कला/साहित्य

मुक्ति

लघुकथा

‘‘द्रौपदी, कुण्ठा र हीनताबोधले जीवन मरेतुल्य हुन्छ। तैंले कुण्ठा र हीनताबोधबाट बाहिर आउनै पर्छ।” कुन्ताले द्रौपदीलाई सचेत गराई।

‘‘हेर न कुन्ता, जीवन दुःखको समुद्र रहेछ। सोचेअनुसार जीवन चल्न सकेन। जीवनको हिसाबकिताब कोसँग खोज्ने? म अन्योलको भुमरीमा फसिरहेकी छु।” द्रौपदीले निराशा पाेखिन्।

द्रौपदी गर्भे टुहुरी हो। बाबुको स्नेहबाट वञ्चित द्रौपदी १५ वर्षकी हुँदा आमा पक्षघातले थलिइन्। भाइबहिनी सानै थिए। द्रौपदीको थाप्लामा पारिवारिक बोझ आइलाग्यो। भाइबहिनीको स्याहारसुसार, आमाको रेखदेख, घरव्यवहार र पढाइको चाँजोपाँजो मिलाउँदैमा द्रौपदीले विवाहबारे सोच्ने फुर्सदै पाइनँ।

उमेरले ५१ टेकेकी द्रौपदी आमाको मृत्युपछि विक्षिप्त बनेकी छे। आमा गुमाउँदाकाे पीडा उसले किञ्चित भुल्न सकेकी छैन। घरमा एक्लो जीवन बिताइरहेकी द्रौपदीमा मानसिक समस्या देखिएको छ।

कुन्ता द्रौपदीकी मिल्ने साथी हो। द्रौपदीको बिग्रिएको स्वास्थ्य अवस्थाप्रति कुन्ता चिन्तित छे। द्रौपदीलाई सान्त्वना दिन दैनिक एकपटक आइरहेकी छे।

द्रौपदी कुन्तासँग रुँदै बाँच्नुको विकल्प खोज भन्छे। कुन्ता मलाई मर्न दे। मेरो बाटो नछेक। म सांसारिक मोहबाट टाढा भैसकें। म मुक्ति चाहन्छु। मलाई मुक्तिको मार्ग देखाइदे। मेरो जीवन निस्सार भैसक्यो भन्दै कुन्तालाई अँगालो हाल्छे।

कुन्ता अवाक् बन्छे र सोच्छे के मृत्यु नै मुक्तिको विकल्प हो र?

प्रकाशित: ८ कार्तिक २०८३ ११:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App