राम्रो लेख्न सकिएको हुन्थ्यो भने यतिका लेखिरहनुपर्ने थिएन। अस्ति मात्र गन्ती गर्दा एक सय एघारवटा कथा पुगेका थिए, अर्थात् यो पनि कथा भइगयो भने एक सय बाह्रौं कथा हुनेछ।
हिजो गरेको सपिङ आजका लागि मन नपर्दो हुन्छ अनि आजको भोलिका लागि त्यस्तै हुन्छ। अनि मान्छे दिनहुँ बजार गइरहन्छ, दिनकै कपडा किनिरहन्छ, भाँडा किनिरहन्छ। नयाँको खोजीमा तर दिनहुँ सोही काम– थोत्रो काम गरिरहन्छ। हिजो प्रकाशित कथा टेबुलमै छ, आज फेरि किन लेख्नुपर्यो ? भाँडा थुपारेर, कपडा थुपारेर, कथा थुपारेर के हुन्छ ? राम्रो सायद एउटै लेखे पुग्थ्यो होला, श्रीमद्भगवद्गीता किन दुईवटा लेख्नुपर्यो ?
२०५५ सालतिरै हो क्यार, कृषि विकास बैंकको हलमा हुने कथासम्बन्धी कार्यक्रममा सहभागी हुन जाँदा संयोगवश एकजना मूर्धन्य भनिआएका समालोचकसँग बाटोमा सँगै परेको थिएँ। तिनले मलाई सोधेका थिए– कथा लेख्न किन, कसरी सुरु गर्नुभयो?
मलाई लागेको कुरा नै मैले उत्तर गरेँ– ‘नेपालका ठुल्ठुला कथाकारको कथामा पनि मैले त्यस्तो जीवन र कलाको अद्भुत समन्वय केही देखिनँ अनि मलाई लाग्यो, योभन्दा राम्रा कथा लेख्न सकिन्छ, लेख्नु पनि पर्छ।’
एकदम आँखा तन्काएर मलाई हेरे तिनले एउटा अनुशासनहीन, बेसोमती विद्यार्थीलाई झैं।
‘हो,’ मैले भनेँ, ‘ती स्वनामधन्य लेखकहरूले आफ्ना कथामा कला र जीवनलाई जुन ढंगसँग जोडे, त्यसभन्दा धेरै राम्रोसँग जोड्न सकिन्थ्योजस्तो लाग्यो अनि मैले लेख्न सुरु गरेँ।’
अलि ठुला पारिएकाजस्ता आँखाले हेरिरहेका मात्र होइनन्, तिनी मसँग अलि तर्सेझैं देखिन्थे। हो, तिनले मलाई निकै मूर्ख र स्वाँठ मान्छे ठानिरहेका थिए। यति मूर्ख मान्छेसँग कडा कुरा गर्यो भने समातेर कुटि पनि हाल्छ कि भनेर तिनी डराएका हुन सक्छन् भन्ने पनि मलाई लाग्यो।
‘तपाईं मसँग निर्धक्क कुरा गर्न सक्नुहुन्छ, मनमा लागेका कुरा गर्न सक्नुहुन्छ,’ मैले भनेँ। सायद मेरो भनाइको तात्पर्य थियो– तपाईंको कुरा चित्त नबुझे पनि म तपाईंलाई कुट्ने छैन।
मेरो यस भनाइलाई तिनले राम्रोसँग विश्वास गरे। ‘यस्तो अहंकार तपाईंमा कसरी पैदा भयो ?’ अलिकति हाँसो ल्याउन खोजेको रुन्चे अनुहारसँग तिनले सोधे।
‘होइन,’ मैले भनेँ, ‘मैले अहंकार गर्नका लागि यो सोचेको थिइनँ। म दिनहुँ ती कथा पढाउँथेँ, पढ्थेँ, नराम्रा त नभनूँ, कलात्मकता र प्रविधिगत सौन्दर्य दुवैका दृष्टिले अपूर्ण लाग्थे ती कथा, एकदम मध्ययुगीन टाइपका, पुराना। तीभन्दा त रसिया एवं युरोपतिर दुई सय वर्ष अगाडि लेखिएका कथा पनि धेरै आधुनिक र बलिया छन् भन्ने जस्तो सोचाइ आउँथ्यो। अझै मलाई लाग्थ्यो– युरोपेली वा रसियाली कथामा भएको मोटाइको दुर्गुण पनि हटाएर अझै सुन्दर लेख्न सकिन्छ। म सक्छु अथवा मभित्र यस्तो विचार वा संकल्प आयो। यो आउनुलाई नै पनि अहंकार हो यो भनेर टिप्पणी गर्न त पाइने नै भयो। अनि कथाकार बन्न पुगेँ म, बन्न थालेँ भनौं न।’
‘तपाई सन्तुष्ट हुनुहुन्छ ? तपाईंले आफ्ना अग्रजहरूले भन्दा राम्रो लेख्नुभयो?’ तिनले अर्धऔपचारिक स्वरमा सोधेका थिए।
‘पढ्नु–पढाउनु एउटा कुरा हो, अर्काका कमजोरी पर्गेल्नु एउटा कुरा हो तर यस्तै योग्यताले मात्र राम्रो लेख्न पनि सकिन्छ भन्ने कुरा होइन, होइन रहेछ, राम्रो लेख्नु अर्को कुरा हो रहेछ,’ मैले भनेँ। म हारेको जस्तो देखेर ती खुसी भए।
तर खै र म हारेको ? यसो आफैंलाई हेर्छु– लेखेको लेखेकै छ, छापिरहेको छ, लेखिरहेको छ। हारेको भए पनि लेख्नुपर्थेन, जितेको भए पनि लेख्नुपर्थेन।
कथा मात्र किन, सबै कुरा, बारम्बार, दिनहुँ महत्त्वहीन कामहरू, कृत्यहरू भइरहेका छन्। प्रत्येक दिन बिहान उठ्नु, कालो चिया खानु, बाहिर निक्ली पुनः बरन्डा रेस्टुरेन्टको गोरो चिया खानु, दुध–दही लिएर घर फर्किनु, खाना खानु, फेरि कथा लेख्नु, बेलुकाको खाना खानु, जाँगर लागे दुई अक्षर पढिटोपल्नु, अनि सुत्नु। भोलि पनि त्यही गर्नु, पर्सि पनि त्यही गर्नु, सधैं त्यही गर्नु, अनि मर्नु। अहिले म पैंसट्ठी पुग्दै छु, मानौं अझै तिस वर्ष बाँचेँ भने तिसै वर्ष चिया खाइरहनु ? कथा लेखिरहनु ? सुतिरहनु ? उठिरहनु ? किन ? नमरुन्जेल त्यही नै गर्नु ? किन गर्ने बारम्बार सोही काम ? आखिर मेरो कथाकारिताले पनि लछारपाटो त केही लगाएको होइन, किन लेख्नु बेहोस भएर?
केही समयदेखि म यी प्रश्नहरूले घोत्लिएको थिएँ। यस्तैमा गएको वसन्त ऋतुको पुछारतिर मेरो भेट सिसिफससँग भयो। हो, सिसिफससँग भेट हुनेताका म यी विचारहरूले उद्वेलित थिएँ।
म भातेनिद्राले अँठ्याएर सुत्न खोजेको मात्र थिएँ तर पसिनाले भिजेर पहाड चढ्दै र ओर्लिंदै गरेका सिसिफस मेरो सामुन्ने ढुंगो धकेलिरहेका उपस्थित थिए।
पहिले उनको कामको कुरा गरौं। सिसिफस एउटा ठुलो गह्रुंगो चट्टानी ढुंगा, पहाडको उकालोमा गुडाउँदै डाँडाको टुप्पोमा पु¥याउँथे तर त्यो शिखरको चोटिमा बिसाउनै लाग्दा ढुंगा फेरि तल झथ्र्यो। ग्रिस अर्थात् यही धर्तीको कुरा गर्दै छु है म। सिसिफस पुनः तल ओर्लन्थे र त्यस ढुंगालाई माथिसम्म गुडाउँदै धकेलेर शिखरमा चढाउने प्रयत्न गर्थे तर ठिक यसै बेला ढुंगा फेरि तल झथ्र्यो। उनी बारम्बार पूर्ण निष्ठासाथ प्रयत्न गर्थे र त्यो ढुंगा आफ्नो पूर्ण निरपेक्षतासाथ तल झर्थ्याे।
उनी विश्राम लिन पाउँदैनथे। त्यसैले उनीसँग कुरा गर्नका निम्ति म पनि सँगसँगै तलमाथि हिँडिरहेको थिएँ।
‘यस्तो काम किन गर्ने ? कहिलेसम्म ?’ तेस्रोपटक तल ओर्लिंदै गर्दा मैले सोधें।
‘जीवनभर गर्छु, गर्नुपर्छ बाँचुन्जेल,’ आफ्नो काँधमा राखिएको गम्छाले पसिना पुछ्तै सिसिफसले भने।
‘किन ?’ मैले सोधेँ।
‘कथा त लामो छ तर यत्ति बुझ कि यो मेरो नियति हो, देउताहरू मसँग सधैंका निम्ति रिसाएका छन् र जीवन यसै गर्नका निम्ति श्रापित छ,’ सिसिफसले उदास स्वरमा भने। उनको श्वास फुलिरहेको थियो। विश्वास गर्न गाह्रो भइरहेको थियो कि सिसिफस कुनै बेला एउटा देशको प्रभावशाली राजा थिए।
मैले सिसिफसको संसारबाट एक्कासि यता आउनुप¥यो किनभने आमालाई खोकी लाग्यो। उहाँलाई दम र ठुलो लहरे खोकीले दुःख दिइरहेको थियो।
मैले पनि सायद बुझ्र्नुपर्ने हो नि अब– म कथालेखनको शिखरमा टेक्न सक्तिनँ, र पनि म लेखिरहन्छु, एकपछि अर्को र अर्कोपछि अर्को। प्रत्येकपटक झिनो आशा रहन्छ सायद कि यस कथाले कहीं शिखर टेक्नेछ।
‘उसो भए म किन बाँच्ने त ?’ एकदिन म एकदमै झोक्किएको बेला अल्बेयर कामु आइपुगेका थिए र सोध्न मन लागेर मनमनै एउटा वाक्य बनाएँ, ‘बिहान उठ्नु, कालो चिया खानु, बाथरुम जानु, बरन्डाको दुध चिया खानु, भात खानु, कहिल्यै उँभो शिखरमा नपुग्ने कथा लेख्नु अनि सुत्नु। आज त्यति गरेर सुत्नु अनि फेरि भोलि दुरुस्त त्यही गर्नु, पर्सि त्यही गर्नु। यो वर्ष त्यही गर्नु, अर्को वर्ष त्यही गर्नु, किन बाँच्नु यस्तो वाहियात ?’
अकस्मात् कामुको कथा आएपछि पाठकहरू अलमलिनुभयो होला। अकस्मात् नै मेरो कामुसँग भेट भयो। त्यो कसरी हुन पुग्यो भने म झुक्किएर अथवा अवचेतन मनकै कुरा गर्ने हो भने झुक्किन चाहेर पनि हुन सक्छ, मैले गाँजा मिसिएको चकलेट खाएँ। त्यो फ्रिजमा राखिएको कालो चकलेट थियो। गाँजा वा त्यो चकलेट खाएपछि कस्तो लाग्यो भने सबै अरू मानिसहरू अज्ञानी हुन् र ती बेहोस छन्, सुतिरहेका छन्, मात्र म एउटा छु, जो जाग्रत अवस्थामा छु। एकदम श्रीमद्भगवद्गीतामा श्रीकृष्णले भनेकै कुरा होसपूर्वक दोहोर्याएँ– या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः
त्यो जाग्रत अवस्थाको संयमी वा मुनि म नै हुँ भने जस्तो भइरहेको थियो। चिया बनाएर टेबुलमा राखेँ। दुध चिया, एकदम राम्रोसँग पाकेर माथिचाहिँ पातलो फिँजका फोकाहरू उठेको, सुकमेल र मरिचको बास्ना आइरहेको। श्रद्धापूर्वक चिया खाने कुर्सीमा बसेको मात्र थिएँ, मेरो ठिक सामुन्ने उपस्थित थिए– अल्बेयर कामु।
‘सिसिफस !’ कामुले बोलाउँदा मेरो पछाडि सिसिफस आई उभिएका हुन् कि भनी फर्केर हेरेँ तर कामुले मलाई नै सिसिफस भनेर सम्बोधन गरेका थिए। मलाई आश्चर्य लाग्नु स्वाभाविक नै हो। म म नै हुँ भन्दा भन्दै कतिखेर सिसिफस भएँ, मलाई नै थाहा भएन।
‘हो, तिमी सिसिफस नै हौ,’ कामुले भने।
चिया एक कप मात्र पकाएको थिएँ तर दुईवटा कपमा त्यसैलाई आधा आधा पारेँ।
‘म किन बाँच्ने ?’ मेरो अजेन्डा मैले कामुका सामु राखेँ।
‘किन र ?’ उनले भने, सबै बाँचेका छन्, हारेका छैनन्, त्यसैले बाँच्ने, उनले आफ्नो चिरपरिचित गोल्वाज चुरोट सल्काउँदै भने।
‘दिनभरिका दिनभरि, जीवनभर गह्रुंगो ढुंगो बोकेर पहाडको चोटी ताकेर उकालो चढ्नु, चोटिमा नपुग्दै ढुंगो पुनः गुल्टिनु र पहाडको फेदीमा झर्नु, अनि फेरि म तल झरेर त्यो ढुंगा बोकी चोटी छेउ पुग्नु अनि फेरि ढुंगो गुल्टिनु। यति नै मात्र गर्न अभिशप्त यो जीवन मैले किन बाँच्नु ?’ अहिले मैले आफू सिसिफस भएको थाहा पाएकाले संशोधित भाषामा भनेँ।
‘हेर सिसिफस,’ कामुले भने, ‘हामी सबै नै यस्तै काम गरिरहेका छौं तर सधैं यस्तो जीवनको अर्थ के छ भनेर कोसँग प्रश्न गरिरहन्छौं ? ब्रह्माण्डसँग ? तर ब्रह्माण्ड पूर्ण रूपमा मौन छ। यसले हाम्रो उत्तर दिँदैन। सबैको जीवन कुनै न कुनै प्रकारले तिम्रोजस्तै अर्थात् सिसिफसकोजस्तै नै हुन्छ, अर्थात् मसिनो गरी होसमा आएर हेर्दा निरर्थक, दोहोरिने, व्यर्थ देखिने क्रियाहरूले भरिएको र पनि मानिसले आफ्नो अवस्थालाई स्वीकार गर्दै आफ्नै चेतना र विद्रोहबाट जीवनको अर्थ निर्माण गर्नुपर्छ। कोसिस गरिरहनुले मात्र जीवन अर्थसंगत छ।’
‘म सिसिफस नै हो र ?’ तर म होसमा नै सोधिरहेको थिएँ।
‘के फरक पर्छ र, मैले भने पछि मान न ?’ उनले भने।
‘तपाईं के भन्दै हुनुहुन्थ्यो,’ मैले सम्झाएँ।
‘तिमीसँग तीनवटा विकल्प सधैं हुन्छन्,’ गोल्वाजको कडा सर्को तानेर कामुले भने।
‘सबै सुनौं,’ मैले भनेँ।
‘एउटा हो आत्महत्या,’ उनले भने, ‘जीवन बेकारको छ भनी मर्नु।’
‘दोस्रो ?’
‘दोस्रो दार्शनिक आत्महत्या, धर्म वा ईश्वरको वा अन्धविश्वासको सहारा लिएर अदृश्य अर्थ खोजिरहनु र यस जुनीमा नभएर के भो त अर्को–अर्को जुनीमा जीवनको अर्थ पाउँला भनी त्यसैका पछि लागिरहनु कुहिराको काग भइरहनु।’
‘तेस्रो पनि भन्नु।’
‘तेस्रो हो विद्रोह अर्थात् स्वीकार।’
‘विद्रोह अर्थात् स्वीकार ? मैले बुझिनँ।’
‘हो,’ उनले भने, ‘मान, तिमी कुनै खेल खेलिरहेका छौ तर त्यसबापत पुरस्कार पाउनेवाला छैनौ भने तिमीले खेललाई नै पुरस्कार किन नठान्ने ? खेलमै आनन्दको अनुभव किन नगर्ने जसरी खेलाडी र विशेष गरी बच्चाहरू गरिरहेका हुन्छन् ? तिमीले आफ्नो ढुंगो धकेल्ने वा जिन्दगी धकेल्ने खेललाई किन देवताको अभिशाप मान्ने ? यसलाई आफ्नो जीवनको आफूले चाहेर गरेको मनोरञ्जक खेल किन नमान्ने ? देवताको अभिशाप भनेर आफ्नो जीवनमाथि रुनुभन्दा एउटा मनोरञ्जक खेल भनेर हाँस्नुपर्छ, खेलप्रति निष्ठासहित बाँच्नुपर्छ, ढुंगो लिएर माथि चढ्दा हिमालमा लागेको पारिलो घामको अद्भुत सौन्दर्य हेर, तल झर्दा शीतलताको चमत्कार भोग, तिम्रो वरिपरिका पहाडी वसन्त र शरद् सबैलाई ढुंगाको भारभित्र दबिन नदेऊ, फेरि फेरि ढुंगो लिन तल झर्दै गर्दा तिमी खुसी भएर झर, अर्थात् देवताले नै तिमीलाई रुवाउन यो व्यवस्था बनाएको हो भन्ने मानेका छौ भने पनि तिमी तिनले चाहे झैं नरोऊ, विद्रोह गर अर्थात् तिमी हाँस, तिम्रो जीवनमाथिको देवताको हस्तक्षेप तिमीले खोस्नुपर्छ। त्यो तिम्रो खेल हो, खेल्नु जीवनको अर्थ हो, त्यो तिम्रो मनपर्दो काम हो, आफ्नो खेलको मालिक आफैं हुनुपर्छ सिसिफस, यही विद्रोह हो, तिमी हाँस्नुपर्छ।’
आमा नियमित रूपमा खोक्न, छाती चिरिन्जेल खोक्नका निम्ति बाँचिरहनुभएको हो जस्तो लाग्थ्यो। दिनभर, रातभर खोक्नुहुन्थ्यो, न आमालाई निको हुने सम्भावना देखिन्थ्यो, न त बाँच्ने इच्छा कम हुन्थ्यो।
उहाँ भान्साको टेबुलमै आएर आफ्नै हातले तगेको पेटे भोटो देखाएर मलाई यो बुढेसकालमा बिहे गर्न उक्साउँदै हुनुहुन्थ्यो, ‘बुहारी ल्याएर नाति–नातिना दे मलाई, हेर् यता, भोटो सिएर बसेकी छु, एउटी पत्नी मरिन् भनेर जीवनलाई सती पठाउनुहुँदैन, छोराछोरी पो आफैं जन्माउन सकिन्छ, नाति–नातिना त आफैं पाउन सकिन्नँ, छोराछोरीले पाइदिनुपर्छ। दुःख त कति हुन्छ नि हुर्काउन तर नातिनातिनासँग खेल्नु जीवनको अर्को मिठो खेल हो।’
सायद म कामुका कुरा बुझिरहेको थिएँ किनभने कथा मैले आफूले चाहेर गरेको काम थियो, स्वेच्छाले खेलेको खेल थियो।
सायद उनले पनि आमाको कुरा सुने– अल्बेयर कामु चुरोटको ठुटोलाई आफूले चिया खाएको कपभित्रै निभाएर हाँसिरहेका थिए अनि अहिले कामुले हाँसेको उज्यालो आमाको र सिसिफसको अनुहारमा पनि फिजिँदै गइरहेको थियो।
प्रकाशित: ५ मंसिर २०८३ ०८:११ शनिबार



