भाषा संवादको माध्यम मात्र होइन, सभ्यता, संस्कृति र पहिचानको जीवन्त धरोहर पनि हो। यही भाव आत्मसात गर्दै वर्तमान कविता समूह र रातोघर फाउन्डेसनको संयुक्त आयोजनामा भाषा दिवसको अवसर पारेर मातृभाषा कविता गोष्ठी भएकाे छ।
कार्यक्रममा नेपाली, नेपाल भाषा र तामाङ भाषासहित विभिन्न मातृभाषाका कविहरूले आफ्ना सिर्जनामार्फत समाज, समय, संस्कृति र मानवीय संवेदनाका विविध आयाम प्रस्तुत गरे।
कार्यक्रमको प्रारम्भ हालै दिवंगत भएका नेपाल भाषाका कवि, निबन्धकार, पत्रकार तथा भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर तथा प्रसिद्ध साहित्यकार पारिजातको स्मरण गर्दै गरिएको थियो।
कार्यक्रममा बागमती प्रदेशभित्र बोलिने मातृभाषामध्ये नेपालीसँगै नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिइएको प्रसंग उल्लेख गर्दै सबै भाषाको संरक्षण, प्रवर्द्धन र सम्मान आवश्यक रहेको कुरामा जोड दिइयो।
कवि राजेन्द्र शलभले “किताब र नाता” शीर्षकको कविता वाचन गर्दै मानिस र किताबको संवेदनशील सम्बन्धलाई सरल तर गहिरो ढंगले प्रस्तुत गरे।
भीष्म उप्रेतीको “आगो” कविताले समसामयिक समयको बेचैनी र ताप मुखरित गरेको थियो। अनुवादक रश्मि शर्माले आफूले हिन्दीमा अनुवाद गरेको पुस्तक उजालेके सँग बाट स्नेह सायमीको “कठपुतली” तथा राजेन्द्र शलभको “माँ” शीर्षकका कविता वाचन गरिन्।
स्नेह सायमीले नेपाल भाषामा “आश याय्” कविता सुनाउँदै त्यसको नेपाली रूपान्तरण “आशा गरौं” मार्फत राजनीतिमाथि तीखो व्यङ्ग्य प्रहार गरेका थिए। लक्ष्मी मालीले “व दुकाय त्योम्हः मखु” कविता नेपाल भाषा र नेपाली अनुवादसहित प्रस्तुत गर्दै मातृभाषाको सौन्दर्य उजागर गरिन्।
त्यसैगरी रमी प्रिया को “सिन्हाज्या म्ये” ले उपत्यकाको जमिनमाथि भइरहेको अतिक्रमणप्रति गहिरो भाव व्यक्त गरेकाे थियाे। प्रोल्लास सिन्धुलीयको “शहरको वृद्धालय” ले वृद्धावस्था, एक्लोपन र परिवारको मनोविज्ञान मिहीन ढंगले केलायो भने प्रमोद स्नेहीको “हातमा मलुवा” ले वर्तमान समाजको उदाङ्गो यथार्थ प्रस्तुत गरेकाे थियाे।
विश्व सिग्देलले “वृक्षरेखा पूर्णविराम थियो” शीर्षकको पर्यावरणीय कविता वाचन गर्दै जलवायु परिवर्तनले निम्त्याइरहेको संकट उजागर गरे।
त्यस्तै ईश्वर थोकरले तामाङ भाषामा “राला मिनरि” कविता प्रस्तुत गरेका थिए भने अनिता लामाले नेपाल भाषामा “अथें अथें” कविता वाचन गर्दै नेवा संस्कृतिको सुन्दर सन्देश प्रवाह गरेकी थिइन्।
सुरेश गाउँलेले “मुकुण्डो” कविता वाचन गरे। सुनिता खनालको “पातमा प्रेम” कोमल प्रेमभावले भरिएको थियो भने केवल बिनाबी को “जिन्दगीले पिएका जिन्दगीहरू” ले वर्तमान जीवनको कठोर यथार्थता उजागर गरेकाे थियाे।
कार्यक्रमको सञ्चालन रातोघर फाउन्डेसनकी महासचिव अनिता लामाले आत्मीय र सजीव शैलीमा गरेकी थिइन्। उनले विभिन्न मातृभाषाका कविताहरू सुन्दर ढंगले जोड्दै कार्यक्रम अझ भावपूर्ण बनाएकी थिइन्।
कार्यक्रमको अन्त्यमा वरिष्ठ कवि स्नेह सायमीले छोटो समयमै निम्तो स्वीकारी कविता वाचनमा सहभागी भएका सम्पूर्ण कविप्रति आभार व्यक्त गर्दै प्रतिरोध र प्रतिपक्षको चेतना जीवित राख्न यस्ता कविता गोष्ठीहरू आवश्यक रहेको बताए।
उनले पञ्चायतकालमा हुने साहित्य सन्ध्या र प्रतिभा प्रवाहजस्ता साहित्यिक गतिविधि सम्झिंदै साहित्यिक ऊर्जाको निरन्तरतामाथि जोड दिए। साथै उनले सुरेश किरण मानन्धरले नेपालका मातृभाषाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको भावपूर्ण स्मरण गरे। मातृभाषाका विविध स्वरले सजिएको उक्त कविता गोष्ठीले भाषा शब्द मात्र होइन, पहिचान, स्मृति र आत्माको उज्यालो हो भन्ने अनुभूति उपस्थित सबैलाई गराएको थियो।
प्रकाशित: २५ वैशाख २०८३ १३:१६ शुक्रबार



