कला/साहित्य

ललित मोदीको बायोपिकमा देखिदै छन् रणवीर ?

इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीको जीवनमा आधारित चलचित्र बन्ने भएको छ। यसमा ललितको भूमिकामा अभिनेता रणवीर सिंह देखिने चर्चा छ।

ललितले केही वर्षअघि अभिनेता रणवीर सिंह आफूलाई भेट्न लन्डन आएको र बायोपिकमा ललित मोदीको भूमिका निभाउने इच्छा व्यक्त गरेको पनि बताएका थिए। यद्यपि, चलचित्रको कलाकार टोली र निर्देशकले अहिलेसम्म आधिकारिक घोषणा गरिएको छैन।

यो चलचित्रको पटकथा पूर्व टेलिभिजन कार्यकारी तथा निर्माता स्नेहा रजनीले लेखिरहेकी छन्। यसमा ललितको प्रारम्भिक जीवन, आईपीएलको सुरुवात, उनको सफलता सँगै पछि जोडिएका विवादहरूलाई समेटिनेछ।

ललित करिब १६ वर्षदेखि लन्डनमा बस्दै आएका छन्। निर्माताहरूले यो बायोपिकमा ललितसँग जोडिएका हेडलाइन र विवादमा मात्रै केन्द्रित नभई उनको निजी जीवन तथा करियरका विभिन्न पक्षलाई पनि देखाउन चाहेका उल्लेख छ। यसको लेखन तथा विकासको काम अहिले जारी छ।  

ललित मोदीको नाम भारतीय क्रिकेट, व्यापार र मनोरञ्जन क्षेत्रलाई एकसाथ जोड्ने व्यक्तिका रूपमा चिनिन्छ।  

दिल्लीको ठूलो व्यवसायिक परिवारमा जन्मिएका ललित मोदीले अमेरिकाबाट इन्जिनियरिङको पढाइ पूरा गरेका थिए। त्यसपछि उनी भारत फर्किए। भारतमा क्रिकेटप्रतिको ठूलो आकर्षण देखेपछि उनले अमेरिकाका खेल लिगहरूबाट प्रेरणा लिएर भारतमा आईपीएल सुरु गर्ने सोच बनाएको बताइन्छ।

प्रकाशित: ३ आश्विन २०८३ १४:०५ शनिबार