राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद राजीव खत्रीले अरूलाई हँसाउने मान्छे (सीताराम कट्टेल ‘धुर्मुस’) यसरी रुनु नसुहाउने बताएका छन्।
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अहिले निकै गम्भीर पीडामा भएको भन्दै न्याय मागेपछि उनले यस्तो बताएका हुन्। सांसद खत्रीले सामाजिक सञ्जालमा रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ भने २४ आपूर्तिकर्ताले धुर्मुसविरुद्ध मुद्दा दायर गरेको बताएका छन्। यसका साथै मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको एक करोड ५० लाख ऋण र सहकारी सञ्चालकहरूको निरन्तरको दबाबले उनलाई थप आक्रान्त बनाएको उनको भनाइ छ।
वर्षौँको मेहनतले बनाएको करियर अहिले अर्धमृत अवस्थामा पुगेको खत्री बताउँछन्। उनका अनुसार रंगशाला बनाउँदा धुर्मुसले पैसा खायो भन्ने अप्रमाणित आरोप छ भने आर्थिक दायित्व मिलाउन सिंहदरबार, मन्त्रालय र विभिन्न नेताकहाँ धाउँदा धाउँदा उनको अवस्था दयनीय बनेको छ।
धुर्मुसको नियतमा खराबी नभएको खत्रीको दाबी छ। निर्माण भएका संरचनाहरू त्यहीँ छन् र उठेको रकम तथा खर्चमा कुनै गडबडी देखिएको छैन। भरतपुर महानगरपालिकाले निर्माणको दायित्व लिइसकेको अवस्थामा केन्द्रबाट आएको पैसा धुर्मुसलाई नदिँदा उनी थप पीडामा भएको उनको भनाइ छ। खत्रीले प्रश्न गरे, ‘महानगरलाई सबै रिपोर्ट बुझाइसकेको छ, के अब धुर्मुस मरेपछिको पोस्टमार्टम रिपोर्ट कुरेको हो?’
खत्रीले धुर्मुसलाई उचाल्ने र पछि अलपत्र छाड्ने पात्रहरूप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले देश लुट्नेहरूलाई प्रश्न गर्न नसक्ने तर समाजसेवा गर्नेलाई खेदो खन्ने प्रवृत्तिको विरोध गरेका छन्। उनले भनेका छन्, ‘देश लुटेर खानु ठिक कि मागेर समाजसेवा गर्नु? मान्छे मरेपछि कठै भन्ने बानी छ, त्यसकै लागि भए पनि खेद्न पर्छ भने जसरी मान्छे लागिरहेका छन्।’
यसअघि ‘धुर्मुस’ ले सामाजिक सञ्जालमार्फत आफ्नो पीडा पोख्दै, ‘५ वर्षदेखि यो पीडा बोकेर बाँच्न गाह्रो भयो। सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस्’ भनेका थिए।
हेर्नुस् उनको फेबसकु स्टाटस
सिताराम कट्टेल धुर्मुस आँखा भरि आँशु पार्दै भन्दैछन् : ५ वर्षदेखि पीडा बोकेर बाँच्न गाह्रो भयो ! सकिन्छ भने न्याय दिनुस्, सकिन्न भने जेल हालिदिनुस् !
✍️ अरूलाई हँसाउने मान्छे रोइरहेको कस्तो नसुहाउॅंने !? हुन त नरुहुन पनि किन वर्षौंको कलाकारिता छाडेर समाजका लागि काम गर्न हिँडेका धुर्मुससँग यतिबेला के छ ?!
– रंगशाला बनाउँदा लिएको उधारो सामाग्रीको साढे १८ करोड ऋण छ ।
– उधारो सामाग्री दिने २४ आपूर्तिकर्ताहरूले दायर गरेको मुद्दा छ ।
– मजदुरलाई ज्याला दिन लिइएको तीन सहकारीको १ करोड ५० लाख रुपैयाँ ऋण ।
– सहकारी सञ्चालकहरूले अनवरत दिइरहने टर्चर छ ।
– वर्षौँको मेहनतले सिर्जना भएको करियर अर्धमृत अवस्थामा छ ।
– ताली शून्य-जताततै गालीको वर्षा छ ।
– ‘रंगशाला बनाउँदा धुर्मुसेले पैसा खायो’ भन्ने अप्रमाणित आरोप ।
अनि रंगशाला बनाउँदा आइपरेको आर्थिक दायित्व मिलाउन सिंहदरबार-मन्त्रालय-नगरपालिका र नेता कहाँ धाउँदा धाउँदा फाटेका केही जोर जुत्ता छ ।
हुन त धुर्मुस पनि सही थिएनन् ।
कलाकारिताबाट नाम, दाम कमाएकै थिए, हौसिनु पर्ने जरुरी थिएन । हेर्नुस् त आज ‘मेरी बास्सै’मा सँगै काम गरेका माग्ने बुढा देश विदेशमा रमाइरहँदा धुर्मुस आँशु झार्दै भौँतारिरहेका छन् ।
हो उनी उचालिनु गलत थियो तर नउचालिउन् पनि कसरी !? उचाल्ने को को थिए ?! कस्ता कस्ता थिए ?! कसले मात्र उचालेनन् ?! के के आश्वासन दिएनन् ?! कहाँसम्म उचाले ?! अनि कहाँ लगेर थचारे ?! एउटा गतिलो किताब बन्छ ।
तर, उनको नियतमा खराबी थिएन । आज पनि उनले बनाएको संरचना त्यही छ । उठेको रकम र भएको खर्चमा कुनै गडबडी पनि देखिएन । भरतपुर महानगरपालिकाले बनाउने दायित्व पनि लिई सकेको छ । रंगशाला आवश्यकता पनि छ । अब भरतपुर महानगरपालिकाले केन्द्रले दिएको पैसा धुर्मुसलाई किन दिएन ?! यो अचम्म छ । त्यो पैसा धुर्मुसले गोजीमा हाल्ने नि होइन । मान्छे यही कारणले गलित, थकित र निकै पिडादायी अवस्थामा छन् । महानगरलाई उसले खोजेको सबै रिपोर्ट पुगेकै थियो । के अब धुर्मुस मरेपछिको पोस्टमार्टम रिपोर्ट कुरेको हो ?!
यहाँ एकथरि मागेर पनि समाज सेवा हुन्छ र भन्ने छन् । देश लु’टेर खान ठिक कि मागेर समाज सेवा गर्न ?! मान्छे म’रेपछि कठै भन्ने बानी छ, त्यसकै लागि भए पनि खेद्न पर्छ भने जसरी लागि रहेका छन् । तर, लु’टेर खानेहरूका बारेमा प्रश्न गर्ने हिम्मत किन छैन ?!
प्रकाशित: २६ असार २०८३ ०९:३८ शुक्रबार



