कला/साहित्य

मेयरको पीडादायी रात

कथा

वैशाख ३१ गते अन्तिम साताको रात थियो । आकाश कालो मेघले पुरै ढाकिएको । हावा र हुरीले घर नजिकै रहेको बाँसको तामा र रूखविरूवा निर्मम ढंगले भाँच्दै थियो । मेरो र छिमेकीको टिनको छाना टिनटिन थर्किरहेको थियो। बतासको कारण घरभित्र पानी छिरेर कपडा, पुस्तक र कापी भिज्यो ।

कपडा भिजेकोमा त मलाई केही चिन्ता थिएन तर गोवर्धन रानाले लेखेको नेविसंघको इतिहासको पुस्तक भिज्दा मन धुरूधुरू रोयो। ती महान शहीद वीरविरंगनाको त्याग र पसिनाको कथा पढ्नबाट वञ्चित हुने पिरलो भयो।  त्यो किताव अहिले बजारमा किन्न पनि पाइन्न! लामो सास फेर्दै पुस्तक जोगाउन प्रयास गरें तर कास…! बाहिर मेघ गर्जंदै बिजुली चिम्किरहेको वातावरण । बैमौसम साउने झरीझैं झमझम पानी दर्किरहेको थियो । वैशाखमा देखिएको दृश्यले मानौं पृथ्वीमाथि कुनै अदृश्य पीडाले आकाश रोइरहेको थियो ।

मानिसले प्रकृतिलाई अनावश्यक दुःख दिएकाले बैमौसमी वातावरणीय दुस्प्रभाव देखिन थालेको पो हो कि ..? मनमनमा कुरा खेलाउँदै थिएँ म। त्यो चकमन्न रात झन् गहिरिँदै गयो । घरका झ्यालहरू हुरीले थर्काइरहेका थिए । म आफ्नो सुत्ने खाटमा पल्टिरहेको थिएँ । रातको ११ बजिसकेको थियाे। मेरो प्रायः बेलुकी ९ बजे नै सुत्ने बानी तर त्यो रात निद्रा आँखाबाट कोसाैं टाढा भागे जस्तो अनुभूति भयो।

मेरो घर नजिकै नानीराम आचार्यको गोठमा बाँधिएको भैंसी रातभरि कराइरहेको थियो । उसको स्वरमा कुनै असह्य वेदना झल्किएको भाव थियाे । कुन्नि भोकले हो कि बिरामी भएर हो या स्वतन्त्रताको चाहनाले । उसले एकोहोरो आई..आई… आवाज निकालिरह्यो । घरधनीले उसको गलाको दाम्लो नफुकाएसम्म उसले चाहेको ठाउँ पुग्न सक्ने सम्भावना थिएन । ऊ मानिसको बन्धनमा थियो। मलाई त्यो भैंसीको आवाज बालककालको करुण संगीत जस्तो लागिरहेको थियो । रातको अन्धकारसँगै मनभित्र अनगिन्ती प्रश्न उठिरहेका थिए । कतै यो देश पनि त्यस्तै दाम्लोमा त बाँधिँदै छैन? लोकतन्त्रको नाममा नागरिकका स्वतन्त्र आवाजहरू जबर्जस्ती रोकिंदै त छैनन् ? संसदको मौनता, न्यायलयमाथिको बलात् आक्रमण।

अध्यादेशको हतारो, विचारमाथिको नियन्त्रण, विद्यार्थी र श्रमिकका आवाज कमजोर बनाउने प्रयत्न । यी सबै परिस्थितिले मनभित्र कुनै अदृश्य भय जन्माइरहेको थियो । बिजुली अचानक चम्कियो । क्षणभरका लागि कोठाभित्र उज्यालो छिऱ्यो अनि फेरि निस्पट्ट अन्धकार । मलाई लाग्यो, त्यो बिजुलीको चमकले मेरो मनको अँध्यारो पनि एकछिन उज्यालो पारिदियो तर फेरि उही गह्राैं मन । मन बेचैन भयो ।

यस्तो असहज अवस्थामा आमासँग कुरा गर्न पाए हुन्थ्यो भन्ने तीव्र इच्छा भयो । पल्लो खाटतिर फर्किएँ । टर्च बालेर हेरेँ तर खाट रित्तो थियो । एकाएक झसङ्ग भएँ । म त कहाँ हराइरहेको छु अचेतन अवस्थामा भए जस्तो ।

२०८१ साल कात्तिक २६ गते आमाको स्वर्गारोहण भएको यथार्थता क्षणभरका लागि बिर्सिएछु । त्यसपछि सहारा खोज्दै मैले छेउमा सुतिरहेकी जीवनसँगिनी कुमारी सुम्सुम्याउन खोजेँ तर हात सिरानीमा पुग्यो । फेरि झस्किएँ । सरल र इमान्दार जेठो छोरा अध्ययन र चञ्चले तृष्ण बुद्धिको अनुसन्धानलाई कोट्याउन खोजेँ तर भरिएको पानीको बोतल पो रहेछ । एकाएक आफैँभित्र हराएको मान्छेझैँ भएँ।

मेरो चेत, स्मृति र यथार्थ कुनै अनौठो स्वप्नमा परिणत भइरहेको दुखान्त समय । उनीहरू अहिले काठमाडौं बस्छन् भन्ने पनि मानस्पलटबाट हराएको रहेछ । मेरो मन यति गह्राैं थियो कि मानौँ कुनै विशाल ढुङ्गाले शरीर थिचिरहेको जस्तो । छटपटाउँदै ढुंगा हटाउने कोसिस गरिरहे जस्तो अनुभूति । वस ! त्यही समय स्मृतिका पानाहरू बिस्तारै खुल्न थाले।

मलाई हाम्रो दोर्पाको कोलेखेत सम्झना आयो । खेत नजिकै बाबु लक्ष्मीप्रसाद र आमा पद्मकुमारीले झण्डै सत्तरी वर्षअघि वरपिपल रोप्नुभएको थियो । ती रुखहरू अहिले गाउँको इतिहासजस्तै जीर्ण अवस्थामा उभिएका थिए । अपाङ्गता शरीर भएर पनि दाजु गुणराजले वर्षौंसम्म डोकोमा पानी बोकेर ती बिरुवालाई सिँचाइ गरेको सम्झना आयो । जैविक विविधताको संरक्षण उहाँका लागि धर्मभन्दा ठूलो कर्म थियो।

मलाई सानो छँदा साइँला काका भीमप्रसाद र कान्छा काका रामप्रसादले वर-पिपलको विवाह गराउँदै गरेको दृश्य स्मरण भयो। बावियोको डोरी बाटेर वर, पिपल, आँप, अम्वक, सुन्तला, थुँगे फूल उनेर वरपिपललाई बाँधेको । २०६० साल मंसिर १७ गते यज्ञमा मेरो विवाहमा पनि त्यसैगरी डोरी टाँगिएको थियो । ससुरा बुवा रत्नप्रसाद र आमा इन्द्रमायाले पुजा गरेको सम्झिएँ ।

दाजु तोयानाथ विदेशमा हुनुहुन्थ्यो भने भाउजू सविता चुइचुम्मा, कुमालटारमा सासुससुरासँग । कान्छो भाइ उदय वरण्डाबाट मण्डपमा नियालिरहेका थिए । एक वर्षकी प्रतिमा फुपू दिदी कुमारीको काखमा लुटुपुट भएकी थिइन् । बालापन न हो के हुँदैछ भन्ने जिज्ञासा प्रतिमाका नयनहरूले चारैतिर मनमनै नियालिरहेका थिए । उफ..! प्रकृति र मानव बिचको त्यो परम्पर र संस्कृति अहिले हराइरहेको छ । त्यसैले होला अहिलेको यो उत्पात र विपत्ति पनि। अरूले होइन हामी आफैंले निम्त्याएको हो अवस्था । त्यो समय प्रसादको रूपमा खाएको करेला, सुठुनी, अपुंगो र पञ्चामृतको स्वाद जिब्रोमा अझै  झुण्डिरहेको छ । मेरा गुरू संगेले पण्डितसँगैका पण्डितले शंख र घण्ट बजाउँदा वातावरण पवित्र बनेको थियो । दाजु मोतिकृष्ण र वेदप्रसादले सत्यनारायणको कथा वाचन गरिरहनुभएको त्यो क्षण।

म भने बाल्यकालको त्यो निश्छल क्षणमा संसारलाई विस्मित आँखाले भित्रभित्रै नियालिरहेको थिएँ । बाहिर मुसलधारे पानी परिरहेको थियो । रोकिने छाँटकाँटै थिएन । रातको अन्धकारले स्मृतिहरूलाई चुमिरहेको थियो । छटपटी लागिरह्यो । सन्नाटा चिर्दै भित्ताको घडीले टिकचिक आवाज दिइरहेको सुनें । टर्च बालेर घडीतिर उज्यालो लगाएँ । रातको ठीक १२ बजेर २१ मिनेट गएको रहेछ ।

सधैं ९ बजे सुत्ने मानिस आज मध्यरातसम्म पनि निदाएको थिइन । मुटु ढुकढुक गर्छ । एकाएक मेरो मनमा त्यो समयमा राजनीति, परिवार, समाज, मृत्यु र प्रकृतितिर मेरो मन सररर दौडियो । मलाई लाग्यो- मानिसको जीवन पनि यस्तै रहेछ । कहिले हुरी, कहिले घाम । कहिले भीड त कहिले एक्लोपन । सायद बुबाआमा हुनुभएको भए मलाई ढाढस दिनुहुन्थ्यो । खाटमासँगै कुमारी भए रंगीन रातमा हराउँथें होला । छोराहरू अध्ययन र अनुसन्धान भए हिम्मत दिन्थें  तर त्यो रात म एक्लै थिएँ र मेरो मन बरालिएको होला । यस्तै विविध कुरा सोचेर ओछ्यानमा ढल्किएर घोत्लिरहें । समय बित्दै गयो । घरि उठ्छु- घरी वस्छु ।अहँ मेरो मनमा पटक्कै शान्ति छैन । मन अशान्त छ । नागरिकको विश्वास र मायाबाट भारी मतले दिक्तेलको नगर प्रमुख । सिडियो, कर्णेल, डिएस्पी या जिल्लाका गन्यमान्य सबैले इज्जत र सम्मान गर्छन् ।

नगरपालिका पुग्दा बाटामा भेट्ने तथा कर्मचारीले जुरूक्क उठेर अभिवादन गर्छन् । यत्रो मानसम्मान हुँदा पनि मन अशान्ति छ । आँखामा निन्द्रा पर्दैन । मैले आदेश दिएँ भने २-४ लाख राज्यकोश खर्चिएरै भए पनि सायद प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले निन्द्रा किनिदिनुहुन्थ्याे होला । नगरपालिकाका नागरिकको सेवामा अशान्त भएको नगर प्रमुखको निन्द्रा र शान्तिमा रकम खर्चिंदा अनियमितता पनि ठहर्दैनथ्यो कि?

यस्तै कुरा मनमा खेलिरहे । म छटपटाइरहें निन्द्रा लाग्दैन । सिरकमा गुटुमुटु भएर म रूमल्लिरहें । सन्नाटालाई चिर्दै भाले बासेको मेरो कानमा ठोक्कियो । ओछ्यानबाट जुरूक्क उठें । बाहिर सिमसिम पानी परिरहेको थियो । घडी हेर्दा विहानको तीन बजेको रहेछ ।

ओहो ! आज त पटक्कै निन्द्रा परेन । टाउको दुखिरहेको थियो । आँखा पोलिरहेका थिए तर निन्द्रा छैन । सधैं मेरो उठ्ने समय भएको थियो तर आज म फेरि ओछ्यानमै पल्टिएँ । अचानक म सुत्ने कोठाको ढोकामा ढकढक आवाज आयो । म झल्याँस्स बिउँझिएँ । थाहा भयो- विहानीपख म त गहिरो निद्रामा परेंछु । झ्यालबाट सूर्यकाे सुनौलो किरण कोठाभित्र पसिसकेका रहेछन् । रातको कालो बादल हराएर सुनौली विहानी छाएको रहेछ । बाहिर चराहरू चिरबिर गरिरहेका थिए । मैले ओछ्यानबाट जुरूक्क उठेर ढोका खोल्दा राजन दाहाललाई देखें । दश-पन्ध्र जना मानिस मलाई भेट्न पर्खिरहेका रहेछन् । उनीहरूको अनुहारमा बिहानको उज्यालो थियो। म केहीबेर उनीहरूलाई हेरेर मौन उभिरहेँ । म भने रातभरि नसुतेको मानिस । म नगरको ठूलो मान्छे मेयर । विहानै आएर कसैले ढोका ढक्ढक्याउने हिम्मत गरेनन् । मेयरको महत्त्वपूर्ण समय भंग गर्ने कस्ले हिम्मत गर्ने ।

 नागरिकको कायापलट गर्ने योजना पो बन्दै थियो कि नागरिकमा कौतुहल थियो होला । मेयर, प्रधानमन्त्री या जनप्रतिनिधि गाँजा नशामा अलमलिन्छन् भन्ने कल्पनासम्म हुँदैन । आफैंले भारी मतले जिताएको मेयर तर तलदेखि माथिसम्मका शासक कोही संसदमा केटीसँग अल्लारिरहेका छन् त कोही सुरक्षा घेराभित्र परिवारको प्रितमा रमाइरहेका । निश्चल मन भएका ती नागरिक घण्टौंदेखि मलाई कुरिरहेका । कसैले खेतमा पानी लगाउन थियो होला ।

रातभरिको भारी वर्षा र हावाहुरीले कसैको फुसको छानो उडाएको थियो होला । यो पर्खिने र सलाम माग्ने सोच गाउँदेखि बालुवाटारसम्मका सबै तहका शासकमा झाँगिएको छ । न विगत न वर्तमान । अभिमान र घमण्डको डंका बजाइरहेका छन् । रातभरि मलाई थिचिरहेको अन्धकार बिस्तारै हलुका हुँदै गयो।

मेरो जीवनका लागि त्यो कुनै साधारण रात थिएन । सायद यस्तो रात मैले कहिल्यै भोगेको थिइन । त्यो रात मेरो स्मृति, पीडा, देश, नगर, बुबाआमा, परिवार र आफ्नो आत्मासँग भएको एउटा लामो संवाद थियो । त्यो रात मेरो विस्मृतिमा हराए पनि पुस्तकका रंगीन पानाहरूमा रहिरहने छन् । घाम, पानी, हावा, हुरी कसैले पनि नष्ट गर्ने छैनन्। कसैले नष्ट गर्ने दुस्साहस गऱ्यो भने ऊ आफैं माटोमा विलीन हुनेछ ।

(कथाकार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नगर प्रमुख हुन्। )

प्रकाशित: २ जेष्ठ २०८३ ०७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App