कला/साहित्य

स्रष्टाद्वय सरस्वती रिजाल र विधान आचार्यलाई स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले ‘रमेश गंगा स्रष्टा सम्मान-२०८०’ बाट साहित्यकार सरस्वती रिजाल र ‘रमेश-गंगा स्रष्टा सम्मान-२०८१‘ बाट साहित्यकार विधान आचार्यलाई सम्मान गरेकाे छ।

राजधानीमा आयोजित एक समारोह बीच वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, बागमती प्रदेशका माननीय डा. दिनेशचन्द्र देवकोटा लगायतले उक्त सम्मान अर्पण गरे।

नेपाली साहित्य सिर्जनामा उल्लेख्य योगदान पुर्‍याएवापत रिजाल र आचार्यलाई जनही नगद राशि २१ हजार १ सय ११ रूपैयाँसहित ‘रमेशगङ्गा स्रष्टा सम्मान’ ले सम्मान गरिएको हो।

कार्यक्रममा डा. दिनेशचन्द्र देवकोटाले नेपाल स्रष्टा समाजलाई सरकारी क्षेत्रभन्दा माथि उठेर साहित्यको सेवा गरेकोमा धन्यवाद दिए। आफ्ना मातापिताको नाममा स्थापित सम्मान प्रदान गर्ने व्यवस्था र सम्मानका लागि उपयुक्त पात्र चयनका लागि खुशी व्यक्त गरे।

पूर्वमन्त्री बाचस्पति देवकोटाले लुकेछिपेका स्रष्टाहरूलाई उधिनेर बाहिर ल्याउने नेपाल स्रष्टा समाजको कार्य अनुकरणीय भएको भन्दै सम्मानित स्रष्टाहरूलाई बधाई दिए।

प्राडा लक्ष्मणप्रसाद गौतमले भने, ‘नेपाली साहित्यमा अति विशिष्ट योगदान पुर्‍याउने दुई स्रष्टा चयन गरेर सम्मान गर्नु नेपाली साहित्यप्रतिको सम्मान हो।’ 

सम्मानित स्रष्टा रिजालले स्वतन्त्र भएर पनि सम्मान पाइँदोरहेछ भन्ने उदाहरण आफू सम्मानित हुनुले महसुस गरेको बताइन्।

अर्का सम्मानित स्रष्टा आचार्यले खुशी लागेको महसुस भएको भन्दै जिम्मेवारी थपिएको अनुभूति बताए।

उपस्थिति नै हाम्रो सम्मानित स्रष्टा चयनको अनुमोदन हो भन्दै श्रीओम श्रेष्ठ ‘रोदन’ ले सम्मानित स्रष्टाहरूलाई बधाई दिए। उनले उपस्थित सबैलाई आभार प्रकट गरे।

कार्यक्रममा सन्जय देवकोटाले वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटाको छन्द कविता वाचन गरे।

यस सम्मानका संस्थापक रमेशचन्द्र देवकोटा, डा. दिनेशचन्द्र देवकोटा, महेशचन्द्र देवकोटा, सुवासचन्द्र देवकोटा र देवेशचन्द्र देवकोटा रहेका छन्। विसं २०७७ देखि समर्पण गर्न थालिएको उक्त सम्मानबाट यसअघि जनार्दनशरण त्रिपाठी, डा. वासुदेव त्रिपाठी र नरनाथ लुइँटेल सम्मानित भैसकेका आयोजकले बताए।

कार्यक्रममा रञ्जना निरौलाले यसअघि सम्मानित व्यक्तिहरूबारे चर्चा गरेकी थिइन्।

समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन‘ को अध्यक्षता एवं सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा कोषाध्यक्ष तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

प्रकाशित: ३२ असार २०८२ १०:४० बुधबार

# Nagarik # Kala-yatra