बलिउड अभिनेता शाहरुख खान दक्षिण दिल्लीको विलासी क्षेत्र पञ्चशील पार्कमा रहेको आफ्नो पुरानो घरको अब एकल मालिक बनेका छन्।
यसअघि बेसमेन्ट र पहिलो तल्लाको स्वामित्वमा रहेका शाहरुखले अब दोस्रो र तेस्रो तल्ला पनि खरिद गरेका हुन्। दैनिक भास्कारका अनुसार उनले यी थप तल्लाका लागि करिब ३७ करोड भारतीय रुपैयाँ (भारु) तिरेका हुन्। यो घर शाहरुख र गौरी खानका लागि विशेष छ, किनकी सन् १९९१ मा विवाहपछि मुम्बई सर्नुअघि उनीहरू यही घरमा बस्थे। करिब १० हजार ८०० वर्ग फिटमा फैलिएको जग्गामा रहेको यो घरको प्रति वर्ग फिट मूल्य करिब ३४ हजार २६० भारु परेको छ। यो अधिग्रहणसँगै अब उनी उक्त सम्पूर्ण भवनको एक्लो मालिक भएका छन्।
शाहरुख र गौरीको विवाह २५ अक्टोबर १९९१ मा भएको थियो। उनीहरूको विवाह अदालती, परम्परागत हिन्दू र निकाह गरी तीन विधिबाट सम्पन्न भएको थियो। विवाहपछि यो जोडी यही घरमा सरेका थिए। त्यसपछि आफ्नो फिल्म करियर अगाडि बढाउन शाहरुख मुम्बई गए। यसैकारण दुवैको यो घरसँग गहिरो भावनात्मक सम्बन्ध छ।
गौरी खानले यो घर आफैं डिजाइन गरेकी थिइन्। एक पुरानो अन्तर्वार्तामा गौरीले घरको महत्त्वबारे बताउँदै भनेकी थिइन्, 'म दिल्लीकी हुँ र मेरो जीवनको ठूलो हिस्सा यहीँ बितेको छ। त्यसैले म आमाको घर नजिकै एउटा घर किन्न र डिजाइन गर्न चाहन्थेँ, जहाँ परिवारका सबै सम्झनाहरू एउटै छानामुनि अटाउन्।' उनले यस घरको हरेक कुनाले आफूलाई छोराछोरीको हुर्काइका विभिन्न चरणहरूको सम्झना गराउने बताइन्।
घरमा 'नोस्टाल्जिया वाल' अर्थात् सम्झनाहरूको पर्खाल बनाइएको छ, जहाँ बालबालिकाको बाल्यकालका सामग्रीहरू सुरक्षित छन्। त्यहाँ सुहानाको मेकअप ब्रस, आर्यनको ब्याडमिन्टन र्याकेट, अबरामको पहिलो जन्मदिनको उपहार र शाहरुखले बनाएका कलाकृतिहरू राखिएका छन्। यसबाहेक शाहरुखले दिएका पुराना उपहार र पोस्टकार्डहरू पनि त्यहाँ फ्रेम गरिएका छन्। गौरीले यसलाई घरको सबैभन्दा मनपर्ने कुना भएको बताएकी थिइन्।
प्रकाशित: २८ असार २०८३ ११:१२ आइतबार



