एकाविहानै आँगनको पर्खालमा चढेर पखेटा फर्फराउँदै भाले बास्यो, ‘कुखुरी.. काँ ssss !’
यो सब टुलुटुलु हेरिरहेकी सानी नातिनीले हजुर्वातिर फर्केर सोधी, ‘हजुर्बा! यो भालेले के भनेको?’
‘भाले बासेको नि, कुखुरी काँ गरेर।’ हुजुर्वाले बालकौतुहल बुझाउने प्रयास गरे।
‘किन बासेको त बा तेसरी?’ बालहठ जिज्ञासा बनेर हजुर्वाको अगाडि फेरि तेर्सियो।
‘दुनियाँलाई जगाएको, समयको बोध गराएको, दुनियाँलाई सचेत गराएको नि नानी!’
हजुरबाले नातिनीको जिज्ञासा थामथुम पार्ने प्रयास गरे।
यतिले उसको बालहठ चुप लागेन क्यार, झन् उत्सुक हुँदै हजुर्वाको चिउँडो समाउँदै सोधी, ‘अनि किन मान्छेले फेरि यसैलाई काटेर खाएका त हजुर्बा?’
हजुर्वा उसको त्यो चोटिलो तथ अबाेध सवालले किंकर्तव्यविमूढ बने।
‘किन काटेका हजुर्वा!’ उसले हजुर्वाको जुँगा सुम्सुम्याउँदै जवाफको ताकेता गरी।
उनले भालेतिर टुलुटुलु हेरेर लामो सुस्केरा हाल्दै जवाफ दिए, ‘यहाँ दुनियाँ जगाउनेको यस्तै हालत गराइन्छ नानी!’
प्रकाशित: २१ चैत्र २०८२ १३:३९ शनिबार