कला/साहित्य

गीतकार नानुमैया दाहालकाे ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक

खोटाङमा जन्मिएर हाल विराटनगरमा बसोबास गर्दै आएकी स्रष्टा नानुमैया दाहालको नयाँ गीत ‘हरेक दिन जिन्दगीको’ सार्वजनिक भएको छ।

वरिष्ठ सङ्गीतकार शान्तिराम राईको सङ्गीत र स्थापित गायक उदय सोताङको स्वरमा सजिएको यो गीतले जीवनका दैनिक पीडा, अनपेक्षित अवरोध र विडम्बना मार्मिक बिम्बमार्फत उतारेको छ।

बाटो छेक्ने पहिरो, सपना धुमिल बनाउने दृश्य र फूल रोप्दा काँडा फुल्ने जस्ता बिम्बहरूले मानवीय सङ्घर्षको गहिराइ छर्लङ्ग पारेका छन्।

त्यसैगरी, मन्दिरमा देउता नै रुने र चौतारी ढल्न खोज्ने बिम्बहरूमार्फत गीतले सहन नसकिने पीडाको अत्यन्त संवेदनशील चित्रण गरेको छ।

​करिब डेढ दशकदेखि सिर्जना यात्रामा सक्रिय दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसङ्ग्रह प्रकाशित छ भने एउटा कवितासङ्ग्रहको पाण्डुलिपि तयारी अवस्थामा रहेको छ।

मूलतः काव्य विधामा कलम चलाउने उनका नियात्रा तथा वैचारिक लेख लगायतका फुटकर रचनाहरू पनि समयसमयमा प्रकाशित हुँदै आएका छन्।

साहित्यलाई सामाजिक रूपान्तरणको माध्यम मान्ने दाहालले राष्ट्रिय कविता महोत्सवमा द्वितीय स्थान हासिल गर्नुका साथै नोबेल साकोस साहित्य सम्मान प्राप्त गरिसकेकी छन्। उनी पल्लव साहित्य प्रतिष्ठान, चितवनद्वारा प्रदान गरिने मीना-रत्न साहित्य पुरस्कार तथा पल्लव साहित्य सम्मानबाट समेत सम्मानित हुँदै छिन्।

प्रकाशित: ५ मंसिर २०८३ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App