चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’ को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ।
यो टिजरलाई युट्युबमा मात्र १० लाख भ्यूज मिलेको छ। दर्शकहरूको उत्साहजनक प्रतिक्रियासहित फिल्मको टिजरलाई लोभलाग्दो भ्यूज मिलेको हो।
यता सामाजिक सञ्जाल फेसबुक र टिकटकमा मात्र यसको टिजरलाई १ करोडभन्दा बढी पटक हेरिएको छ।
टिजरमा समावेश नायिकाद्वय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य भुसको आगोझैं सामाजिक सञ्जालमा फैलिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा जेठानी-देउरानीको झगडा, दाजु-भाइको कलह र आमाको छटपटी प्रस्तुत गरिएको छ। असाेज २ रिलिज हुन लागेको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण फिल्म वृत्तमा हुन थालेको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको यो फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सहनिर्माताको रूपमा छन्।
विष्णु घिमिरे ‘कल्पित’ को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ। ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको फिल्ममा परिच्छेद सेनको पटकथा र संवाद छ।
गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको यो फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाइ गर्ने अपेक्षा गरिएको छ।
यस पटक पारिवारिक कलह र आमाको महत्त्व फिल्मको पर्दामा निर्देशक देउजाले उठाएका छन्। फिल्मको टिजरमा समावेश आँचल र केकीको झगडा सार्वधिक लोकप्रिय बनेको छ।
प्रकाशित: २५ श्रावण २०८३ १३:३० सोमबार



