नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक भएको छ। एक्टिभ इन्टरटेनमेन्टको प्रस्तुतिमा तयार गरिएको बहुप्रतीक्षित गीत ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ प्रजातन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो।
२००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसकै दिन सार्वजनिक गरिएको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको सन्देश बोकेको छ।
गीतकार डि.बि. पराजुलीको शब्दमा सजिएको यस सिर्जनाले ‘झण्डा”लाई कपडाको टुक्रा मात्र नभई राष्ट्रिय अस्मिता र पहिचानको प्रतीकका रूपमा उभ्याएको छ।
स्वरमा रुपक डोटेल र मेनुका राईले शक्तिशाली प्रस्तुति दिएका छन्। संगीत संयोजनमा बिजेन्द्र नौबागेको मेहनत झल्किन्छ भने एरेन्जरका रूपमा सुनिल परियारले गीतलाई सशक्त संगीतात्मक आयाम दिएका छन्। मिक्सिङ डिका गुरुङ, रेकर्डिस्ट मदन नेपाली (सुफिक्स) तथा कलरिस्ट जोन राईको योगदानले समग्र प्रस्तुति अझ प्रभावशाली बनेको छ।
म्युजिक भिडियोमा पनि सशक्त टिम देखिएको छ। मुख्य कलाकारका रूपमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ र पवित्रा अर्याल (पबि) प्रस्तुत भएका छन्।
सामाजिक अभियन्ताहरू लिला खनाल, एकराज सुवेदी, दिपिका खनाल, रोजबहादुर तामाङ, सुनिता थापा, के.बि. खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जितबहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाल अतिथि कलाकारका रूपमा देखिएका छन्। बालकलाकार मन्दिप सिलवाल, स्मिथविक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापाले पनि भिडियोमा देशभक्तिको भाव झल्काएका छन्।
भिडियोको नृत्य निर्देशन तथा निर्देशन दिपेश एस. के. ले सम्हालेका हुन् भने सम्पादन प्रेम शर्मा पौडेल ले गरेका छन्। छायांकन केशव अधिकारी र कृष्णबहादुर महराले गरेका छन्। मेकअप आर्टिस्ट प्रमिला सुनामको साजसज्जाले कलाकारलाई प्रभावशाली बनाएको छ।
गीतको रेकर्डिङ एरिका रेकर्डिङ स्टुडियोमा भएको हो। निर्माणमा फोटो नेपाल, माइती लिक्वीड डिसवास, पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा, मिलन कुमार दोङ (अमेरिका) र युवा व्यवसायी रुपेश तामाङ (काभ्रेपलाञ्चोक) को साथ रहेको छ।
गीतको लोकार्पण कार्यक्रम सिन्की भान्छाघर (स्टारमलसँगै अवस्थित) मा सम्पन्न भएको थियो, जहाँ विभिन्न कलाकार, पत्रकार, समाजसेवी र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा गीतकार डि.बि. पराजुलीले सम्पूर्ण सहयोगी हातहरूप्रति हृदयदेखि आभार व्यक्त गर्दै राष्ट्रप्रेमलाई सशक्त बनाउन कला क्षेत्रको भूमिका अझ महत्त्वपूर्ण हुने बताए।

युट्युबमार्फत सार्वजनिक गरिएको ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ ले सांगीतिक प्रस्तुति मात्र होइन, राष्ट्रिय स्वाभिमानको उद्घोष गरेको सन्देश दिएको छ। प्रजातन्त्र दिवसको सन्दर्भमा सार्वजनिक गरिएको यो स्वदेशगानले नयाँ पुस्तामा देशप्रतिको माया, समर्पण र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ।
देशभक्तिको भावनाले भरिएको यस सिर्जनाले नेपाली सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा थपेको मात्र होइन, ‘झुक्न नदिने’ अठोटसहित राष्ट्रिय अस्मिताको आवाज बुलन्द गरेको छ।
प्रकाशित: ८ फाल्गुन २०८२ १२:१४ शुक्रबार



