कला/साहित्य

कर्णालीका मुक्तककार खत्रीलाई मकवानपुरमा सम्मान

झरना साहित्यिक परिवार (झसाप) ले आफ्नो ३२५ औँ साहित्यिक शृङ्खलाका अवसरमा ३२औँ मुक्तक साँझ सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा रुकुम पश्चिमका मुक्तककार कर्णबहादुर खत्रीलाई साहित्यकार रमेशमोहन अधिकारीद्वारा आफ्ना आमाबुबाका स्मृतिमा स्थापित 'शिव-सावित्री अधिकारी मुक्तक सम्मान-२०८२' नगद राशि १५,५५५ रूपैयासहित अर्पिएकाे छ।

यसै अवसरमा मकवनपुर जिल्लाका विभिन्न विद्यालयका ९-१२ कक्षाका विद्यार्थीहरूमध्ये उत्कृष्ट ९ जनालाई आआफ्नै मुक्तक वाचन गर्न लगाई प्रतियोगिता सञ्चालन गरिएकामा बुद्ध मावि हात्तीसुँडेकी छात्रा सुमिना दाहाल सर्वोत्कृष्ट भएकी थिइन्। उनलाई नगद राशि ५ हजार ५५५/- रूपैयासहित 'शिव-सावित्री अधिकारी स्मृति मुक्तक नवप्रतिभा पुरस्कार' अर्पिएकाे छ।

हेटौडा क्याम्पसमा सम्पन्न उक्त कार्यक्रममा मकवानपुरका मुक्तककारहरूमध्ये एकल मुक्तक कृति प्रकाशन गरेका १३ मुक्तककारमध्ये देवराज खरेल, अनिश न्यौपाने 'भावना',  डिबी बर्तौला,  राम कार्की,  दीपक गौतम,  बिर्खे अञ्जान,  राजबाबु पहाडी,  दिनेशकुमार शर्मा, एस. आर. मञ्जरी ओली, सुमी थिङसहितका मुक्तककारहरूलाई कृतिगत कदरपत्रबाट सम्मान अर्पिएको थियो।

सबै सम्मानित मुक्तककारहरूले आआफ्ना मुक्तक वाचन गरेका थिए। उक्त कार्यक्रममा अतिथिहरूको चोटिलो र जोसिलो मुक्तकले रौनक थपेको थियो।झसापका सचिव नीलहरि ढुङ्गेलकाे अनुसार सहसचिव अमृता लामिछानेले सञ्चालन, उपाध्यक्ष कृष्ण घतानीले स्वागत मन्तव्य तथा अध्यक्ष गायत्री रूपाखेतीले सभाध्यक्षता गरेका थिए। उक्त कार्यक्रमको प्रमुख आतिथ्य मुक्तककार रमेश समर्थनले गरेका थिए। कार्यक्रम हेटौँडा क्याम्पसको सभाकक्षमा भएको थियो।

प्रकाशित: २३ चैत्र २०८२ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App