"दाजु, ढोग गरेँ। म काठमाडौँबाट रमेश बोल्दै।"
"शुभ आशीर्वाद भाइ। सबै सन्चै?"
"सञ्चै दाजु। अनि, भाउजू, छोरा, छोरी सबै सञ्चै हुनुहुन्छ होला।"
"हो भाइ! सबैलाई ठिक छ। हिजोआज त फोन गर्नै छोड्यौ नि भाइ।"
"फोन त दाजुले पनि गर्नुहुन्न त!"
"काम पर्दा त गरेकै छु नि।"
दुई–चार औपचारिक कुरापछि रमेशको स्वर गम्भीर बन्यो।
"दाजु, छोरीको बिहे भएछ। हामीलाई सम्झनु पनि भएन?" फोनको अर्को छेउ केही बेर मौन रह्यो।
"ह्या... छोरीले आफ्नै निर्णय गरी, भाइ," रामप्रसादको स्वर मधुरो हुँदै गयो, "हामी कसैलाई नसोधीकन आफैँ बिहे गरिछे।"
"तपाईंहरू जानुभएन?"
"म, भाउजू, छोरो... कोही पनि गएनौँ। आफ्नै छोरीले धोका दिएपछि के गर्नु!"
रमेश केही क्षण चुप लाग्यो।
"दाजु, यति कुरा मलाई भनेको भए म आउँथेँ नि। दुःखमा आफ्नै मान्छे काम लाग्छ।"
"तिमीहरूलाई किन दुःख दिनु भन्ने लाग्यो।"
"केको दुःख दाइ! सके म र बुहारी दुवै आउँथ्यौँ, नसके म एकजना भए पनि आउँथेँ नि!" रमेशले सहानुभूति दिँदै सोधे, "अनि छोरीको बिहे कहाँ भयो त?"
"देवघाट मन्दिरमा रे।"
रमेशले फोन कानबाट अलि पर सारेर लाउडस्पिकर अन गरे। अर्को हातले फेसबुक स्क्रिन स्क्रोल गर्दा भाउजूको आइडीमा भर्खरै 'अपलोड' भएको तस्बिर हेरे।
देवघाटको मन्दिर। रातो सारी लगाएकी छोरी। ढाकाको दौरा सुरवालमा सजिएका बेहुला। मयलपोसमा सजिएर वर–वधूको निधारमा टीका लगाइरहेका रामप्रसाद।
छेउमै छड्के तिलहरीमा मुस्कुराएकी भाउजू। बिहेको भिडियो खिँचिरहेको छोरो।
रमेशको औँला केही क्षण स्थिर रह्यो। त्यसपछि उसले तस्बिरको स्क्रिनसट खिच्यो र दाइको ह्वाट्सएपमा पठायो। फोन अझै जोडिएकै थियो। सन्देश पुगेको सङ्केत देखियो। सन्देश ‘सिन’ भयो।
केही सेकेन्डपछि रमेशले मात्र यति भन्यो, "दाजु... भाउजूले पोस्ट गर्नुभएका यी फोटाहरू छोरीको बिहेको हुन्, होइन र?"
उताबाट कुनै शब्द आएन। एक्कासि लामो सास फेरेको मात्र सुनियो। उताबाट एक्कासि फोन काटियो। रमेशले दाजुँसग सम्पर्क गर्ने प्रयास गरे। मोबाइलमा महिलाको सुमधुर आवाज आयो, "तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाइल अहिले स्विचअफ गरिएको छ।"
प्रकाशित: ६ भाद्र २०८३ ०८:३५ शनिबार



