कला

बिर्सिएका नायक जयपृथ्वीबहादुर सिंह

१९३४ सालको समय, जतिबेला नेपालमा जहाँनिया राणाशासन (आधुनिक नेपालको अन्धकार युग) ३१ वर्षमा पुग्दै थियो, त्यतिबेला नेपाल र नेपालीको भाग्य र भविष्य बनेर जन्मेका थिए, नेपालका दोस्रो गौतमबुद्ध– जयपृथ्वीबहादुर सिंह। नेपालको माटोमा जन्मिएका सिद्धार्थ गौतम बुद्धले समस्त मानव कल्याणका लागि आफ्नो राजगद्दी त्याग गरेजस्तै जयपृथ्वीबहादुर सिंहले पनि मानव सेवाका लागि आफ्नो बझाङ राज्यको राजपाठ त्याग गरेका थिए। यसैकारण उनलाई नेपालको दोस्रा ‘गौतम बुद्ध भनिएको हो।  

जयपृथ्वीबहादुर सिंहको वि.सं. १९९७ मा बेंग्लोरमा मृत्यु हुँदा विश्वका अन्य समाचार संस्थाले जस्तै भारतबाट प्रकाशित हुने ‘अमृतबजार पत्र’ नामक पत्रिकाले ‘नेपालका दोस्रो गौतम बुद्धको निधन’ भनेर समाचार प्रकाशित गरेको थियो।

राजाको रूपमा जयपृथ्वीबहादुर सिंह  
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानसँगै बाइसे र चौबिसे राज्य नेपाल राज्यमा गाभिइसकेका थिए। तीमध्ये केही राज्यका राजालाई तत्कालीन श्री ५ को सरकारले रजौटाका रूपमा मान्यता दिएको थियो। यसरी मान्यता पाएका रजौटा राजाको अन्य कुनै राजनीतिक भूमिका हुन्थेन, तर मानार्थ रजौटा राजाका रूपमा उनीहरू सम्मानित हुन्थे। २०१७ सालमा लागू गरिएको ‘राज्य–रजौटा उन्मूलन ऐन’सँगै अन्य रजौटाजस्तै बझाङी राजतन्त्रको पनि अन्त भएको थियो। अरु रजौटा जस्तै गरी बझाङलाई हटाउन भने कठिन भएको थियो। २०१७ सालमा राजा महेन्द्रले ल्याएको रजौटा उन्मूलन कानुनका विरुद्ध बझाङी राजाले विद्रोह गरे। जयपृथ्वीका भाइ देवीजंग बहादुरका नाति अर्थात् भतिजापट्टिका नाति तत्कालीन राजा रामजंगका छोरा ओमजंगबहादुर सिंहले सुवर्णशमशेरसँग मिलेर २०१८ सालमा श्री ५ महेन्द्रका सेनाविरुद्ध लडाइँ गरे। यस मार्मा भन्ने ठाउँमा भएको यस लडाइँमा ओमजंगबहादुर सिंह मारिएपछि बझाङी राजतन्त्र सदाका लागि अन्त भयो। त्यस्तैगरी, ०६२/६३ को जनआन्दोलनका कारण राजतन्त्रको अन्त्यसँगै मानार्थ राजाको हैसियत पाएका मुस्ताङी राजाको अन्त भएपछि नेपालमा अब कुनै पनि प्रकारको राजतन्त्रको अवशेष छैन।

जयपृथ्वीबहादुर सिंह बझाङका राजा थिए। सिञ्जा राज्य अनेकौँ टुक्रामा विभाजित भएपछि बझाङ पनि एउटा टुक्रे राज्यको रूपमा स्थापित भयो। बझाङी वंशावली अनुसार ५०औँ पुस्ताका राजा समुद्रसिंहको पाला (वि.सं. १८४८) मा बहादुर शाहले यस राज्यलाई विशाल नेपालमा गाभेपछि बझाङ राज्य नेपालको अधीनस्थ राज्यको रूपमा रह्यो। समुद्र सिंहका सन्तान विक्रमबहादुर सिंह र उनकी पत्नी रुद्रकुमारी सिंहका गर्भबाट जयपृथ्वीबहादुर सिंहको जन्म १९३४ सालमा भएको थियो, (योगीनरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, २०५५ः ५५१)। गम्भीर र अध्ययनशील स्वभावका जयपृथ्वी १६ वर्षको उमेरमा १९४४ सालमा बझाङको राजा भए। नेपालको राजपरिवार र राणा परिवारसँग बझाङी राज परिवारको सम्बन्ध भएका कारण तत्कालीन राणाहरूले यिनलाई विशेष रूपले हेरेका थिए, (सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास, २०६०ः१३७)। वि.सं. १९५१ मा जंगबहादुर राणाको छोरीपट्टिकी नाति (सरदार भीमबहादुर पाण्डे, त्यसबखतको नेपाल, चौथो भाग–पृ ७७) जयपृथ्वीसँग चन्द्रशमशेरकी छोरी खगेश्वरी राणाको विवाह भएको थियो।

नेपाली भाषा र शिक्षामा उनको योगदान
बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो। सीपमूलक र व्यावहारिक शिक्षाका पक्षमा उनले आवाज उठाएका थिए। यस पुस्तकमा नापतौल, ऋतु–महिना, ग्रह–नक्षत्र र ईस्लाम धर्मको चाडपर्वबारे सरल भाषामा वर्णन गरिएको छ।

जयपृथ्वीले ‘अक्षरमाला’, ‘पदार्थ तत्व विवेक’, ‘बालबोध–भाग १’, ‘जापानको इतिहास’, ‘शारीरिक शिक्षा दर्पण’, र ‘श्रेस्ता दर्पण भाग १ र २’, ‘बालबोध’, ‘प्राकृत व्याकरण’, ‘भूगोलविद्या’, ‘मानवतावाद सम्बन्धी ३ भोल्युम’, ‘द फ्ल्याग अफ पिस’ जस्ता दार्शनिक पुस्तक लेखेका छन्। यी पुस्तकको अध्ययन गर्दा यिनको अध्ययन, मनन र लेखन अब्बल रहेको प्रस्ट हुन्छ। बझाङ र काठमाडौंको नक्साल नारायणचोकमा सत्यवादी पाठशाला खोलेर जयपृथ्वीबहादुर सिंहले आफू शिक्षाप्रेमी भएको प्रमाणित गरिदिए। बझाङ निवासी श्री परिमल सुवेदारबाट जयपृथ्वीबारे एउटा रोचक जानकारी प्राप्त भएको छ। उनका अनुसार, पाठशालामा छोराछोरीलाई पढ्न पठाउन अभिभावकको ठूलो भूमिका हुन्छ भन्ने   जयपृथ्वीले बुझेका थिए। त्यसैले उनले अभिभावकलाई अभिप्रेरित गर्न हप्तामा एक दिन भेटघाट र राम्रो खानपानको व्यवस्था पाठशालाको हातामा मिलाएका थिए।  

बालबालिकालाई नेपाली भाषाका माध्यमबाट प्रारम्भिक शिक्षा दिनुपर्छ भन्ने कुरामा जयपृथ्वी दत्तचित्त भएर लागेका थिए। उनले १९५८ सालमा बालबालिका लागि उपयुक्त ‘अक्षराङ्क’ नामक पुस्तक लेखेका थिए। पाशुपत छापाखानामा एक हजारप्रति छापिएको यस पुस्तकले नेपाली समाजमा नयाँ क्रान्ति ल्याएको थियो।

जयपृथ्वीको शिक्षाप्रतिको लगावका विषयमा इतिहासकार नयराज पन्तले चर्चा गरेका छन्। पन्तले बाबुराम आचार्य र जयपृथ्वीबीचको सम्बन्धलाई पद्यमा व्याख्या गरेका छन्। उक्त कवितामा शिक्षाका साधक जयपृथ्वीलाई यसरी चित्रण गरिएको छ।

बझाङका भूपतिसाथ संगम तिम्रो भयो, वृत्ति मिल्यो तिमीकन,
ती भूप विद्याव्यसनी निकै थिए, नयाँ ग्रन्थ रची छपाउनु भो।।  

कविताका यी पंक्तिबाट जयपृथ्वीले बाबुराम आचार्यलाई आर्थिक सहयोग गरेको संकेत मिल्छ, (पूर्णिमा अंक २७ )। जयपृथ्वीको अध्ययन अनुसन्धानमा आबद्ध व्यक्तिहरूका अनुसार इतिहासकार बाबुराम आचार्यलाई पढ्नका लागि जयपृथ्वीले आवश्यक खर्चको व्यवस्था गरेका थिए। शिक्षाको सेवामा उनी मात्र होइन कि उनकी रानीको पनि विशेष महत्व छ। डिल्लीबजारस्थित पद्माकन्या क्याम्पसको स्थापना गर्नका लागि उनकी रानीले आर्थिक सहयोग गरेको परिचर्चा सरदार भीमबहादुर पाण्डेले गरेका छन्, (त्यसबखतको नेपाल, भाग –४, पृष्ठ ३३)। नेपाली भाषा–साहित्यका अध्येताले जयपृथ्वीबहादुर सिंहले नेपाली भाषा र साहित्यमा गरेको योगदानलाई मूल्यांकन गरेका छन्। तारानाथ शर्माले ‘नेपाली साहित्यको इतिहास–२०७०’ पुस्तकमा जयपृथ्वीबहादुर सिंहका भाषा र साहित्यका कृतिहरूको संक्षिप्त परिचर्चा गरेको पाइन्छ।

बालबालिकाको शिक्षामा विज्ञानका विविध विषय समावेश गर्दा प्राचीन मूल्य–मान्यता र संस्कृतिलाई बिर्सन नहुने तथ्य जयपृथ्वीले प्रष्टसँग उल्लेख गरेका छन्। साना केटाकेटीलाई भ्रम उत्पन्न हुने खालका विषयवस्तु नदिन उनले शिक्षकलाई बारम्बार अनुरोध गरेका छन्। यिनकै सरसल्लाह र प्रयत्नमा सन् १९०२ अप्रिलमा नौजना नेपाली युवक प्राविधिक शिक्षा प्राप्त गर्न एकजना पथप्रदर्शक र १७ जना सहयोगीसहित जापान गएका थिए।  

राणाकालमा शिक्षालाई उदासीन भावले हेरिन्थ्यो, राणा परिवार तिनका भारदार र अन्य उच्च ओहोदाका परिवारका सन्तान लगायत अत्यन्त सीमित वर्गले मात्र शिक्षाआर्जन गर्न पाउँथे। जनता शिक्षित भए भने राणाशासन अवश्य ढल्नेछ भन्ने विश्वास राणाहरूमा थियो। यसकारण शिक्षा लगायत विकासका गतिविधि कहिल्यै राणाको प्राथमिकतामा परेनन्। तथापि परिवर्तित समयका कारण लोकलाई देखाउन भए पनि चन्द्र शमशेरले त्रि–चन्द्र कलेजको स्थापना गरेका थिए। शिक्षासेवी र समाजसेवी जयपृथ्वीसँग चन्द्रशमशेर त्रस्त थिए। जयपृथ्वीकै जोडबलमा चन्द्रशमशेरले वि.सं १९६० मा नौजना नेपालीलाई प्राविधिक शिक्षा पढ्न जापान पठाएका थिए, (सरदार भीमबहादुर पाण्डे, त्यसबखतको नेपाल, पहिलो भाग, पृष्ठ १४९)। त्यसो त चन्द्रशमशेरभन्दा पहिलेका वीरशमशेरकै पालामा वि.सं. १९५७ मा चारजना नेपालीलाई इन्जिनियर विषय पढ्न जापान पठाइएको थियो, ( मदनमणि दीक्षित, देशभक्त चन्द्रशमशेर, २०७४, पृष्ठः ३७)।  

पथप्रदर्शक स्वामी पुरानन्द गिरीलाई मासिक भत्ता एक सय ८० रुपैयाँ प्रदान गरेर सबैको जिम्मा उनलाई दिएर पठाइएको थियो। जापान अध्ययन गर्न जानेमा क्या. जंग नरसिंह राणा, क्या. भक्तबहादुर बस्न्यात, देवनरसिंह राणा, हेमबहादुर राजभण्डारी, बालनरसिंह रायमाझी, दीपनरसिंह राणा, रुद्रलाल सिंह र विचारमान सिंह थिए।  

पत्रकार जयपृथ्वी
जयपृथ्वीले प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाएर गोरखापत्र प्रकाशन गर्न हौसला प्रदान गरेका थिए। सुरुमा गोरखापत्रका व्यवस्थापक पण्डित नरदेव पाण्डे थिए। १९६० सालमा गोरखापत्रको दोस्रा व्यवस्थापक जयपृथ्वीबहादुर सिंह भएका थिए। उनी व्यवस्थापक हुँदा एडिटर चिरञ्जीवी शर्मा पौड्याल थिए। १९७२ सालसम्म जयपृथ्वीले गोरखापत्र प्रकाशनलाई निरन्तरता दिएका थिए। १९५८, वैशाख २४ देखि साप्ताहिक समाचारका रूपमा प्रकाशन सुरु भएको गोरखापत्रलाई १५ वर्षको अवधिसम्म जयपृथ्वीले जतनका साथ हुर्काए।  

जयपृथ्वीले भारतको बेंग्लोर चेट्टीरोडस्थित जया भवनमा सन् १९२८ मा ‘ह्युमानिस्ट क्लब’ खोले। विश्वका विभिन्न ठाउँमा खुलेका यी क्लबले विश्वका सम्पूर्ण प्राणी र बोट–बिरुवालाई माया र संरक्षण प्रदान गर्न विभिन्न चेतनामूलक कार्य गरे। उनको क्लबले मुखपत्रका रूपमा ‘द ह्युमानिस्ट’ नामक पत्रिका प्रकाशित गरेको थियो, जसमा मानवतावादसम्बन्धी विविध विषय प्रकाशित हुन्थे।

मानवतावादी क्लब खोलेर ‘ह्युमानिस्ट’ नामक अंग्रेजी पत्रिका नियमित प्रकाशन गरेका थिए।  

इथियोपियामा समाजसेवा
सन् १९३६ मा इटालीका सेनाले इथियोपियामा आक्रमण ग-यो। त्यसबेला इथियोपियामा गुस्टाई ग्यास प्रयोग भएर धेरै निर्दोष जनता मुच्र्छा पर्दै मर्न थालेको समाचार जयपृथ्वीले सुने। जापानमा उपलब्ध ग्यास–मास्क किन्न उनी आफैँले रकमको व्यवस्था गरे। तर, उनीसँग भिसा थिएन। मर्कामा परेका इथियोपियालीलाई सहयोग गर्ने अठोटले जयपृथ्वीले नक्कली भिसा बनाएर मास्क किने। नक्कली भिसा बनाएर कानुनविपरीत कार्य गरेका हुनाले यिनलाई थुनामा राखियो। आफ्नो उद्देश्य राम्ररी बुझाएपछि जयपृथ्वीलाई जेलबाट रिहा गरियो। इथियोपियाका जनतालाई ग्यास–मास्क बाँडेर यिनले ठूलो सेवा गरे। यिनको यस्तो परोपकारी कार्यले हजारौँ मानिसको ज्यान जोगियो।

जयपृथ्वीको युरोपयात्रा  
प्रधानमन्त्री चन्द्रशमशेर १९६४ चैत २५ गते सोमबार वैदिक परम्परा अनुसार साइत गरेर युरोपतिर प्रस्थान गरेका थिए। बेलायत सरकारको निमन्त्रणामा भाइभारदार र कारिन्दासहित ४५ जनाको डफ्फा लिएर गएका चन्द्रशमशेरको यात्रा विवरण ‘युरोपयात्रा’ नामक पुस्तकलाई लेखक पण्डित चिरञ्जीवी पौड्यालले चार अध्यायमा विभाजन गरेका छन्, (चिरञ्जिवी शर्मा पौड्याल, चन्द्र शमशेरको युरोपयात्रा)। प्रस्थानकाण्ड, समुद्रकाण्ड, लण्डनकाण्ड र पेरिसकाण्ड सबैमा सुन्दरढंगले यात्रा विवरण वर्णन छ, (बिना पौडेल, कन्ट्रिब्युन पत्रिका, जनवरी २०१३)। युरोपयात्राका क्रममा राजा जयपृथ्वीबहादुर चन्द्रशमशेरसँगै विभिन्न सभा सम्मेलन, दरबार, संग्रहालय र बगैँचाहरूको अवलोकन गर्न गएका थिए। १९६४ असार १२ गते बिहीबार जयपृथ्वीलाई लिएर चन्दशमशेर बेलायतको वाटर लुबाट वेजिङस्टेक महल गएका थिए। महलका ठूला बैठककोठा, त्यहाँ टाँगिएका सुन्दर पेन्टिङ, राम्रा फूल र सुन्दर दुबो सजिएका बगैंचा देखेर सबै नेपाली दंग परेका थिए। बगैंचाको बीचमा बसेर कर्जनकी छोरीले फोटो खिचाएको क्षणको सुन्दर वर्णन युरोपयात्रा पुस्तकमा छ।  

श्री ३ चन्द्रशमशेरलाई बम्बैका गभर्नर, आठ पहरिया र बझाङका राजा जयपृथ्वीबहादुर शाहले स्वागत गरेको वर्णन युरोप यात्रामा पढ्न पाइन्छ। जहाजमा चोखो खानपानका लागि विशेष व्यवस्था मिलाइएको थियो। माटो र गोबरले लिपपोत गरेर जहाजमा बेग्लै भान्सा बनाउन चार हजार रुपैयाँ खर्च भएको थियो। श्री ३ चन्द्रशमशेरकी छोरी खगेदिव्यश्वरीसँग १७ वर्षका जयपृथ्वी बहादुरको विवाह भएकाले ज्वाइँको नाताले यिनी युरोप भ्रमणमा सम्मिलित भएका थिए।

मानवतावादी नेता जयपृथ्वी  
नेपाली, हिन्दी र अंग्रेजी भाषामा जयपृथ्वीको राम्रो दखल थियो। नैतिकता, मानव धर्म, परोपकार र खानपानबारे देश–विदेशमा विभिन्न स्थानमा उनले प्रवचन र छलफलमा ल्याएका विषयलाई पुस्तकका रूपमा प्रकाशित गरिएको छ, जुन यस प्रकार छन्– ‘ह्युमनिजम्’, ‘द ह्युमनिस्ट’ र ‘प्रवचन संग्रह’ आदि। उनले तीन भोल्युममा लेखेको ‘ह्युमनिजम्’ पुस्तकलाई जयपृथ्वीसम्बन्धी अध्ययन अनुसन्धान गर्ने संस्था (रिसर्च एकेडेमीका फर ह्युमनिजम् एन्ड जयपृथ्वीबहादुरसिंह) रफाजले एकै भोल्युममा अंग्रेजी भाषामा प्रकाशन गरिसकेको छ। र, यस पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने कार्य पनि हुँदैछ।  

नेपालमा २०५२ सालमा स्थापना गरिएको मानवतावाद र जयपृथ्वी सिंह अनुसन्धान अध्ययन नामक संस्थाले जयपृथ्वीले बेंग्लोरबाट निकालेको ‘द ह्युमानिस्ट’ पत्रिकालाई पुनर्जीवन दिएर केही वर्ष पत्रिका र पुस्तकलाई प्रकाशन ग¥यो।

जननेता जयपृथ्वी
राणाशासनमा सत्ता र शक्तिको महत्वपूर्ण भूमिका हुन्थ्यो। जयपृथ्वीले भने तत्कालीन न्यायप्रणालीमा सुधार अर्थात् सामाजिक न्यायमा सुधार गरेर राणाहरूको आखाको कसिंगर बनेका थिए। त्यस समयमा पनि पिँधमा परेका, पारिएका र मूलप्रवाहबाट वञ्चित गरिएका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन उनले धेरै प्रयास गरेको देखिन्छ। उनले बझाङमा छाला प्रशोधन, तामा तथा धातु उद्योग, नेपाली कागज उद्योग, कपडा उद्योगजस्ता प्राविधिक विषयमा तालिम दिई घरेलु उद्योगको स्थापना गरेका थिए। आफ्ना नागरिकमा उनीहरूलाई हकहित र अधिकारको प्रत्याभूति गराई स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्न पाउनका लागि स्वतन्त्र न्यायालयको स्थापना गराएका थिए। नागरिकहरूलाई आफूमाथिको अन्यायविरुद्ध बोल्न पाउने वातावरणको गराएका थिए। राणाशासनको निकट भएकाले राणाको सत्ताको मात र बझाङजस्तो विकट राज्यमा जन्मेका हुनाले उनले सामाजिक आर्थिक असमानतालाई राम्रैसँग बुझेका थिए। यसकारण उनी सत्ता र शक्तिभन्दा माथि उठेर जनसेवामा लागेका थिए। तर, उनको यो कदम उनका ससुराबा चन्द्रशमशेरलार्ई मन परेको थिएन। यसकारण उनी आफ्नो राजगद्दी आफ्ना भाइलाई हस्तान्तरण गरेर पत्रकारिता र समाजसेवामा लागे। राणाहरूको चर्को दमन सहन नसकी उनले स्वनिर्वासनको प्रण गरे। उनी राणाशासनको शैली र प्रवृत्तिको विरोधी र प्रजातन्त्रको पक्षपाती थिए। आफ्ना छोरीज्वाइँ भए पनि जयपृथ्वीको मानवतावादी विचारसँग निरंकुश चन्द्रशमशेर रुष्ट थिए। यसकारण जयपृथ्वी स्वनिर्वासनका लागि भारतस्थित बेंग्लोर गई सन् १९२८ मा मानवतावादी क्लबको स्थापना गरी मानवतावादको प्रचारमा लागे, (प्राचीन नेपाल अंक १८४ )। भारतमा हुँदा नेपालका प्रजातान्त्रिक योद्धासँग उनको भेट भइरहन्थ्यो। यी योद्धालाई यिनले आर्थिक सहयोग पनि गरेका थिए। यसै क्रममा टंकप्रसाद आचार्य, दशरथ चन्द, रामराजाहरूसँग पनि यिनको भेट भइरहन्थ्यो, (त्यसबखतको नेपाल दोस्रो भाग पृष्ठ ७५)। यसकारण यिनलाई राणाशासनविरुद्ध लड्ने बौद्धिक योद्धा तथा प्रजातान्त्रिक आन्दोलनका सशक्त योद्धाका रूपमा चिनिन्छन्, (दर्शनावली ६, पृष्ठ १२६)। राणाविरोधी प्रजातान्त्रिक योद्धाहरूलाई यिनले आर्थिक सहयोग पनि गरेका थिए। नेपालबाट राणाहरूको अन्त हुनैपर्छ भन्ने उनको विचार भएकाले स्वतन्त्र सेनानीहरूलाई यिनले बेलाबेला बौद्धिक र प्राविधिक सहयोग गरेको कुरा उनीसँग जोडिएका विभिन्न व्यक्तिले सम्झना गरेका छन्।

 

बिर्सिएका नायक
नेपाली सञ्चारमाध्यममा अहिले महा–नायकको भाष्य, भविष्य र यसका अनेक विषयमा अनेक चर्चा, परिचर्चा भएको सुनिन्छ। बहस गर्नुपर्ने विषय– देशलाई महानायक किन चाहिन्छ ? महानायकको भाष्य कसरी तयार गरिन्छ र महानायकको भाष्य गाउँदै गर्दा कसरी पिँधमा परेकाहरूलाई उठ्नै नसक्ने गरी दबाइन्छ भन्ने प्रश्न हो। अहिले चलिरहेको महानायकको बहसलाई थाती राखेर एकैछिन इतिहासमा ध्यान दिऊँ त। देशका कैयौँ ऐतिहासिक पात्र आज विस्मृतिको गर्तमा पुगेका छन्, तिनको भूमिकाको खोजी गर्नु जरुरी भइसेको छ

नेपालको इतिहासमा जयपृथ्वी बहादुर सिंह यस्तो पात्र हुन्, जो नायक भएर पनि बिर्सिएका छन्, ओझेलमा परेका छन्। पहिलो र दोस्रो विश्वयुद्धले आक्रान्त बनेको विश्व समाजलाई नै शान्ति र मानवताको एहसास दिलाउनका लागि उनी आफ्नो घर–परिवार र राजगद्दीको विरासतलाई त्यागेर मानवसेवाका लागि विश्वयात्रा गरेका थिए। शान्ति, अहिंसा र मानवतालाई आफ्नो जीवनको मूल मन्त्र बनाएर यसको सन्देश छर्दै उनी नेपालबाट भारत हुँदै पूर्वीएसिया, मध्यएसिया र पश्चिम युरोपसम्मको यात्रा गरेका थिए। मानवतावादको आवश्यकता र अभ्यास, शान्ति, सद्भावना र यसका उपाय, पद्धतिजस्ता मानवतावादी दर्शनलाई फैलाउँदै विश्वयात्रा गर्नुमा मानवसेवा नै प्रमुख आधार थियो। स्विट्जरल्यान्डको जेनेभा, जर्मनीको बर्लिन, भियना, हंगेरी, बुखारेस्ट, पोल्यान्ड, फ्रान्स, लन्डन, जापान र अमेरिका लगायत ठाउँमा गएर मानवतावाद, अध्यात्म, पूर्वीय संस्कृति र सभ्यताको प्रचार–प्रसार गरे। धर्म र संस्कृति विज्ञान सम्मत हुनुपर्छ। धर्मयुद्ध र जातीय युद्ध मानव समाजका लागि अत्यन्तै घातक हुन्छ भन्दै आफ्ना जीवनोपयोगी विचार पश्चिम मुलुकमा सम्प्रेषण गरे। पूर्व र पश्चिमलाई मानवतावादले मात्र जोड्न सक्छ भन्ने मूल मर्मलाई लिएर हिँडेका जयपृथ्वीले हजारौँ घाइते, रोगी, बिमारी, द्वन्द्वपीडित जनताका लागि आवश्यक उपचार र अन्य व्यवस्था गरेका थिए।

पूर्वका ताराका रूपमा परिचित जयपृथ्वीले पश्चिमा मुलुकमा प्रख्याती कमाए। अन्तर्राष्ट्रिय स्तरका रेडियो, टिभी लगायत सञ्चारमाध्यममा उनले धेरै अन्तर्वार्ता र प्रवचन दिएका थिए। उनी नेपालको इतिहासका महान युगद्रष्टा भएर पनि इतिहासकारका आँखामा सदा नै ओझेल परे। सौभाग्य नै भनौँ, योगी नरहरिनाथले जयपृथ्वीको वंशावलीको खोज गरी प्रकाशमा ल्याएका छन्, (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, २०५५ः५५२)।  

२०२४ सालमा राजा महेन्द्रले गाउँफर्क अभियान ल्याएका थिए। यस अभियानलाई सफल बनाउन राष्ट्रिय विभूतिहरूको भाष्य तयार पार्नु आवश्यक थियो। त्यसकारण नेपालका राष्ट्रिय विभूतिहरू चयन गर्ने जिम्मा बालकृष्ण समलाई दिइयो। समले चाहेका भए जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिका रूपमा घोषणा गर्न सक्थे, तर त्यसो भएन। यसो हुनुका विभिन्न कारण हुन सक्छन्, यसको खोज पनि आवश्यक हुन सक्छ।  

पछि सीमित लेखकले जयपृथ्वीबारे यदाकदा कलम चलाएका छन्। सरदार भीमबहादुर पाण्डेले आफ्नो पुस्तक ‘त्यसबखतको नेपाल’मा जयपृथ्वीको थोरै प्रसंग कोट्याएका छन्। त्यस्तै, इतिहासकार नयराज पन्तले पूर्णिमा अंक २७ मा इतिहास शिरोमणि बाबुराम आचार्यबारे लेख्दा जयपृथ्वीलाई सम्झेका छन्। पन्तका अनुसार जयपृथ्वीले लेखेको गणितको पुस्तक बाबुराम आचार्यले सम्पादन गरेका थिए।  

दार्शनिक दृष्टिकोण
जयपृथ्वीका दार्शनिक विचार मूलतः मानवतावादमा आधारित छन्। उनले पश्चिमका विभिन्न देश भ्रमण गर्ने क्रममा विभेद, शोषण, अन्याय र अत्याचारका विरुद्ध समानता, समता र मानवतावादका पक्षमा लाग्न विश्व समुदायलाई अपिल गरेका छन्। मानवताभन्दा अरु कुनै ठूलो धर्म छैन भन्दै धर्म र संस्कृति जीवनवादी, मानवतावादी र समानतावादी हुनुपर्छ भनेका छन्। मानवताको संरक्षणमा उनले आफ्नो बाइसे राज्यको विरासत अर्थात् राजगद्दी नै त्याग गरे। उनको यो कार्यलाई महत्वपूर्ण मानिन्छ। उनले एकातिर, नेपालका तानशाह राणाहरूलाई हटाउने प्रण गरेका थिए भने अर्कातिर पहिलो र दोस्रो विश्वयुद्धको चरम विभीषिकाबाट ग्रसित मानव समाजलाई बचाउन बढी जोड दिएका छन्। यसका लागि शान्ति, सुरक्षा र शिक्षा नै बलियो हतियार हो भन्ने उनको अभिमत छ, (दर्शनावली, खण्ड–६, पृष्ठ १२३–१२९)।  

सबै मानिस एक हुन् भन्ने सार्वभौम सत्य नै जयपृथ्वीको मानवतावादी–विश्वदृष्टिकोण हो। धार्मिक, जातीय, वर्गीय एवं सामुदायिक सहिष्णुताले नै विभिन्न राष्ट्रबीच आपसी भाइचारा, अन्तर्राष्ट्रियता र विश्वबन्धुत्वको भावनालाई बलियो बनाउनेमा विश्वास गर्ने, वर्ग, जाति र समुदायका स–साना इकाइबीचका अविश्वास गर्ने नै उनको दार्शनिक प्रवचनहरूको सार हो। जबसम्म समाजको तल्लो तहसम्म मेलमेलाप तथा सामाजिक एकता कायम गर्न सकिँदैन तबसम्म विश्वमा स्थायी शान्ति हुँदैन भन्ने वैश्विक विचार नै उनका पुस्तकमा अभिव्यक्त भएका छन्।  

निष्कर्ष  
जयपृथ्वीबहादुर सिंह राज्यबाट घोषणा नगरिएका राष्ट्रिय विभूति हुन्। तर उनी देशप्रेमी नागरिकको मनमा पूजित र सम्मानित छन्। उनले आफू व्यक्ति, परिवार, पद, पैसा र प्रतिष्ठाभन्दा माथि उठेर समाज, राष्ट्र र विश्वजगत्का लागि योगदान दिएका छन्। नेपाल र भारतको स्वतन्त्रता संग्राममा उनले आफ्नो मानवतावादी वैचारिक आवाजलाई बुलन्द गरे।  

उनको विषयमा अध्ययन अनुसन्धान गरी उनका विचारलाई प्रचार–प्रसार गर्नु आजको आवश्यकता हो। हामीले हाम्रो देशको विकासका लागि उनको सिद्धान्तलाई अपनाउन सक्छौँ। त्यस्तै, विश्वका द्वन्द्वरत देशमा उनका मानवतावादी जीवनवादी विचारलाई पु¥याउन सक्छौँ। उनको नाममा केही स्कुल, कलेज र नगरपालिका घोषणा गर्दैमा उनीप्रतिको दायित्व पूरा हुँदैन। उनका दर्शन र विचारहरूको खोजी गर्दै समय र परिस्थिति अनुकूल परिमार्जन गरी देशको निर्माणमा प्रयोग गर्नुपर्छ।  

प्रकाशित: ६ भाद्र २०७७ ०३:१४ शनिबार

जयपृथ्वीबहादुर सिंह अक्षर