‘खै ठिक गरें कि गल्ती थाहा छैन!’ महेश आल्मारी खोल्दा एउटा पत्रको कभरमै लेखेका यी शब्दले ऊ झसंग भयो।
उसको मनमा विभिन्न आशङ्का जन्मिए।
‘यी शब्दहरू त बिनाका हस्तलेखहरू हुन्।’ ऊ फटाफट पत्र खोल्दै आफ्नाबाटै फतफतायो।
आज बिहानै उनीहरू बिच भएको त्यो भनसुन सम्झियो।
‘सधैं मलाई धम्की दिनु पर्दैन। तिमी मनमा जे आउँछ गरे।’ उसले रिसको झोकमा भनेको थियो।
‘उफ किन भने हौँला!’ मनमनै सोचेर आत्मगलानि भयो।
उसले पत्र पढ्न थाल्यो।
‘महेश, म दिन दिनैको झगडाबाट आजित भएर तिमी र तिम्रो घरबाट धेरै टाढा जाँदै छु। कृपया मलाई क्षमा गरे। मैले तिमीले भनेको जस्तै गर्न सकिनँ। तिमीले सोचेको जस्तो मैले चाहेर पनि त हुन सक्दैनथ्यो।
मैले जन्माएको छोरी, मेरो प्राण हो, माया त तिमीलाई पनि होला तर तिमी त छोराका लागि मरिहत्य गर्दै दिनदिनै छोरी र मलाई धारे हात लाउँथ्यो। अब तिमीले कमाएर मलाई र मेरोछोरीलाई पाल्नु पर्ने छैन। हामीलाई खोज्ने भूल नगर्नु है।’
मैले आफ्ना र छोरीका सबै समान लिएर गएकी छु तर यो आल्मारीमा तिमीले मलाई दिएका गहना र चुरा छोरीले लगाएका स्कुलका ड्रेस छन्। यिनैले तिमीलाई हाम्रो सम्झना गराइरहने छन्।
उही छोरा अन्माउन नसकेकी बिना।’
यसरी बिट मारिएको पत्र बिनाले लेखेको हो।
‘बिना, यो के गर्याै तिमीले! मलाई छोरा होइन तिमी र मेरो छोरी फर्किए पुग्छ।’ महेशले चिच्याएर भन्यो। घरको भित्तामा ठोकिएर उसैको आवाज कानमा गुञ्जियो।
प्रकाशित: १६ जेष्ठ २०८३ ११:४७ शनिबार