‍यो। धनुषाको नगराइन र सबैला नगरपालिकाले शोक बिदा दिए। जनकपुरधाम उपमहानगरपालिकाका जनजनका आदरणीय विमल सरको निधनमा शैक्षिक संस्थामा एक दिन  शोक बिदा भयो। राजर्षि जनक विश्वविद्यालय, पद्मकन्या क्याम्पस, मैथिली विकास कोष, नेपाल प्रज्ञा प्रतिष्ठान, मिथिला नाट्यकला परिषद्, साहित्यकार सभा आदिले शोक सन्देश, श्रद्धाञ्जली सभा आयोजना गरे, गर्दैछन्।

अन्त्यमा

डा. विमलको लेखनमा राष्ट्र र मैथिल चेतना, मातृभाषाप्रति निष्ठा र अगाध प्रेम प्रष्फुटित भएको पाइन्छ। उनका छरिएका अप्रकाशित रचनाहरूलाई प्रकाशित गरियोस्। नेपाल प्रज्ञा प्रतिष्ठानबाट दिइने गरी उनको नाममा लब्धप्रतिष्ठित साहित्यकारलाई प्रत्येक वर्ष राम्रो राशिको सम्मान/पुरस्कारको घोषणा सरकारले गरोस । उनको सम्मानमा समग्र ‘डा. विमल‘ नामक एउटा ठुलो कृति निकालियोस्। यो नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ।

(मण्डल धनुषाका क्रियाशील पत्रकार हुन् )

प्रकाशित: ६ भाद्र २०८३ ११:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App