नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्तिभरण (पेन्सन) वितरण सुरु गरेको छ।
पत्रकारिता पेसा मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासङ्घले मासिक तीन हजार रुपैयाँकाे दरले ज्येष्ठ पत्रकार पेन्सन वितरण सुरु गरेको हो।
पत्रकार महासङ्घ खोटाङले सुरु गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्य परेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७२ वर्षीय पत्रकार आचार्यलाई दसैँ/तिहार तथा छठ पर्वका अवसर पारेर पत्रकार महासङ्घ खोटाङले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा तीन महिनाको पेन्सन उपलब्ध गराइएको हो।
पत्रकार आचार्य अहिले पनि क्रियाशील पत्रकार हुन्। पाँच दशकदेखि पत्रकारिता पेसामा क्रियाशील वरिष्ठ पत्रकार आचार्यलाई दर्जन बढी सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले सम्मान तथा पुरस्कृत गरिसकेको छ।
ज्येष्ठ पत्रकारको हित संरक्षण, आत्मसम्मान अभिवृद्धि, सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव, योगदान र समपर्णको उच्च कदर गर्न जिल्लामा ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण (पेन्सन) कोष’ स्थापना गरेर वितरण सुरु गरिएको पत्रकार महासङ्घका अध्यक्ष हरिबोल आचार्यले बताए।
“पत्रकारिता पेसा मर्यादित, सुरक्षित, सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउन ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गरिएको छ। यसका लागि सुरुमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्कमा १० लाख रुपैयाँ जम्मा गरेका छौँ”, उनले भने, “पेन्सन कोषबाट ६५ वर्ष पूरा गरेका पत्रकारलाई हरेक महिना मासिक तीन हजार रुपैयाँका दरले पेन्सन प्रदान गर्छौं। जुन व्यक्ति २५ वर्षदेखि निरन्तर जिल्लामै रहेर पत्रकारिता पेसामा आबद्ध भएको हुनुपर्नेछ।”
पत्रकार पेन्सन कोष नेपाल पत्रकार महासङ्घ खोटाङको मातहतमा रहने गरी छुट्टै कोष स्थापना गरिएको छ। पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षामा सहयोग पुर्याउन नेपाल पत्रकार महासङ्घ खोटाङले ज्येष्ठ पत्रकार पेन्सन कोष स्थापना गर्ने निर्णय गरिएको सचिव राजकुमार भट्टराई ‘सरगम’ ले बताए।
पेन्सन कोषबाट प्रधान सम्पादक, सम्पादक, संवाददाता, समाचार वाचक, फोटो पत्रकार, व्यङ्ग्य चित्रकार लगायतले सुविधा लिनसक्ने कार्यविधिमा उल्लेख छ। पेन्सन कोषको सुविधा लिने ज्येष्ठ पत्रकार कुनै राजनीतिक दल वा अन्य पेसागत संस्थाको कार्यकारी पदमा नरहेको हुनुपर्नेछ।
सूचना तथा प्रसारण विभाग वा प्रेस काउन्सिल नेपालको कालोसूचीमा नपरेको तथा नैतिक पतन देखिने फौजदारी अपराधमा अदालतबाट दोषी ठहर भएको व्यक्तिलाई समेत सुविधा उपलब्ध नगराइने पत्रकार महासङ्घको कार्यविधिमा उल्लेख छ।
पत्रकार महासङ्घले स्थापना गरेको पेन्सन कोषले पत्रकारिता पेसामा लामो समयदेखि योगदान दिएका पत्रकारको सम्मान तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताए।
पेन्सन कोषलाई थप व्यवस्थित गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै विभिन्न दातृ निकाय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग लिइने पत्रकार महासङ्घले जनाएको छ।
विसं २०६१ मा स्थापना भएको नेपाल पत्रकार महासङ्घ खोटाङमा हाल ३१ साधारण सदस्य छन्।
पत्रकार महासङ्घ खोटाङ शाखाको आफ्नै पक्की कार्यालय भवन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको तीन करोड रुपैयाँ बजेटमा साढे दुईतले पक्की कार्यालय भवन निर्माणको काम गत चैतमा सुरु गरिएको हो।
मोहन एन्ड बेँसीगाउँ–रूपाकोट–सरस्वती जेभी खोटाङले ठेक्का प्रणालीमार्फत निर्माण सुरु गरेको पत्रकार महासङ्घको भवन २०८४ पुस २३ गतेभित्र भवन निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।
पत्रकार महासङ्घको आफ्नै कार्यालय भवन नहुँदा अहिले दिक्तेलबजारस्थित भवनगैरामा व्यक्तिको घर भाडामा लिएर कार्यसञ्चालन गर्दै आएको छ।
पत्रकार महासङ्घका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित किरातचोक नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए। साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले विसं २०६३ मा निःशुल्क जमिन उपलब्ध गराएका हुन्।
प्रकाशित: २६ आश्विन २०८३ १२:४३ सोमबार



