कला/साहित्य

कोहलपुरमा ‘नीलो प्रेम’

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले ‘नीलो प्रेम’ उपन्यासकाे परिचर्चा गरेको छ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजालले क्याम्पसका विद्यार्थी र यस क्षेत्रका स्रष्टासँग नीलो प्रेमका अन्तर्य प्रस्तुत गर्ने र लेखकसँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

युवा वर्गको मनोविज्ञानलाई विषयका रूपमा समाएर लेखिएको पुस्तकमा प्रेमका अनेक आयामलाई ध्वनि सौन्दर्यका रूपमा प्रस्तुति दिने आफ्नो प्रयास सार्थक बनेको भन्दै लेखक पुरुषोत्तम बजगाईले सहभागीले राखेका जिज्ञासा मेटाउने प्रयास गरेका थिए।

सकारात्मक सोच र आफू र समाजलाई प्रेम गर्न सक्ने मान्छे नै साँचो प्रेमी हो। प्रेमको गहिराइ बुझ्न युवाहरूलाई आग्रह गर्दै प्रेमीप्रेमिकाको भावनात्मक प्रेमका साथै बजगाईले देश प्रेम, प्रकृति प्रेम पनि जीवनको महत्त्वपूर्ण पाटो हुनुपर्ने विषय आफूले उठाएको बताए।

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख दानबहादुर हमालले उपन्यासबाट प्रेमका अनेक रङ र आयाम हुने सन्दर्भ बुझिने बताए।

उनले वागेश्वरी बहुमुखी क्याम्पस विद्यार्थीको रचनात्मक क्षमता वृद्धि गर्न सधैँ प्रयासरत रहेको भन्दै नीलो प्रेमका लेखकसँगको साक्षात्कार कार्यक्रमले हौसला बढाएको बताए।

कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, पूर्णिमाका सल्लाहकार सागर गैरे लगायतले शुभकामना मन्तव्य दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानको विगत र वर्तमान चिनाएका थिए।

संस्थाका उपाध्यक्ष डा. खोपीराम वलीको स्वागत मन्तव्य र सचिव केशव निमेषकाे सञ्चालनमा भएकाे कार्यक्रममा प्रकाशक इन्डिगो इंकका प्रबन्धक विष्णु पौडेलसहित कोहलपुर र नेपालगन्ज आसपासका करिब पाँच सय सहभागी थिए।

प्रकाशित: ५ पुस २०८२ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App