मन छ
तिमीलाई
जीवनभरि आफ्नो बनाई
सँगसँगै विशाल आकाशमा
जोडी पन्छीझैं स्वतन्त्र सयर गराउने मन छ।
टपक्कै टिपेर ताराहरू
लाछाडोरी बनाई तिम्रो केशराशिमा सजाई
बादलको डोलीमा सैर गराउने मन छ।
तिमीलाई अँगालोमा राखी
शीतल श्वास बनी तिम्रो धड्कनमा
हराउन मन छ।
धर्तीका सारा खुसीहरू
तिम्रै हत्केलामा थमाइदिनु मन छ।
संसारका सबै, खुसी,
तिमीलाई उपहार दिने मन छ।
आकाशजस्तै विशाल हाम्रो यो माया होस्।
हरेक जुनी-जुनीमा तिम्रै मात्र साथ होस्।
तिम्रो ओठको मुस्कान हेरी
यो जीवन बिताउने मन छ।
धर्तीका सबै रङ्ग बटुली
तिम्रो पाइलामा राखिदिन मन छ।
तिमीलाई सारा संसार नै
मेरै ठानी सुम्पिने मन छ।
तिमीसँगै यो धर्तीमा एउटा
सुन्दर संसार बसाउने मन छ।
प्रकाशित: ९ जेष्ठ २०८३ ११:५२ शनिबार