कला/साहित्य

चोट

लघुकथा

नाम हर्के हो। पूरा नाम हर्कबहादुर। मान्छे पनि नाम जस्तै छन्। हाँसिरहन्छन्। यसैकारण नाम राखिएको होला जस्तो लाग्छ। हँसिला छन्। रसिला छन्। मिजासिला छन्। त्यसैले पनि धेरैका प्रिय पात्र बनेका छन्। उसलाई आफ्नो चिन्ता छैन। यो, त्यो छ, छैन। मतलब छैन। भनाइभन्दा गराइमा विश्वास राख्ने सेवा भावले निर्लिप्त छन्।

नसक्ने काम कसैसँग सोधेर, सिकेर पनि गर्न खोज्छन्। नजानेको काम रुचिका साथ सिक्न र जान्न आतुर हुने, जानेको सकेको काम खुसीसाथ गरिदिने। सिक्ने, सिकाउने र काम गर्नेलाई उत्प्रेरित गर्ने।

जोशजाँगरसाथ काम गर्ने उदाहरणीय व्यक्ति हुन् हर्के। कसैलाई हानिनोक्सानी पुर्‍याउन उनी सोच्न पनि सक्दैनन्। मुखले पनि पिर्न जान्दैनन्। अरू कुरै छाडौं। उसको यसै स्वभावका कारण उसैलाई लदाएर सुविधा भोग्नेको पनि कमी छैन।

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझैं सोझालाई जसले पनि हेप्छन्। टाठाबाठाले उसैको खेदो खन्छन्। उसैलाई खिसीटिउरी गर्छन्। जसले जति हेपे पनि, जति चेपे पनि ऊ हर्के हो। हाँसिरहन्छन्। दु:ख, पीरमर्का र रिसराग यी देखाउने कुरा होइनन्, लुकाउने कुरा हुन्। यो नै उसको सिद्धान्त हो।

मूर्ति बन्नलाई ढुङ्गाले छिनो र घनको चोट सहे जस्तै मान्छे बन्नलाई हर्केले झैं धेरै दु:ख, पीरमर्का सहन सक्नुपर्छ।

- तेजबहादुर गुरुङ (च्हाक्ली तमु)

प्रकाशित: ७ भाद्र २०८३ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App