कला/साहित्य

आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ

गजल

१) गजल

साँच्चै तिमी दिलदार भएर आएनौ भने के होला,

साँच्चै हामीले खाने खानेकुरा खाएनौ भने के होला।

रोबोट तिमी यस धर्तीमा मानव स्वरूपमा छौ,

साँच्चै तिमी यहाँ मानव हुन पाएनौ भने के होला।

संसारभर चिनाउन हामीले तिमीलाई जन्म दियौ,

साँच्चै हाम्रो दु:खको गीत तिम्ले गाएनौ भने के होला।

आफ्नोभन्दा धेरै सन्तानको माया हुन्छ यहाँ,

साँच्चै तिमीले हामीलाई माया लाएनौ भने के होला।

मानिसझैं रक्तसञ्चार गर्दै गतिशील भएर,

साँच्चै रोबोट नभई जीवन्त छाएनौ भने के होला।

२) गजल

आउ तिमी मेरो मनमा बस्न ठाउँ खुलै छ

मुटुभरि प्यार बोकी आउन गाउँ खुलै छ।

नजाने नि सिक्नुपर्छ गाउँ र ठाउँ बनाउन,

तिमी ब्याज थप्दै थप्दै जाउन साउँ खुलै छ।

अधरमा मुस्कानसहित पवित्र मन लिएर आउ,

प्रगतिपथमा अघि लम्कन दाउ खुलै छ।

दिगो योजना र रणनीति बनाउँदै आउ तिमी,

सत्कर्मको संसारभरि भाउ खुलै छ।

सुरको बाटो शिखर यात्रा अगाडि बढाउँदै,

विश्वभर चिनाउन हिंड्ने तिम्रो पाउ खुलै छ।

३) गजल

जब हेर्‍याै तिम्ले मलाई नजरको मात लाग्यो,

गाउँभरि मलाई तिम्रो पिरतीको बात लाग्यो।

नशानशा रगतमा तिम्रो माया बगिरहन्छ,

यो मनमा जताततै सम्झनाको खात लाग्यो।

सकिंदैन बिर्सिदिन खुसीका ती पलहरू,

तिम्रो मिठो मुस्कान पनि मलाई नै हात लाग्यो।

घुर्की लगाउँदै जानेआउने तिम्रो बानी देख्दा,

माया पनि झर्दै पलाउने रूखको पातझैं लाग्यो।

छटपटीमा बितिरहन्छन् सधैं मेरा दिनहरू,

मेरो नजिक तिमी नहुँदा दिन पनि रात लाग्यो।

प्रकाशित: ३१ श्रावण २०८२ ०९:४२ शनिबार