कला/साहित्य

शबाना आजमी भन्छिन्: व्यावसायिक फिल्मले आर्थिक बलियो बनायो, कलात्मकले आत्मिक सन्तुष्टि

प्रसिद्ध भारतीय अभिनेत्री शबाना आजमीले आफ्नो फिल्म यात्रा, समानताको सोच, सामाजिक उत्तरदायित्व र व्यक्तिगत जीवनका विभिन्न पाटोबारे खुलेर कुराकानी गरेकी छन्।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको फिल्म महोत्सवमा सहभागी हुन नेपाल आएकी शबानाले शनिबार अभिनेत्री स्वस्तिमा खड्कासँग भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा अन्तरसंवाद गरेकी हुन्।

नेपाल पटक–पटक आइसकेकी शबानाले यसपटक आफ्नो फिल्म यात्रादेखि व्यक्तिगत जीवनसम्मका अनुभव सुनाउँदै दर्शकका जिज्ञासासमेत मेटाउने प्रयास गरिन्।

फरक देश र पुस्ताका अभिनेत्री भए पनि शबाना र स्वस्तिमाको फिल्म यात्रामा केही समानता देखिन्छ। दुवैले व्यावसायिक र कलात्मक दुवै धारका चलचित्रमा अभिनय गरेका छन्। अन्तरसंवादका क्रममा उनीहरूको सोच र कलाकारिताप्रतिको दृष्टिकोणमा समेत समानता देखियो।

शबानाले आफूले अभिनय गरेका चलचित्र सामाजिक चेतनासँग जोडिएका र तिनले समाज तथा दर्शकमा गहिरो प्रभाव पार्न सकेकोमा खुसी व्यक्त गरिन्।

उनका अनुसार कलाकारले कुनै न कुनै समय शोषण, दमन र मानवअधिकारजस्ता गम्भीर सामाजिक मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ। त्यस्तो बेला अभिनेत्रीले पनि आफ्ना पात्र र अभिनयमार्फत सशक्त आवाज उठाउन सक्नुपर्ने उनको भनाइ थियो।

‘समयसँगै एक कलाकारको जीवनमा यस्तो मोड आउँछ, जहाँ तपाईंले अभिनय मात्र गरेर पुग्दैन। शोषण, दमन र मानवअधिकारजस्ता गम्भीर मुद्दामा चुप लागेर बस्न सकिँदैन। त्यस्तो समयमा आफ्नो पात्रमार्फत आफ्नो धारणा व्यक्त गर्नैपर्छ,’ उनले भनिन्।

कलात्मक र व्यावसायिक दुवै धारका चलचित्रमा सफल अभिनय गरेकी शबानाले आफ्नो फिल्म यात्रालाई सन्तुलित बनाउन सकेकोमा सन्तुष्टि व्यक्त गरिन्। पहिलो चलचित्र ‘अंकुर’ बाटै राष्ट्रिय चलचित्र पुरस्कार जितेकी उनले करिअरको सुरुआती दिनमा कलात्मक चलचित्रमा अभिनय गर्ने अभिनेत्रीले व्यावसायिक चलचित्रमा काम गर्न नसक्ने धारणा सुन्ने गरेको अनुभव सुनाइन्।

तर दुवै धारका चलचित्रमा काम गरेर आफूले फरक पहिचान बनाउन सकेको उनको भनाइ थियो।

‘व्यावसायिक चलचित्रहरूले मलाई आर्थिक रूपमा बलियो बनाउँदा कलात्मक चलचित्रहरूले आत्मिक सन्तुष्टि दिए,’ उनले भनिन्।

फिल्म यात्रासँगै शबानाले आफ्नो व्यक्तिगत जीवन र प्रेम सम्बन्धका प्रसंग पनि सुनाइन्। प्रसिद्ध गीतकार, पटकथाकार तथा कवि जावेद अख्तरकी जीवनसाथी रहेकी शबानालाई स्वस्तिमाले दाम्पत्य सम्बन्धमा एकअर्काको स्वतन्त्रता र व्यक्तिगत अस्तित्व कायम राख्ने विषयमा जिज्ञासा राखेकी थिइन्।

‘हजुरहरू दुई जनाले एकअर्कालाई कसरी ठाउँ दिनुहुन्छ र आफ्नो अस्तित्व कसरी जोगाउनुहुन्छ ?’ स्वस्तिमाको प्रश्न थियो।

जवाफमा शबानाले आफ्नो सम्बन्धको सबैभन्दा बलियो आधार मित्रता भएको बताइन्।

‘हाम्रो सम्बन्धको सबैभन्दा बलियो पक्ष मित्रता हो। उहाँ मेरा सबैभन्दा मिल्ने साथी हुनुहुन्छ र म उहाँकी मिल्ने साथी हुँ। जब तपाईं कसैको साथी बन्नुहुन्छ, त्यहाँ एकअर्कालाई आवश्यक व्यक्तिगत स्वतन्त्रता र ठाउँ आफैँ प्राप्त हुन्छ,’ उनले भनिन्।

कार्यक्रममा स्वस्तिमाले शबानाको पहिलो चलचित्र ‘अंकुर’ देखि पछिल्लो पटक रिलिज भएको चलचित्र ‘रकी और रानी की प्रेम कहानी’ सम्मको फिल्म यात्राका विभिन्न प्रसंग कोट्याएकी थिइन्। अन्तरसंवादमा शबानाले आफ्नो अभिनय यात्रा, सामाजिक दृष्टिकोण र व्यक्तिगत सम्बन्धका अनुभव दर्शकमाझ साझा गरेकी थिइन्।

प्रकाशित: १५ कार्तिक २०८३ २१:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App