कला/साहित्य

राजेश हमालको अपिल- सुझबुझपूर्ण मतदान गर्नुस्

महानायक राजेश हमालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सुझबुझपूर्ण तवरले मतदान गर्न आम मतदातालाई आग्रह गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले विश्व राजनीतिको अस्थिरता र नेपालको भूराजनीतिक संवेदनशीलतालाई मध्यनजर गर्दै विवेक प्रयोग गर्न अपिल गरेका हुन्।

हमालले विश्व अहिले अनिश्चितता र अस्थिरताको भुमरीबाट गुज्रिरहेको प्रसंग सुनाए। पूर्वी युरोप, गाजा र इरानमा भइरहेका द्वन्द्वले विश्वलाई नै हलचल गराएको प्रसंग कोट्याउँदै उनले नेपाल जस्तो आर्थिक र राजनीतिक रूपमा कमजोर राष्ट्रका लागि यो अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको औंल्याए।

‘अहिलेको अवस्थामा राजनीतिक स्थिरता र एकताबद्धता हाम्रो आवश्यकता मात्र होइन, अस्तित्व रक्षाको सवाल बनेको छ,’ हमालले भनेका छन्।

हमालले भदौ २३ र २४ गतेका घटनाले सिर्जना गरेको परिस्थितिका बीच मुलुक निर्वाचनमा जान लागेको स्मरण गराए। राष्ट्रिय सम्पदाको विध्वंस र त्यसको जवाफदेहिता अझै प्रस्ट नभएको भन्दै उनले चिन्ता व्यक्त गरे।

अहिलेको चुनाव मतदाताका लागि निकै चुनौतीपूर्ण रहेको उनको विश्लेषण छ। उनले दलहरूप्रति टिप्पणी गर्दै भने, ‘पुराना तर राजनीतिक रूपमा परिपक्व दलहरूको छवि धमिलिएको छ भने नयाँ शक्ति भनाउँदाहरूमा राजनीतिक अपरिपक्वता र दूरदर्शिताको अभाव छ।’

अन्तर्राष्ट्रिय राजनीतिमा अहिले न्याय र सहकार्यभन्दा शक्तिको खेल हाबी भएको हमालको ठहर छ। नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था डगमगाएको अवस्थामा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि आँच आउन सक्ने खतरा उनले औंल्याए।

‘हामीले आज गर्ने छनोटले भोलि कसलाई शक्ति हस्तान्तरण गर्दैछौँ भन्ने तय गर्छ,’ उनले प्रश्न गरे, ‘ती व्यक्तिले नेपालको स्वतन्त्रता र सार्वभौमिकतालाई कसरी जोगाउँछन् भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो।’

महानायक हमालले कुनै पनि दबाब, प्रभाव वा बहकाउमा नपरी राष्ट्रको संवेदनशीलता बुझेर मतदान गर्न अनुरोध गरेका छन्। ‘असाध्यै सचेत भएर, सुझबुझ पुर्‍याएर मात्र आफ्नो मताधिकार प्रयोग गर्नुहोला,’ उनले भनेका छन्।

प्रकाशित: २० फाल्गुन २०८२ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App