ब्राजिलियन रंगमञ्च, चलचित्र र भ्वाइस आर्टिस्ट टोनी जर्मनोको ५५ वर्षको उमेरमा निधन भएको छ। उनी निकलोडियनको ‘निकी, रिकी, डिकी एण्ड डन’ र नेटफ्लिक्सको ‘गो, डग, गो’ जस्ता एनिमेटेड शृङ्खलाहरूमा आफ्नो आवाजका लागि परिचित थिए।
उनले भर्खरै साओ पाउलोमा नयाँ घर किनेपछि छानामा गरिएको मर्मतसम्भारको जाँच गरिरहेको बेला चिप्लिएर लडेको बताइएको छ। उनका सूचना अधिकारीले एक विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेका छन्।
‘हामी नोभेम्बर २६ बुधबार बिहान अभिनेता तथा भ्वाइस आर्टिस्ट टोनी जर्मनोको निधनको पुष्टि गर्दै गहिरो दुःख व्यक्त गर्दछौं। टोनी आफ्नो निवासमा लडेका थिए र दुर्भाग्यवश उनी बाच्न सकेनन्,’ उनले थपेका छन्, ‘टोनीले समर्पण, उदारता र विशाल प्रतिभाको विरासत छोडेका छन्, जसले उनीसँग काम गर्ने सौभाग्य पाएका सबैलाई छोयो। उनको अनुपस्थिति गहिरो रूपमा महसुस गरिनेछ।’
उनी ‘द फ्यान्टम अफ द ओपेरा’ ,‘ मिस साइगन’, ‘जेकिल एण्ड हाइड’ र ‘फिड्लर अन द रूफ’ जस्ता स्टेज निर्माणहरूमा देखिएका थिए। जर्मनोको श्रद्धाञ्जली सभा नोभेम्बर २७, बिहीबार भर्जेम ग्रान्डे पालिस्टाको बोस्के दा पाज चिहानमा आयोजना गरिएको थियो।
प्रकाशित: १३ मंसिर २०८२ १२:३३ शनिबार



