कला/साहित्य

अपमानजनक हल्ला फैलाउनेलाई कानुनी कठघरामा उभ्याउने गोविन्दाको चेतावनी

निजी जीवनसँग जोडिएका अफवाहहरु अत्याधिक फैलिन थालिएपछि बलिउड अभिनेता गोविन्दाले सूचना जारी गरि कडा कानुनी कदम चाल्ने चेतावनी दिएका छन्। उनले आफ्नो वा परिवारबारे भ्रामक तथा अपमानजनक जानकारी सामाजिक सञ्जालमा फैलाउनेहरूविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

पत्नी सुनीता आहूजासँग सम्बन्धित विभिन्न कुराकानी तथा पछिल्लो समय अभिनेत्री कोमल रानी स्वर्णकारसँग दोस्रो विवाह गर्ने जस्ता गसिपहरु आउन थालेपछि गोविन्दाले यो कदम चालेका हुन। गोविन्दाको सार्वजनिक सूचनामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बनाइएका फोटो, भिडियो, अडियो, तस्बिर तथा अन्य सामग्रीको समेत उल्लेख गरिएको छ।

गोविन्दाले आफ्नो पहिचान तथा व्यक्तिगत वा पारिवारिक जानकारीलाई एआईमार्फत सिर्जना, परिवर्तन वा प्रयोग गर्न कसैलाई अनुमति नदिएको स्पष्ट पारे।

सूचनामा मानहानि, गोपनीयताको उल्लंघन, पहिचानको दुरुपयोग र साइबर अपराधसँग सम्बन्धित विषयमा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ।  

गोविन्दाले दोषी ठहरिने व्यक्तिहरूविरुद्ध अदालतबाट विभिन्न आदेश लिन सक्ने बताएका छन्। साथै, दोषीबाट १०० करोड भारु क्षतिपूर्ति माग गर्न सकिने चेतावनी दिइएको छ।

गोविन्दाले केही युट्युब च्यानल तथा सामाजिक सञ्जाल खाताबाट आफूलाई लिएर जानाजानी भ्रामक र झूटा सामग्री फैलाइएको भन्दै आपत्ति जनाएका छन्।

उनका अनुसार यस्ता सामग्रीले उनको सार्वजनिक छविमा क्षति पुर्‍याउने उद्देश्य राखेको हुन सक्छ। त्यसैले उनले आफ्नो निजी जीवन र परिवारसँग सम्बन्धित अपुष्ट समाचार तथा अफवाह फैलाउने गतिविधिमा रोक लगाउन खोजेका छन्।

प्रकाशित: ७ भाद्र २०८३ १५:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App