१८ वर्षीय मोनालिसा भोंसलेले निर्देशक सरोज मिश्राविरुद्ध गम्भीर आरोप लगाएकी छन्।
उनले फिल्म ‘द डायरी अफ मणिपुर’ को छायांकनका क्रममा आफूलाई पटक–पटक गलत तरिकाले छोएको आरोप लगाएकी हुन्।
केरलको कोचीमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्देशक मिश्रा राम्रो व्यक्ति नभएको र आफूलाई करिब १० पटकसम्म अनुचित व्यवहार गरेको बताइन्।
आफूले यो कुरा परिवारलाई बताए पनि परिवारबाट साथ नपाएको मोनालिसाको गुनासो छ। यस्तै, आफू र श्रीमान् फरमान खानलाई ज्यान मार्ने धम्की आइरहेको बताउँदै उनले न्याय माग गरेकी छन्।
उनले केन्द्र सरकारसँगै केरल र मध्यप्रदेश सरकारसँग सुरक्षाको माग गरेकी छन्।
उनले निर्देशकले आफ्नो वैवाहिक सम्बन्धबारे गलत प्रचार गरिरहेको आरोप समेत लगाएकी छन्। विशेषगरी, आफ्नो विवाहलाई ‘लभ जिहाद’ भनेर समाजमा तनाव फैलाउने प्रयास गरिएको उनको भनाइ छ।
मोनालिसाले आफ्ना श्रीमान् विरुद्ध झुटा आरोप नलगाउन सरकारसँग अपिल गरेकी छन्। उनका अनुसार उनीहरूले हिन्दु परम्परा अनुसार मन्दिरमा विवाह गरेका हुन्।
यस्तै, उनका श्रीमान् फरमान खानले पनि आफूलाई आतंकवादी भनेर आरोप लगाइएको बताएका छन्। उनले आफ्नो धर्मप्रति सम्मान राख्दै आफू श्री नारायन गुरुको शिक्षामा विश्वास गर्ने बताएका छन्।
मोनालिसाले सुरक्षा नपाए आफू र उनका श्रीमान् गम्भीर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएकी छन्।
२०२५ को प्रयागराजमा आयोजित कुम्भ मेलामा रुद्राक्ष माला बेच्दै गरेको भिडियो भाइरल भएपछि उनी चर्चामा आएकी थिइन्। उनी आफ्नो नीलो आँखा र सुन्दरताका कारण रातारात सामाजिक सञ्जालमा भाइरल भएकी थिइन्। उनले ११ मार्च २०२६ मा केरलमा फरमान खानसँग विवाह गरेकी थिइन्।
प्रकाशित: ११ चैत्र २०८२ १७:०० बुधबार



