कला

'सरी ल'ले गायो देउसी

काठमाडौं– तिहार नजिकिँदै गर्दा फिल्म 'सरी ल' युनिटले शुक्रबार मण्डला थियटरमा देउसी खेले। सञ्चारकर्मी भेला गराई खेलिएको देउसीको उद्देश्य चाहिँ कात्तिक २१ देखि चल्न लागेको उक्त फिल्मको प्रचारप्रसार नै थियो।


चलनचल्तीको भन्दा भिन्दै गर्न खोजिएको कार्यक्रममा फिल्मका अभिनेता राजन खतिवडा शरीरलाई रंगरोगन गरी प्रकट भएका थिए। कालो र सेतो पोतिएको उनको शरीरमा फिल्मको नाम लेखिएको थियो।
फिल्मको शीर्षक गीत गाउने जिम्मेवारी शिव परियारलाई दिइएको थियो। शिवले अँध्यारो मञ्चमा गीत गाउँदै गर्दा राजन प्रकट भएका थिए। त्यतिबेला शिव केही झस्किन पुगे।
कालो र सेतो रङले मान्छेमा भएको नायकत्व र खलनायकत्वलाई उजागर गरेको थियो। राजनले उक्त कुरालाई स्वीकार्दै भने, 'केही फरक गेटअप दिउँ भनेर पनि यसो गरिएको हो।'
ऋषि लामिछानेद्वारा निर्देशित फिल्म 'सरी ल'मा राजनबाहेक सुवास थापा, अनिता आचार्य, रोशन महर्जन, अञ्जु केसी, मार्टिन खान र कृष्णदास महर्जनको मुख्य भूमिका छ।
अञ्जु केसीकै प्रस्तुति रहेको फिल्मलाई कृष्णदास महर्जनले निर्माण गरेका हुन्। 'कृष्णजीसँगको सम्बन्ध १८ वर्ष पुरानो हो। उहाँ र म सँगै नाटकमा अभिनय गर्थ्यौं, यो फिल्ममा गरिएको सहकार्यले पुराना दिनहरुको सम्झना आएको छ,' ऋषिले भने।
कार्यक्रममा शिव परियारमात्र होइन फिल्म युनिटका सबैले गाए। तर, फिल्मको गीत होइन देउसी गाए। उपस्थित सबैलाई फूलको मालाले स्वागत गरिएको थियो।
शिवम अधिकारी र सोमनाथ खनालको लेखन रहेको फिल्ममा रामशरण उप्रेतीको छायांकन, रवीन्द्र खड्काको सम्पादन, बब्बु थापाको नृत्य, रोशन श्रेष्ठको फाइट, वसन्त सापकोटो र शैलेश श्रेष्ठको संगीत छ।

प्रकाशित: १ कार्तिक २०७१ २२:३३ शनिबार