कला/साहित्य

भारतीय युवा पुस्ता सिनेमाबाट टाढियो भन्दै आर माधवनले गरे चिन्ता

बलिउड अभिनेता आर. माधवनले युवा पुस्ता भारतीय सिनेमाबाट क्रमशः टाढिँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले अहिलेका युवाहरू, विशेषगरी आफ्ना २० वर्षीय छोरा वेदान्तको पुस्ता, भारतीय चलचित्रभन्दा जापानी एनिमे र कोरियन सामग्रीतर्फ बढी आकर्षित भइरहेको बताएका छन्।

आगामी फिल्मको प्रचारका क्रममा सिनेमा एक्सप्रेससँग कुरा गर्दै माधवनले भारतीय फिल्म उद्योगले दर्शकलाई फिल्म उद्योगसँग मात्र होइन, कथा प्रस्तुत गर्ने फरक शैलीसँग पनि गुमाइरहेको बताए।

उनले भने, मेरो पुस्ताले दिएको सम्मान अझै पाएको छु, तर अहिलेको युवा पुस्ता भारतीय सिनेमासँग भावनात्मक रूपमा जोडिएको देखिँदैन। उनीहरू जापानी एनिमे र कोरियन कन्टेन्ट हेर्न रुचाउँछन्। उनीहरू तमिल, हिन्दी वा अन्य भारतीय फिल्म हेर्न थिएटरसम्म जान पनि खासै इच्छुक छैनन्।

माधवनका अनुसार यही प्रवृत्ति भारतीय फिल्म उद्योगका लागि गम्भीर चुनौती बन्न सक्छ।

उनले आफूले चाहेको भए परम्परागत व्यावसायिक फिल्महरू गरेर सफलता हासिल गर्न सक्ने भए पनि, अभिनयको गहिराइ देखाउने चुनौतीपूर्ण भूमिकालाई प्राथमिकता दिएको बताए। 

आर माधवन अब छिट्टै फिल्म ‘जिडियन’ मा देखिनेछन्। यो फिल्म आविष्कारक तथा उद्योगपतिको जीवनमा आधारित रहेको छ।  

प्रकाशित: २ श्रावण २०८३ १५:४८ शनिबार