आर्थिक रूपमा सम्पन्न, सामाजिक रूपमा सामन्ती प्रवृत्तिले घेरिएको, मानसिक रूपमा गरिबीले पिल्सिएको नेपाली समाजको उपल्लो तहको एउटा पाटोलाई ‘कमू’ उपन्यासमार्फत देखाइएको छ। त्यतिबेलाको समाजका महिला असुरक्षित रहेका र सुरक्षित रूपमा बाँच्नेहरूले अथक संघर्ष गर्नुपरेको देखाइएको छ।
ग्रामीण परिवारमा हुर्किएकी कमूको जीवन संघर्षपूर्ण रहेको छ। उनको विवाह दरबारसँग निकटता रहेको परिवारको एक युवक रमेशसँग हुन्छ। यस्तो परिवारसँग सम्बन्ध गाँस्न पाएकोमा कमूको विवाह उनका पिताजीले धुमधामसँग गरिदिन्छन्। कमूको जससँग विवाह भयो, उनीसँगको सम्बन्ध दिगो र सुखद रहेन। रमेश जतिखेर पनि उदास देखिन्छ। ऊ कमूसँग दोहोरो संवाद कहिल्यै गर्दैन। लोग्नेस्वास्नीबिचको हार्दिकता, मित्रता, सुमधुर सम्बन्ध, प्रेमल जीवन बिताएर ईश्वरको सृष्टि रचनालाई अगाडि बढाउने सुन्दर जोडीको छनक वैवाहिक जीवनमा कमूले कहिल्यै पाइनन्।
ससुरा दरबारका पुरोहित हुन्। उनी धर्मकर्ममा पूर्णरूपमा संलग्न छन्। हरेक दिन बिहानै उठ्नु र दुईतीन घण्टाको समय पूजाआजामा बिताउनु उनको दिनचर्या थियो। घरपरिवारमा कमूलाई सान्त्वना र भरोसा दिने उनै एकजना ससुरा मात्र थिए। दरबारबाट बडामहारानीले पुरोहितका लागि भनेर ड्राइभरसहित कार र टेलिफोनको सुविधा दिएकी थिइन्।
विवाहपछि कमू पतिघरमा आइन्। उनले रमेशसँग हार्दिक सम्बन्ध बढाउन हर प्रयास गरिन्, तर रमेशबाट माया पाइनन्। रमेश उनको कुरा सुन्दै सुन्दैनथ्यो। कमूले सासूसँग निकटता बढाउन खोजिन्, तर बेवास्ता गर्थिन्। उनी कहिल्यै रमेशका छोराहरूसँग नजिक भइनन् र माया पनि गरिनन्, बरू शंकाले हेरिरहिन्। कमूलाई सोधेकी थिइन्, ‘यो बच्चाको बाउ को हो?, रमेश तँसँग सुत्दैन। तँ कुन पाप बोकेर हिँडिरहेकी छस्?’
कमूकी सासू आकर्षक रूप र शरीर भएकी प्रभावशाली थिइन् । उनकी आमाले राजाका बाउलाई दुध खुवाएकी थिइन् रे । कमूकी सासूले राजपरिवारसँग दूधको नाता गाँसेकी थिइन्; जसका कारण उनले पनि दरबारमा काम पाइन्। रानीसँग उनको निकटता थियो। यता घरमा उनको हैकम चल्थ्यो । उनको आदेशलाई प्रश्न गर्ने आँट कसैले गर्न सक्दैनथे।
कमूको घर बिग्रनुमा कमूकी सासूको हात छ। उनी वेश्यावृत्तिमा संलग्न थिइन्। उनले ग्राहकबाट वासना तृप्ति पनि गर्थिन्, उनीहरूबाट पैसा पनि असुली गर्थिन्। यस कार्यमा उनले बिस्तारै अरूलाई पनि सहभागी गराइन्। हुँदाहुँदा उनले घरलाई नै वेश्यालय बनाइन्। कमूले जेठो छोरा कृष्णको जन्मोत्सव मनाउँदा केटाकेटीले बेलुन भनेर फुकेका थिए, जुन कन्डम थियो। साध्वी विधवाको निजी कोठामा भेटिएको कन्डमले कमूकी सासू वेश्यावृत्तिमा संलग्न थिइन् भन्ने प्रमाणित हुन्छ।
कमूकी सासूमार्फत जम्मा गरिएका केटीहरू रानीले लिएर गएको कुराले रानी पनि वेश्यावृत्ति गर्थिन् भन्ने कुरा प्रमाणित गर्छ। कतै रानीकै संगतले कमूकी सासू पनि वेश्यावृत्तिमा लागेकी त हैन? यो कुरा कमूकी सासू र रानीबिच निकटता देखिनुले पनि स्पष्ट हुन्छ। कमूले बोलेको एउटा वाक्य छ, ‘के सासूको व्यापारमा रानी पनि संलग्न थिइन्?’
कमूको आशंका र उनकी सासूको बानी–व्यहोरा हेर्दा वेश्यावृत्ति फस्टाउनुमा दरबारकी रानीको पनि संलग्नता छ भन्न सकिन्छ । प्रजातन्त्रको पुनस्र्थापनापछि र अगाडि पनि गाउँगाउँबाट युवती हराएको र बेचिएको घटना यस उपन्यासले भन्न खोजेको विषयसँग धेरथोर मिल्न पुगेको छ।
सासूले कमूलाई कहिल्यै पनि बुहारीका रूपमा हेरिनन्। उनी कमूलाई धम्क्याइरहन्थिन् । कमूलाई सासूले अवैध धन्धामा संलग्न गराउन जबर्जस्ती ग्राहककहाँ लैजान खोजिन् तर कमूले ठाडै अस्वीकार गरिन्। त्यसपछि ती ग्राहकलाई नै कमूकहाँ पठाइन् कमूसँग यौन सम्बन्ध राख्न तर दुवैजनालाई उनले कृष्णको ब्याटले हानेर लडाइदिइन्। यसपछि दुई छोरालाई काखी च्यापेर कमू सदाका निम्ति त्यो घरबाट बाहिरिइन्।
कमूका लागि उमा फुपू र फुपाजु सबैभन्दा नजिकका भरोसा थिए। उनको माइती नै थिए फुपू–फुपाजु। गर्भावस्था र अघिपछि पनि फुपूफुपाजु कमूकहाँ जान्थे र कमूको अवस्था देखेर फर्कंदा सँगै घर लैजान्थे। दुई छोरा जन्मिँदा पनि कमू सुत्केरी बस्न फुपूकहाँ गएकी थिइन्। कमूले घरपरिवारबाट अलग भएपछि एकल संघर्ष गरिरहिन्। जागिर खाइन्। जिम्मेवार भएर काम गरिन् । राम्रो कर्मले उनलाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म पनि पुर्यायो। दुई छोरा कृष्ण र कृषलाई हुर्काइन् । पढाइन्, बढाइन् र आआफ्नो ठाउँमा पुर्याइन्।
कमूलाई जन्म दिने आमालाई उनका ठुलाबा जबर्जस्ती गर्थे। जबर्जस्ती गर्न नदिँदा आमाले लात्ती खानुपथ्र्यो नै, गाली धम्की पनि खानुपर्यो। कमूकी ठुलीआमाले कमूकी आमालाई सजग गराउँदै भनेकी थिइन्, ‘होसियार रहनू है बहिनी, यहाँ हामीलाई जोगाउने कोही छैन।’
कमूकी आमाले बुबाबाट पनि मानसिक यातना पाइन् । उनीहरूको दाम्पत्य जीवन कहिल्यै प्रेमपूर्ण हुन सकेन । कमूका बुबा रक्सीले मातेर घर आउँथे, प्रतिशोधपूर्ण तरिकाले कमूकी आमामाथि जबर्जस्ती गर्थे, पिट्दै भन्थे, ‘तँ बिटुली छेस्, मैले तेरो ज्यानै लिनुपथ्र्यो।’
यसैगरी काम गर्ने कार्यालयमा कमूलाई बस्नेत सरले जबर्जस्ती गर्न चाहेका थिए। बस्नेत सरले कमूलाई खाइआएको जागिरमा अप्ठेरो पारेर उनीमाथि जबर्जस्ती गर्न खोजेका थिए तर कमूले जागिर नै छाडिदिइन्। उनले बस्नेत सरलाई चेतावनी भाषामा भनिन्, ‘म आफूलाई मार्न तयार हुन्छु, तर तपाईं र अरू कोहीसँग सुत्दिनँ।’
समग्रमा हेर्दा व्यक्ति, परिवार, समाज र अन्तर्राष्ट्रिय तहमा पनि आधा आकाश ढाकेका महिलाले पलपल हिंसा भोगिरहनुपरेको छ भन्ने यस उपन्यासमा देखाइएको छ।
कमू उपन्यासमा समस्याको मात्र उठान गरिएको छैन, त्यसको समाधान पनि देखाइएको छ। कमूका ससुराले पूजा गरिरहँदा मन्त्रोच्चारण वाचन गर्दा निस्केको स्वर अनि घण्ट र शंखबाट उत्पन्न ध्वनिले कमूको मन केही समयका लागि शान्ति दिन्थ्यो। उनी घरायसी पीडाबाट उन्मुक्ति पाएको महसुस गर्थिन्।
यसैगरी कमू अमेरिका पुगेका बेला सदुगुरुको कक्षामा बसेर अध्यात्म सिक्ने अवसर पाएकी थिइन्। उनले त्यहाँ जीवनमा संसारसँग सामना गर्न र एक्लै उभिनसमेत सिकिन्। योग र ध्यान कक्षामा सद्गुरुले भनेका थिए, ‘मानिसले स्वीकार गर्नुपर्ने एक मात्र आदेश भनेको केवल आफ्नै आत्माको हो। सुन्दर दुनिया सिर्जना गर्न हामी स्वतन्त्र हुनैपर्छ। हामीले अहिल्यै यही क्षण स्वर्ग सिर्जना गर्नुपर्छ,’ सद्गुरुबाट यस्तैयस्तै ज्ञान पाएकी कमू फरक मन बनाएर अमेरिकाबाट घर फर्किएकी थिइन्। विभिन्न कारणले व्यक्तिको मनमा उत्पन्न अशान्ति र चिन्ता निराकरण गर्ने माध्यम योग र ध्यान हो भन्ने देखाइएको छ।
समग्रमा कमू उपन्यास पठनीय छ। धेरै विषय उठान छ। सबै विषयवस्तु जता बग्छ, पाठक पनि त्यतै सलल बग्छन्। उपन्यासकार डा. प्रसन्नचन्द्र गौतमले फरकफरक पात्रमार्फत हाम्रो समाजको यथार्थता दिएका छन्। यसमा उनी सफल देखिन्छन्। यस उपन्यासकी नायिका कमू पात्रका हिसाबले नायिका भए पनि चरित्रका हिसाबले नायकको भूमिका निर्वाह गरेकी छन्। उपन्यास सफल तुल्याउन कमूको सशक्त भूमिका छ। उनको भूमिकाले सन्देश दिएको छ– हाम्रो समाजका महिलाले असल नारीका रूपमा उभिन धेरै चुनौतीको सामना र अथक् संघर्ष गर्नुपर्छ।
प्रकाशित: २३ जेष्ठ २०८३ ०८:०४ शनिबार