कला/साहित्य

अन्तर

लघुकथा

असिनपसिन छ बिउँझिंदा। आफैंलाई चिमोटेर हेर्छ। सपनामा पो रहेछ अनि सपनामा बिग्रिएको अनुहार मिलाउँछ। धत्! सपनामा त यति गाह्रो रैछ गाँठे! विपनामा यस्तै जिन्दगी जिउनेहरूको पीडा कति धेरै होला! कति सास्ती खेपेका रैछन् अभावमा जिन्दगी जिउनेहरूले!

चुईंचुईं उकालोमा गह्राैं भारी पसिनाले भिजेको शरीर बोकेर स्वाँस्वाँ गर्दै गरेको सपना देख्यो रविनले।

रविन सम्भ्रान्त परिवारको एकलौटी सन्तान। न डर न अभाव। दुःख कुन चरीको नाउँ हो उसलाई थाहा होस् कसरी! अर्कातिर उसकै दौतरी धर्मे जहिल्यै श्रम गर्न व्यस्त हुन्छ। यसैले सधैं निधारमा पसिनाका बुँदहरू चम्कँदै बग्छन्। धर्मेले दुखका कैयाैं पलसँग साक्षात्कार गरेको छ। एउटा टुहुरो न हो। बच्चामा साइकल खेल्न नपाएर कति रुन्थ्यो। रविनले साइकल खेल्दा। बच्चादेखि उनीहरूलाई दिनको एकपटक नभेटी चित्त बुझ्दैन थियाे।

पुतलीसडकबाट कार हाँकेर भाटभटेनी सुपरमार्केट जाँदैछ। उसको बायाँतर्फ उसकी श्रीमती स्वर्गकी परीजस्तै सिंगारिएकी माया छे।

ट्राफिकले सिठी फुक्दा ‘ला, मसँग त लाइसेन्स नै पो छैन्!’ झल्याँस्स बिउँझियो धर्मे। सपनामा पो रहेछ। खिस्स हाँस्छ। श्रीमती मस्त निदाइरहेकी रहिछ।

काशः विपनामा पनि यस्तै भए। एकछिन सपनामा भए पनि खुशीको अनुभूति गर्न पाउँदा ऊ मक्ख पर्‍याे।

रविन र धर्मे सधैं जस्ताे चौतारोमा भेटेर आआफ्ना सपना एक अर्कालाई बताउन थाले। अरे! अन्तर कति छ धनी र गरिवमा।                    

प्रकाशित: २७ जेष्ठ २०८३ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App