जब ढाकिन्छ त्यो निलो पछ्यौरी
ओढेको आकाश
काला बादलका झुप्पाहरूले
जहाँ बादलहरू रमाउँदै
निस्फिक्री भई
मनमौजी गर्छन्
कहिले
गर्जन्छन्
नाच्छन्
दौडिन्छन्
घरी यता
घरी उता बरालिन्छन्
जब थाक्छन्
बोक्दा बोक्दै
गह्राैं पानीको भारी
अनि ओइर्याउँछन्
दरर्र-दरर्र
अमृतरूपी वर्षा
यो जगतै जलमग्न हुने गरी
त्यही झरी त हो
बीज उमार्ने
असारमा गाडेको
र साउनमा फालेको जगाउने
र माटोबाट मिठो
बासना निकाल्दै
बीजहरू प्रस्फुटन गराउने
खोई कसले
लेख्न सक्यो
झरीले लेख्ने गीत?
खोई कुन प्रख्यात गायकले
गाउन सक्यो
झरीलेझैँ गीत?
खोई कसले भर्न सक्यो
झरीले झैं सुरताल र सङ्गीत?
घरी घोप्ट्याउँछ सिङ्गै आरी
घरि सिमसिम
घरी दरर्र
विभिन्न साइज र रूपका जलधाराहरू
बोटबिरुवादेखि सजीव निर्जीव
सबैका लागि उत्तिकै
बराबर भागमा पर्ने गरी
र पुग्ने गरी धीत
गाइरहन्छ झरीले गीत!
जति सुन्यो
सुनौँसुनौँ लाग्ने
नाचौनाचौँ लाग्ने
जति भिज्यो
भिजौँ भिजौँ लाग्ने
लगाएर उसैसँग मित
जगाएर अजम्बरी प्रित
सुनेर झरीको गीत!
- कल्पना मरासिनी
प्रकाशित: ११ आश्विन २०८३ ०९:१६ आइतबार
-600x400.jpg)


