कला/साहित्य

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

नेपाली ललितकला क्षेत्रको उत्सव मानिने ‘राष्ट्रिय ललितकला प्रदर्शनी, निर्धारित मितिमा नहुने भएको छ। यही जेठ १५ गतेदेखि गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुने मिति तय भएको प्रदर्शनी अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको हो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सूचना जारी गरी भनेको छ, 'पूर्वसूचनाअनुसार २०८३ जेठ १५ गतेदेखि सञ्चालन हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८३’ विशेष कारणवश हाललाई स्थगित गरिएको छ।'

प्रतिष्ठानले प्रदर्शनी हुने मिति तय भएपछि सूचना प्रकाशित गरिने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध गर्दै तोकिएको समयमा प्रदर्शनी सञ्चालन हुन नसकेकोमा क्षमा पनि मागेको छ। प्रदर्शनीको सम्मुखमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहित सबै प्राज्ञपरिषद सदस्यको पद खाली भएको र नयाँ नियुक्ति नभएकाले प्रदर्शनी रोकिएको प्रतिष्ठानका प्रशासन प्रशासन प्रमुख कमलमणि काफ्लेले जानकारी दिए।

सरकारले पदपूर्तिका लागि हालैमात्रै रोष्टर सूचीमा समावेश आवेदकको सूची सार्वजनिक गरेको छ। जसमा प्रतिष्ठानका लागि १६६ जनाको नाम समावेश भएको छ। ललितकलाको इतिहास बोकेको राष्ट्रिय कला प्रदर्शनीमा सातै प्रदेशमा आयोजना गरिएको प्रादेशिक कला प्रदर्शनीबाट छनोट भएका उत्कृष्ट कलाकृतिहरू समावेश हुन्थे।

त्यही बीचबाट दर्जनौँ कलाकृतिहरू पुरस्कृति हुने गरेको थियो भने कलामार्फत महत्वपूर्ण योगदान दिएका दुई जना अग्रज कलाकारलाई अरनिको सम्मान दिने गरिएको थियो। यस प्रदर्शनीमा लुकेर रहेका मौलिक, लोक तथा रैथाने कलाहरू पनि समावेश हुने गरेकाले कला संस्कृति र पहिचान प्रवर्द्धन हुँदै आएको थियो।

यसअघि केही तयारीका काम भइसकेको थियो। जसअनुसार प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न भइसकेको छ। राष्ट्रिय प्रदर्शनीको तयारी सुरु हुनेबित्तिकै सबै पदाधिकारी पदमुक्त भएपछि काम अघि बढ्न नसकेको हो। नेपालमा २०२२ सालमा स्थापना भएको नेपाल ललितकला संस्थाले नै ललितकला प्रदर्शनीसहित सम्मान पुरस्कारको सुरुआत गरेको थियो। २०६६ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनापछि उक्त प्रदर्शनी नियमित रूपमा हुँदै आएको थियो।

प्रकाशित: १४ जेष्ठ २०८३ ०८:०२ बिहीबार