कला/साहित्य

गणेश रसिक : दुःखै दुःखको बगैँचामा हुर्किएका बहुप्रतिभा!

‘म धेरैतिरको भएँ तर कतैको भइनजस्तो लाग्छ,’ उनी प्रायः भन्थे, ‘यता आउँदा कहिले फर्किनुहुन्छ भनेर सोध्छन्, उता जाँदा पनि उही प्रश्न आउँछ, जहाँ पुग्छु प्रश्न उही ।’ हो– उनी भोजपुरमा जन्मिए, इलामलाई कर्मथलो बनाए, तराईतिर निकै समय भौँतारिए र काठमाडौँबाट सबैतिर चिनिए ।  

नामै काफी छ– गणेश रसिक । साहित्य भनौँ, सङ्गीतका कुरा गरौँ, गायनकै कुरा गरौँ र अलि–अलि राजनीति र पत्रकारिताको पनि चर्चा गरौँ– गणेश रसिकको नाम कतै छुट्दैन । कहिले साझा प्रकाशनको महाप्रबन्धकका रूपमा, कहिले नेपाल प्रज्ञा प्रतिष्ठान (साहित्य तथा सङ्गीत)को सदस्य–सचिव त कहिले राल्फा आन्दोलन र लेकाली समूहको अगुवाका रूपमा मात्रै रसिकको नाम जोडिएन । कुनै बेला इलाम क्षेत्र नम्बर १ बाट सांसदको उम्मेदवार र रेडियो फिक्कलको संस्थापक अध्यक्षका ठाउँमा पनि आउँछ उनै रसिकको नाम ।  

तर, अब उनको भौतिक शरीर ब्रह्मलीन भएको छ । विशेष गरी साहित्य र सङ्गीत क्षेत्रका उज्ज्वल नक्षत्र रसिकको ७८ वर्षको उमेरमा जेठ १८ गते बिहान निधन भएको छ । क्यान्सर कारण केही वर्षयता थलिएका रसिकले ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा अन्तिम सास फेरेका छन् ।

रसिकलाई चिन्नेहरू त शोकमा हुने भइहाले– जसले व्यक्तिगत रूपमा उनलाई चिनेनन् तर ‘लहरा पहरा छहराको देश’ राष्ट्रिय गीत चिने, ‘ओ याङ्जी नाना’ र ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’ चिने अनि गरिब भूमिहीनको सङ्घर्षको गाथा ‘आकाशगंगाको ओतमुनि’ पढे, उनीहरूले रसिकको निधनमा तीनै कथा झलझली सम्झिएको हुनुपर्छ ।

रसिकले जति गीत रचना गरे, अनि जति साहित्य लेखे– तिनमा वास्तविक जीवनकथा जोडिएका छन् । गरिब, दुःखी, अभावसँग जुधिरहेका सर्वसाधारण अनि आफ्नै पीडा बोल्छन् उनका सिर्जना । आमा, पत्नी, दुई भाइ र छोरा अकालमा गुमाउँदाका पीडामात्रै होइन, देशको राजनीतिक अवस्थाले मुटु भत्भती पोल्दा झिल्का स्वरूप उब्जिएको ‘कति दिन बाँच्नु यो हुस्सुले छोपेको सहरमा’जस्ता त्यति बेला ‘प्रतिबन्धित’ गीतसमेत उनको भावनाका अभिव्यक्ति थिए ।  

जीवनका धेरै खाले घुम्ती पार गर्दै ६० को नेटोमा आइपुग्दा रसिक आफ्नो कर्मथलो इलामकै सुन्दर गाउँ फिक्कल पान्दाममा रेडियो खोल्न आइपुगेका थिए । बुढेसकालमा सहरनजिकैको शान्त गाउँमा सानो चिटिक्क परेको घर छँदैथियो । भित्र बाँसैबाँसले बनेको त्यो कलात्मक सौन्दर्यको घर नै रेडियो फिक्कललाई सुम्पिदिएर उनी नजिकै रहेको अर्को घरमा बस्न थाले । बाहिरपट्टिको फूलैफूलको सुन्दर बगैँचा, हरियो चियाबारी र धुपीसल्लाका लहर देख्दा सायद उनलाई जीवन वास्तविक लाग्थ्यो । त्यहाँ पनि उनी गरिबका व्यथा, अन्याय, अत्याचार, शोषण, दमन र राजनीतिक कुण्ठासमेतलाई साँझ–बिहान हार्मोनियमका रिटमा लय भरिरहन्थे ।  

भोजपुरको छिनामखुमा २००४ साल असोजमा जन्मिएका रसिकको बाल्यकाल हलो, कुटो अनि कोदाली बोकेर छिन्नमस्तामा डाँडाकाँडामा सुस्ताउँदैमा बित्यो । आफू पाँच वर्षको छँदै आमालाई धर्तीबाट गुमाउनुपर्दाको पीडा छातीमा भारी भइरहेकै बेला रोजगारी खोज्दै तराई ओर्लिरहँदाको पीडा पनि उनले गीतमै पोखेका थिए– ‘घर छोडी परदेश लाग्दा घरकै माया लाग्दो रैछ,कहिले घर फर्कौँ भन्ने  रहर मनमा जाग्दो रैछ...’  

भोजपुरलाई हात हल्लाएर हिँडेपछि रसिकले प्रत्येक पाइलालाई जीवनमा दुःख र सुखका घाम–छाया बनाउनुप¥यो । एक हत्केलामा सफलता र अर्कामा चुनौतीको चाङ लगाएर ओरालो झर्दा उनले वास्तविक जीवन प्रत्यक्ष भोग्न थाले । गाउँमा आधा पेट खाएर बाँच्दा भारतीय सेनामा जागिरको सपना देखेका उनले घर त छाडे तर जागिरको ठेगान कतै भएन । बरु, जागिर खान आफूसँगै गएका साथीहरूले सप्तरीको राजविराजमा बाटोमै अलपत्र छोडेको सम्झिँदा मुनामदनको कथा याद आउँथ्यो रसिकलाई । उनी भन्थे– ‘अलपत्र एक्लो बालक मलाई मौवा (स्थानीय उत्पादित रक्सी) को घुट्का सहारा नबनेको भए सायद बाँकी जीवनको कल्पना गर्न पनि सम्भव थिएन ।’

राजविराजमै बस्दा स्थानीय ‘सगरमाथा’ पत्रिकाले उनलाई पत्रकारिता सिकायो । आफूले लेखेको औलो रोग नियन्त्रण शाखा प्रमुखको अनियमिततासम्बन्धी समाचार पत्रिकामा छापिएपछि यस्तो दबाब आइलाग्यो कि त्यही कारणले पत्रकारिता नै त्याग्नुपर्यो उनले । पत्रिकाबाट जागिरको पहिलो खुड्किलो टेकेका उनी २०२० सालमा राजविराज गाउँ पञ्चायतमा टाइपिस्ट र २०५२ सालमा साझा प्रकाशनको अध्यक्ष भए । उनले दर्जनौँ जागिर खाए र दर्जनौँ राजीनामा दिए भविष्यको खोजीमा ।

‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा छहराको देश’ लगायत चर्चित राष्ट्रिय गीतदेखि ‘म त त्यस्तो होइन नि पिरतीले जोगी बनायो’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘मसँग एउटा तारा छ मायाको’जस्ता कर्णप्रिय गीत गाएका छन् । सुरुमा जनजागरण र चेतनाका गीत गाएका रसिकले पछि  लोकगीत र सुगम सङ्गीत अँगालेका हुन् । रसिकले साहित्यकार पारिजातसँग भेट भएपछि राल्फा गठन गरे ।  

पछि त्यसले आन्दोलनको रूप लिएपछि साथीहरूसँग मनमुटाब भयो । हिरण्य भोजपुरेसँग मिलेर लेकाली समूह बनाए । ‘हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ’, ‘रातो भाले क्वाँय क्वाँय’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘ओ याङ्जी नाना’ गीतले पनि रसिकलाई चिनाए ।  

रेडियो नेपालले २०२३ सालमा आयोजना गरेको लोकगीत प्रतियोगितामा मेची अञ्चलबाट छानिएर रेडियो नेपालमा प्रवेश गरेका उनी कुनै बेला मञ्जुलका सहयोद्धा थिए । उनको निष्कर्ष थियो– ‘संसारमा प्रेम र दुःखका गीत नै बढी लेखिन्छन् र ती गीत सयौँ वर्षसम्म शाश्वत रहन्छन् । जीवन चाहिँ प्रकृतिको अमूल्य वरदान रहेछ ।’  

जीवनका सबै जागिरबाट बिरक्तिएर तेह्रथुम, धनकुटा हुँदै इलाम आइपुगेका रसिक यहाँ बसेर साहित्य रचनामा लागे । ‘दशगजामा उभिएर’ ‘आकाशगंगाको ओतमुनि’ ‘गणेश रसिकका गीतहरू’ ‘जब सिस्नोहरू टेक्दै हिँडेँ’  ‘स्वाधीनताको पीडा’, ‘क्षितिजलाई छुन खोज्दा’, ‘सारङ्गीभित्र बिलाउँदै गएको गीत’ जस्ता उनका कृति प्रकाशित छन् । ‘दशगजामा उभिएर’ले २०६३ सालको पद्म श्री पुरस्कार प्राप्त गरेको थियो । उनले गोर्खा दक्षिण बाहु, रत्न श्री स्वर्णपदक, वीरेन्द्र ऐश्वर्य पदक, छिन्नलता गीत पुरस्कार, पद्म श्री साहित्य सम्मान, राष्ट्रिय कलाश्री पुरस्कार, नारायण गोपाल सङ्गीत पुरस्कार, नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारलगायत दर्जनौँ पुरस्कार र पदक पाएका थिए ।  

कुनै बेला दलीय राजनीतिमा रहेरै काम गर्ने मनसाय भए पनि त्यति बेला राजनीतिका नाममा बढेको अवैध क्रियाकलाप, नातावाद र भ्रष्टाचारका कारण उनी यसबाट टाढा हुन चाहन्थे, राजनीति त्यागिदिए ।

रसिक पाँच वर्षको हुँदै आमा रत्नमाया क्यान्सरले परलोक भइन् । भाइ सम्मीको २०४० सालमा र अर्का भाइ श्यामको २०५१ सालमा निधन भयो । नेपाल प्रहरीका इन्स्पेक्टर अर्का भाइ प्रजुकुमार २०६० सालमा इलामकै पशुपतिनगर भिडन्तमा मारिए । ३२ वर्षे छोरा निमेशको ०६७ मङ्सिरमा इलाम रम्फोकमा सुतिरहेकै ठाउँमा निधन भयो । पत्नी नीरा शेरचनले २०७८ सालमा कोभिड सङ्क्रमणका कारण संसार छाडिन् । परिवारभित्र मृत्यु नै मृत्युको कथा बोकिरहेका रसिक आफैँले अहिले क्यान्सरका अघि आफूलाई जिताउन सकेनन् ।  

दुःखका गीत गाउँदा प्रायः धेरै भावुक भएर उनले आँसु खसाएको देखिन्थ्यो । रसिक अब आफैँ अरूका आँखा रसाइदिनेगरी परलोक भएका छन् । इलाम र सिङ्गो देशले एक बहुप्रतिभाशाली सर्जक गुमाएको छ ।

प्रकाशित: १९ जेष्ठ २०८२ १०:३५ सोमबार

#Ganesh Rasik #NagarikNews