१) मुक्तक
उसको यादमा धरधरी रुन खोज्नु गल्ती भयो
आफ्नो मुहार आँसुले धुन खोज्नु गल्ती भयो
घाँटी हेरेर पो हाड निल्नुपर्छ बिर्सेछु भुतुक्कै
टेकेर जमिनमा चन्द्रमा छुन खोज्नु गल्ती भयो।
२) मुक्तक
चौका बनाउ या चुलो बनाउ फरक पर्दैन
अझै त्यो मन खुकुलो बनाउ फरक पर्दैन
आखिर कुल्चिन त मिल्छ तिम्रा कदमले
मलाई पैतलाको धुलो बनाउ फरक पर्दैन।
३) मुक्तक
बल्ने छ छातीमा आगो दनदनी खोल्दै नखोल्नुस्
मनले त मान्दैन होला तैपनि खोल्दै नखोल्नुस्
रातो बाकसमा आउन सक्छ परदेशबाट उपहार
मलाई के पठाएछ छोराले भनी खोल्दै नखोल्नुस्।
४) मुक्तक
उनको नजरमा बन्नु छ विराजमान बनाइदिनुस्
ढुङ्गालाई सिरानी बालुवा ओछ्यान बनाइदिनुस्
सुतेर हेर्न मिल्ने बाँकी उनको खुसीका क्षणहरू
नजलाई मेरो लासको एक चिहान बनाइदिनुस्।
५) मुक्तक
खुसीको पल एकैछिन आउँछ सोचेकै थिइन
जिन्दगी यस्तो अर्थहीन आउँछ सोचेकै थिइन
समय बलवान् छ भन्थे सबै आखिर हो रहेछ
म रुँदा तिमी हास्ने दिन आउँछ सोचेकै थिइन।
६) मुक्तक
जब हाम्रो भेट हुँदैन थाहा पाए सधैंका लागि
नजरले देखेसम्म हात हल्लाए सधैंका लागि
बाँकी जीवन मस्त रहोस व्यस्त रहोस् निष्ठुरी
तिमी उदाएको दिन म अस्ताए सधैंका लागि।
७) मुक्तक
दुखी भएर होला ऊनी बिना उस्तैउस्तै लाग्छ
बनाई छाड्यौ नि अलछिना उस्तैउस्तै लाग्छ
पत्तै हुँदैन कुन बेला बर्सिदिन्छ आँसुको थोपा
मेरो आँखा र श्रावण महिना उस्तैउस्तै लाग्छ।
८) मुक्तक
बितिसक्यो हेर्दाहेर्दै कयौं साल सम्हाली राख्या छु
दुई नयन बनाएर बेगनास ताल सम्हाली राख्या छु
झर्छन आँसु पुछ्न सक्दैन कतै फाट्ला भने डरले
छुट्ने बेला दिएको त्यो रुमाल सम्हाली राख्या छु।
९) मुक्तक
ऊ पत्थर थियो हमेसा नाम पत्थरमै हुन्थ्यो
यसरी पुजा हुन्थ्यो उसको न कदरमै हुन्थ्यो
आखिर घनको प्रहार सहेर पुग्यो मन्दिरमा
यदि पीडाले चिच्याएको भए बगरमै हुन्थ्यो।
१०) मुक्तक
जानीजानी यस्तो कदम चाले कथाले मागेपछि
बौलाहा भन्न थाल्यो दुनियाले कथाले मागेपछि
रुदैन अब हरेक सब्दमा तिम्रो नाम समर्पित गर्दै
मैले गजल मुक्तक लेख्न थाले कथाले मागेपछि।
प्रकाशित: १३ श्रावण २०८३ १२:५४ बुधबार



