कला/साहित्य

सन्तुष्टि

लघुकथा

उसले राम्ररी पढ्यो र प्रवेशिका परीक्षा उत्तीर्ण गर्‍यो। ऊ सन्तुष्ट भएन। कारण थियो - उसको साथीले पनि उसरी नै पढेर उत्तीर्ण गर्‍यो।

राम्रो कलेज पढ्यो। जागिर पनि राम्रै पायो। ऊ अझै सन्तुष्ट भएन। विडम्बना त के थियो भने उसको साथीले पनि उसले जस्तै राम्रो जागिर भेट्टायो।

उसले धेरै पैसा कमायो र पनि खुसी भएन। कारण उही थियो उसले जति पैसा कमाएको थियो साथीले पनि उत्ति नै कमाउन भ्याएको थियो।

उसलाई कसैले प्याच्च सुनायो, ‘ओई बिचरा तेरो साथीको त जागिर खुस्केछ नि!’

यतिबेला भने बल्ल ऊ सन्तुष्ट देखियो।

प्रकाशित: १७ आश्विन २०८२ ०७:१२ शुक्रबार